काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । जेठ ५ गते वीरगञ्जमा मृत्यु भएको एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।
नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचाररत् एक बिरामीको पाँच गते मृत्यु भएको थियो । सोहि दिन अन्त्येष्टि गरिएका बाराका ती बिरामीको सोमबार कोरोना परीक्षणको रिपोर्ट आउँदा ती व्यक्ति कोभिड–१९ संक्रमित भएको पुष्टि भएको छ ।
कोरोनाका कारण मृत्यु भएका चारमध्ये एक जनाको मात्र मृत्युपूर्व कोरोना पुष्टि भएको थियो । गुल्मीका शिक्षकको अन्तिम अवस्थामा पुग्दामात्र कोरोना संक्रमण भएको भेटिएका थिए ।
कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको मृत्यु भएको थियो । सुत्केरी महिलाको मृत्यपछिमात्र कोरोना संक्रमण पुष्टि भएको थियो । उनको नवजात शिशुमा भने कोरोना देखिएको छैन।
नेपालगंजमा क्वारेन्टाइनमा रहेका एक युवकको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । उनले प्रारम्भीक उपचारसमेत पाउन सकेका थिएनन् ।