कोहलपुर (बाँके) । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घको केन्द्रीय विस्तारित बैठक अध्यक्षमा ढाकाराम पौडेल (कास्की) र महासचिवमा कृष्णभक्त गिरी (प्युठान) लाई चयन गर्दै सम्पन्न भएको छ ।
२०८१ फागुन ९ गते शुक्रबार बाँकेको कोहलपुरमा सो कार्यक्रम सम्पन्न भएको हो ।
विस्तारित बैठकले केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा पदमप्रसाद श्रेष्ठ (रुपन्देही), महिला उपाध्यक्षमा ऋतु केसी, सचिवमा सहबिन अर्गेजा (बागलुङ) र कोषाध्यक्षमा बलबहादुर अधिकारी (काठमाडौँ) लाई चयन गरेको छ ।
त्यस्तै, केन्द्रीय सदस्यमा शिवप्रसाद खनाल (रुपन्देही), माधव भाटक्षेत्री (कपिलवस्तु), उमलाल बन्जाडे (रुपन्देही), टेकबहादुर थापा (कास्की), परशुराम लामिछाने (बाँके), नरेन्द्र विष्ट (डडेलधुरा), किरण शाही (सुर्खेत), सावित्रा रेग्मी (चितवन), गणेश सापकोटा (बाँके), जगत् श्रेष्ठ (काठमाडौँ), दुर्गाप्रसाद खनाल (अर्घाखाँची) र ढुण्डीराज शर्मा (रुपन्देही) चयन हुनुभएको छ भने सदस्यको एक स्थान रिक्त राखिएको छ ।
समितिको वैकल्पिक सदसयमा डोरप्रसाद पोख्रेल, विष्णुबहादुर विक तथा दुई स्थान रिक्त राखिएको छ ।
त्यसैगरी, सल्लाहकारमा ज्ञामुराम न्यौपाने (प्युठान) र लक्ष्मणदेव पाण्डे (काठमाडौँ) लाई चयन गरिएको छ ।
बैठकको उद्घाटन केन्द्रीय सल्लाहकारसमेत रहनुभएका अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले गमलाको बिरुवामा पानी राखेर गर्नुभएको थियो ।
कार्यक्रममा अप्फाका महासचिव तुलसी सापकोटा, अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष कृष्णराज पाण्डे, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, अखिल नेपाल शिक्षक सङ्घका पूर्व केन्द्रीय सल्लाहकार गोविन्दप्रसाद पौडेल, राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जगदीश ढकाल, नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता माधव भाटक्षेत्री, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसीलगायतको आतिथ्य रहेको थियो ।
भेलामा निवर्तमान ढुण्डीराज शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
निवर्तमान अध्यक्ष ढुण्डीराज शर्माको अध्यक्षतामा अघि बढेको सो बैठकको सञ्चालन ढाकाराम पौडेल र स्वागत ऋतु केसीले गर्नुभएको थियो ।
विस्तारित बैठकले सात बुँदे समसामयिक प्रस्ताव पारित गरेको थियो । प्र्रस्ताव यस प्रकार रहेका छन् :
१. राष्ट्रिय स्वतन्त्र अर्थतन्त्र निर्माणलाई जोड दिन दलाल पुँजीवादलाई प्रोत्साहन दिने सरकारको नीतिको विरोध गर्दछ ।
२. राष्ट्रिय स्वतन्त्र अर्थतन्त्रको निर्माणको बाधक सङ्घीयता खारेजीको सङ्घर्षलाई समर्थन गरौँ ।
३. देशमा व्याप्त नीतिगत र संस्थागत भ्रष्टाचार बन्द गर ।
४. स्वतन्त्र र राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कानुन र संयन्त्र निर्माण गर्ने काम गर ।
५. आयातनिर्यात नीति राष्ट्रहितअनुकूल निर्माण गर ।
६. भूमाफियालाई मदत हुने भूमि अध्यादेश फिर्ता गर
७. वैज्ञानिक भूमिसुधार ऐन जारी गर्नुपर्दछ ।