काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले जनतालाई शिक्षित बनाउन पहिला आफै पढ्नुपर्ने बताउनुभएको छ ।
प्रगतिशील पाठक मञ्चको आयोजनमा २०८१ फागुन १४ गते बुधबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय भवनमा आयोजित परिचर्चा कार्यक्रममा अनुभूति राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।
‘समाजमा आमूल परिवर्तन गर्नका लागि जनतालाई शिक्षित बनाउनुपर्दछ । त्यसका लागि सबैभन्दा पहिला आफैले पढ्नुपर्दछ’ उहाँले भन्नुभयो–’बदलिँदो परिस्थितिलाई बुझ्न पनि सबैभन्दा पहिला आफैले अध्ययन गर्नुपर्दछ ।’
कार्यक्रममा उहाँले आफू राजनीतिको प्रारम्भिक अवस्थाबारे स्मरण गर्नुभयो ।
२०१४ सालतिर आफू बागलुङबाट आएर काठमाडौँको नन्दी रात्री विद्यालयमा पढ्दा असाध्यै पढ्ने वातावरण रहेको उहाँले सुनाउनुभयो ।
‘म बागलुङबाट आएर काठमाडौँको नन्दी रात्री विद्यालयमा पढ्दा असाध्यै पढ्ने वातावरण थियो’ उहाँले भन्नुभयो– ‘मलाई अहिले पनि सम्झना छ, त्यति बेला निरञ्जन गोविन्द बैद्यको पुस्तक पसलमा किताब किन्नेहरूको लाइन लाग्दथ्यो । कम्युनिस्ट पार्टीका नेताहरूले विद्यार्थीहरूलाई प्रशिक्षण दिइरहन्थे ।’
उहाँले त्यही प्रशिक्षणबाट रूपान्तरण भएर नै आफू कम्युनिस्ट पार्टीमा लागेको उहाँको भनाइ थियो ।
अध्यक्ष केसीले त्यो बेला अहिलेजस्तो अध्ययन गर्नका लागि सहज परिस्थिति नभएको बताउँदै फेरि पनि कम्युनिस्ट आन्दोलनमा लागेकाहरूले पढ्ने संस्कृति अपनाएको बताउनुभयो ।
‘अहिलेजस्तो सहज ढङ्गले किताब पढ्न कहाँ पाइन्थ्यो र ?’ उहाँले भन्नुभयो– ‘म बागलुङमा भूमिगत भएर विद्यालयमा पढाउँदै राजनीति गर्दा हामीले घरमै सानो सानो पुस्तकालय बनाउने गर्दथ्यौँ ।’
उहाँले अनुभूति सेयर गर्नुभयो–’पटक पटक गाउँमा प्रहरी आउँथे । ती प्रहरीबाट पुस्तक बचाउन मैले कैयौँपटक स्कुलको पुस्तकालयमा आफ्ना पुस्तकहरू लुकाउँथे ।’
उहाँले त्यति बेला खालि सहरबजारमा मात्रै होइन, गाउँ गाउँ र प्रवासमा समेत अध्ययन संस्कृति फैलिएको जानकारी दिनुभयो ।
‘काठमाडौँजस्ता सहरमा मात्रै होइन, प्रवासमा पनि पढ्ने चाख त्यत्तिकै थियो’ उहाँले सुनाउनुभयो ।
पुरानो पुस्ताले अध्ययनमा अत्यधिक जोड दिने गरेकाले नै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो–’अहिले परिस्थिति बदलिएको छ । फेरि पनि यो परिस्थितिलाई बुझ्न फेरि पढ्नुपर्दछ ।’
कार्यक्रमको सहजीकरण मञ्जका अध्यक्ष समीर सिंहले गर्नुभएको थियो ।