प्युठान । प्युठानको माण्डबी गाउँपालिका–२ रातापानीमा आफ्नै घरभित्र दम्पतीको हत्या भएको छ।
अन्दाजी वर्ष ६० का रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियारको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दिपेश बस्यालले जानकारी दिए।
प्रहरीका अनुसार शनिबार उनीहरू ढिलोसम्म नउठेपछि छिमेकीले टेलिफोनमार्फत जिल्ला प्रहरी कार्यालय प्युठानलाई जानकारी गराएका थिए।
त्यसपछि घटनाबारे नजिकको प्रहरी चौकी तिरामबाट प्रहरी टोली गएको थियो। घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालयबाट डीएसपी बस्यलको कमाण्डमा अनुसन्धान टोली घटनास्थल पुगेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा दम्पतीको टाउकोमा गम्भीर चोट रहेको र उनीहरूको विभत्स तरिकाले हत्या गरेको देखिएको छ।
घटनाबारे प्राविधिक तवरबाट अनुसन्धान अगाडी बढाएको प्रहरीको भनाई छ।