काठमाडौँ । थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूताबासले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरिएको जानकारी दिएको छ ।
उद्धार गरी नेपाल फर्काइएका पाँच जनामा चार पुरुष र एक महिला छन् । दूताबासले जर्बजस्ती अनलाइन स्क्यामिङ कार्यमा लगाइएका पाँच नेपालीको उद्धार गरी आज शुक्रबार नेपाल फर्काएको जनाएको हो ।
‘अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूताबासले थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याई चार पुरुष र एक महिला गरी जम्मा पाँच जनालाई आज (फागुन ९) गतेका दिन नेपाल फर्काइएको छ’ दूताबासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बैङ्ककस्थित नेपाली दूताबासले नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रमस्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अनुरोध गरेको छ ।
‘कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने हेतुले कम्बोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूताबास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ’ विज्ञप्तिमार्फत दूताबासले भनेको छ ।
