काठमाडौँ । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले आत्महत्या गरेका छन् ।
सोमबार काठमाडौँको कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।थापाले सोमबार आफ्ना साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा अचेत अवस्थामा फेला परेका थापालाई तत्काल अस्पताल लगिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
धादिङ, धुनीबेसी–९ घर भएका ३६ वर्षीय थापाले कलंकीस्थित एक साथीको डेरामा दिउँसो २ बजे विषादी सेवन गरेको प्रहरी परिसर काठमाडौँले जानकारी दिएको हो।थापाको साथबाट एक पेजको पत्रसमेत बरामद भएको बोहराको भनाइ छ ।
सो पत्रमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख रहेको जनाएको छ ।सुमेरु सहकारीका विषयमा गत आइतबार सार्वजनिक भएको अडियोका सन्दर्भमा थापाको नाम घटनामा जोडिएको प्रहरीको भनाइ छ ।