धनगढी । राष्ट्रिय जनमोर्चा, कैलालीले संघीयताविरुद्ध मोटरसाइकल र्यालीको आयोजना गरेको छ ।
शनिबार (फागुन १७ गते) धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका र गोदावरी नगरपालिकामा मोटर साइकल र्याली गरेको हो ।
धनगढीको क्याम्पसचोकमा कोणसभाको आयोजना गरी सुरु भएको र्यालीको उद्घाटन राजमो केन्द्रीय सचिवालय सदस्य नन्दराज भट्टले गर्नुभएको थियो । त्यसक्रममा नेता भट्टले संघीयता कसरी नेपालका लागि बोझ बनिरहेको छ भन्ने उदाहरण प्रस्तुत गर्दै आगामी चैत २४ गतेदेखि हुन लागेको संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलनमा साथ दिन जनसमूदायसँग आग्रह गर्नुभयो ।
राजमो सुदूरपश्चिमका अध्यक्षसमेत रहेका भट्टले राजमो कैलाली जिल्ला अध्यक्ष जगतप्रसाद जोशीलाई पार्टीको झण्डा हस्तान्तरण गरेर उद्घाटन गरेपछि संघीयताविरुद्ध नाराबाजी गर्दै र्याली अघि बढेको थियो ।
उद्घाटनका सभामा राजमो जिल्ला अध्यक्ष जोशीले मन्तव्य राख्नुभएको थियो भने धनगढी चौराहमा राजमो नेता हरिकृष्ण पाण्डे, राजपुृरमा चन्द्रबहादुर विष्ट, वनबेहडामा जगत जोशी, स्याउलेमा टंक अवस्थी, १२ नं गौडी बजारमा हरिकृष्ण पाण्डे र अत्तरियामा टंक अवस्थीले मन्तव्य राख्नुभएको थियो ।
धनगढी क्याम्पस चोकबाट सुरु भएको मोटरसाइकल र्याली अत्तरिया पुगेर समापन भएको थियो ।
स्मरणीय छ राजमोले आगामी चैत २४ देखि सप्ताहव्यापी राजधनी केन्द्रित आन्दोलन गर्दैछ । सो कार्यक्रमको तयारीका लागि यतिबेला देशैभरी प्रशिशण, कोणसभा, र्याली, जुलुश, अन्तरक्रिया जस्ता कार्यक्रम भइरहेका छन् ।