काठमाडौँ । काठमाडौँमा क्रिप्टो कारोबारीलाई लुटपाट गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीनजना प्रहरीसमेत छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)को कारोबार गरेको आरोपमा एक जना र उनलाई लुटपाट गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एक जना सहस्त्र प्रहरीका सहायक हवल्दार, नेपाल प्रहरीका सहायक हवल्दार र प्रहरी जवान समेत रहेका छन्।
प्युठान गौमुखी गाउँपालिका ४ बस्ने ३६ वर्षका सशस्त्र प्रहरीका सहायक कवल्दार राजेन्द्र बहादुर केसी, बाँके बैजनाथ गाउँपालिका ७ बस्ने प्रहरी सहायक हवल्दार ३५ वर्षका खगेन्द्र मल्ल ठकुरी र खोटाङको रावावेसि गाउँपालिका ४ घर भई नेपाल प्रहरीका जवान २४ वर्षका हिरा मंग्राती पक्राउ परेका छन्।
यस्तै पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका २४ बस्ने २४ वर्षका कपिल बस्नेत, दोलखा रातमाटे गाउँपालिका घर भई हाल सुनसरी ईटहरी नगरपालिका ६ बस्ने ३१ वर्षका संजोक तामाङ र मोरङ वेलवारी घर भई हाल विराटनगर ३ बस्ने २० वर्षका मनिस कुमार राय रहेका छन्।
पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले १२ लाख १० हजार रुपैयाँ ६ थान मोवाइल र एउटा गाडी पनि बरामद गरेको छ। क्रिप्टो कारोबारीका आरोपी गुरुङको साथबाट २ लाख ५९ हजार बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा क्रिप्टो कारोबारमा संलग्न रोशन गुरुङले एक अर्व ८७ करोड ७ लाख १३ हजार १६२ रुपैयाँको क्रिप्टोको कारोबार गरेको देखिएको प्रहरीको दाबी छ ।
प्रहरीले पक्राउ परेका उपर जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ ।