लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा नेपाली राजदूतावास स्थापना भएको छ । दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ ।
नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरेर राहदानीसहित आवश्यक कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा दिन सुरु गरेको हो ।
शुक्रबारदेखि सुरु भएको घुम्ती सेवाबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) सहित करिब दुई सय कागजात प्रमाणीकरणको सेवा दिन थालेको दूतावासले जनाएको छ । शिविर अवधिभर दूतावासले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा प्रदान गर्नेछ ।
त्यस्तै यसअघि सञ्चालन भएको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि आवेदन दिएका सेवाग्राहीको तयार भएर आएको राहदानी वितरण गर्नेछ भने विविध कारणले राहदानी तयार हुन नसकेका सेवाग्राहीको पुनः जैविक तथ्याङ्क सङ्कलन गरिने दूताबासले जनाएको छ ।
दूतावास स्थापना भएपछि कागजात प्रमाणीकरण र राहदानी बनाउन स्पेन, फ्रान्सलगायत नेपाली दूतावास रहेका अन्य मुलुक जानुपर्ने बाध्यता अन्त्य भएको छ । पोर्चुगलमा नेपालीको यकिन तथ्याङ्क नभए पनि अनुमानित ६० हजारको हाराहारीमा रहेका दूतावासले अनुमान गरेको छ ।
यसअघि पटक पटक फ्रान्सस्थित नेपाली दूतावासको टोली र राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आएर घुम्ती सेवामार्फत् पोर्चुगलवासी नेपालीलाई सेवा प्रदान गर्दै आएको थियो ।
सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशमणि पौडेललाई गत साउनमा पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिरमा उहाँलाई पोर्चुगलका लागि राजदूत नियुक्त गर्नुभएको थियो ।