• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

भाषिक अस्तित्वको युगीन लडाइँ


  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित
  • डिल्ली अम्माई ##

    Advertisement

    सबै भाषा हृदय वा आत्माका भाषा हुँदैनन् । मातृभाषा मात्र सबैभन्दा आत्मीय र हृदयभित्रको भाषा हुन्छ । मेरो सन्दर्भमा भन्नुपर्दा हिन्दी, उर्दु, अङ्ग्रेजी र डच पनि मेरो कामकाजी भाषा भएकाले प्रिय छन् । काममा म डच बोल्नुपर्छ । कुनै अनुसन्धानमूलक लेख, दार्शनिक विचार वा सुन्दर कथा पढ्दा अङ्ग्रेजी र हिन्दी भाषाको सहारा लिनुपर्छ । त्यसैले ती भाषा मेरा लागि प्रिय छन् । नेपालमा विभिन्न समुदायले बोल्ने मातृभाषा मातृभूमिका अंश वा राष्ट्रियताका हिस्सा भएकाले प्रिय छन् । मैले कुनै एक भाषालाई माया गरेर अरू भाषालाई घृणा गर्दिनँ । त्यसो कसैले पनि गर्नुहुन्न ।

    मेरो आत्माको भाषा त नेपाली नै हो किनकि मेरो बोली नेपालीमै फुट्यो । त्यही भाषाले संसार चिनायो र ज्ञानको विशाल आकाश देखाइदियो । यति भन्न मलाई कुनै सङ्कोच छैन । मलाई ज्ञानविज्ञान र परिचयको क्षेत्रमा जन्माउने र हुर्काउने नेपाली भाषा मेरी आमाजस्तै आत्मीय छ । आमाको सवालमा न कुनै सम्झौता हुन्छ, न कुनै सर्त राखिन्छ । नेपाली भाषा आमा हुन् भन्दैमा अन्य बन्धुभाषालाई अपमान हुने शब्द मैले बोल्नुहुन्न । सबै भाषालाई सम्मानपूर्वक प्रेम गर्नुपर्छ ।

    संस्कृत भाषा मेरो जिज्युबज्यै भाषा हुन् भने कुमाउनी, गढवालीको प्राचीनताबाट अपभ्रंश हुँदै अलग्गिएको पाल्ही र विकसित नेपाली भाषा, समग्रमा भन्दा सम्पूर्ण पर्वते भाषा मेरा परिवार हुन् । यो भाषालाई खसभाषा भनेर नेपाली भाषाको आत्मसम्मान खसाल्ने काम हामीले नभएर पराइले गरेका हुन् । अरूका भाषा, संस्कृति र त्यसको इतिहासलाई कुनै एक जातिको पोल्टामा हालेर भाषिक भेद सृजना गराई नेपाली भाषा मेट्ने अङ्ग्रेजको मिसन थियो र त्यो मिसन सुचारु छ ।

    नेपाली भाषा कुनै जातीय भाषा हुँदै हैन । यसको उत्पत्तिको कार्य र कारण कुनै एक स्थानविशेषमा भएको हैन । यो कास्मिर अझ उताबाट क्रमशः कुमाउ, गढवाल हुँदै बसाइँ सरेर विकसित भएको भाषा हो । यसको इतिहासले हजारौँ वर्षका आरोहअवरोह झेल्दै आएको छ । यो जातको बच्चा बनेर जन्मेको नभएर ठुलो समुदायको बिचबाट हुर्कंदै विकसित भएको भाषा हो ।

    हाम्रो भाषाकी जिज्युबज्यै संस्कृतबाट जन्मेका धेरै भाषा आज विश्वभर बोलिन्छ । नेपाली भाषा त्यही परिवारको एक सदस्य हो । त्यसैले आज भाषाको प्रश्न संसारकै सभ्यता र पहिचानको अब्वल प्रश्न बनेर उभिएको छ ।

    एक जना साहित्यकारले भनेका छन्– ॅनेपाली भाषा नेपाल आमाको निधारको टीका हो ।’ यो भनाइ सुन्दर छ । नेपाली समाजका लागि मेरो भनाइ यत्ति हो कि भाषाप्रयोगले विकास हुँदै जाने हो । पढाइलेखाइ, सुनाइ र बोलाइबाट भाषा परिस्कृत हुन्छ तर दुःखको कुरा हामी पठन संस्कृतिबाट अलग हुँदै छौँ । हामी अरूको कुरा धेरै सुन्छौँ तर आफूले पढ्दैनौँ । भावनामा धेरै बहकिन्छौँ । नेपालीमा अत्यन्त ज्ञानवर्धक पुस्तक प्रकाशित छन् । दर्शनका किताब पनि छापिएका छन् । साहित्यका उत्कृष्ट किताब छन् । सम्भव भएसम्मका पुस्तक नेपालीमै पढौँ ।

    पढ्नुभन्दा सुन्दर कुरा केही छैन । एक उत्कृष्ट किताब पढ्दा लेखकले जीवनभरि गरेको अनुभव एकाध दिनमै प्राप्त गर्दछौँ । उसले प्रयोग गरेका नयाँ शब्द सिकेर शब्दभण्डार विकसित गर्दछौँ । वाक्यरचनाका विविध शैली सिकेर प्रयोग गर्न सक्ने हुन्छौँ । के यो कुरा नराम्रो हो ? अध्ययनले हाम्रो अनुभव पचास वर्षअगाडिको तस्बिरलाई देख्न सक्ने बनाउँछ । हामी पचास वर्षपछिको विज्ञ मानवजस्तै परिपक्व हुन्छौँ ।

    भाषा मानिसको समुदाय, उसले निर्माण गरेको सभ्यता र स्वयम् उसको अस्तित्व बचाउने सुरक्षाकवच हो । यो बुझ्न मानिस धेरै अगाडिको अर्थात् मानव उत्पत्तिकालको समयमा पुग्नुपर्छ । लेखक, इतिहासकार तथा इजरायलको हिब्रु विश्वविद्यालयको विश्व इतिहासका प्राध्यापक युवल नोभा हरारीले मानव जातिको इतिहासबारे लेखिएको आफ्नो किताब सेपियन्समा बताएअनुसार भाषाले नै होमोसेपियन्सको अस्तित्वलाई अहिलेसम्म ल्याइपुऱ्याएको हो । उनको अनुसन्धानअनुसार आजभन्दा तीन लाख वर्षपहिले बाँदरका भिन्न प्रजातिबाट होमोसेपियन्सको एक परिवार अलग्गियो । यो परिवारमा अन्य शाखा पनि थिए । नियन्डरथल, अस्ट्रेयलोपिथेकस, होमोइरेक्टसलगायत धेरै प्रजाति अस्तित्वको लागि सङ्घर्षरत थिए । अन्तमा कसको अस्तित्व रहन्छ भन्ने कुरा महत्त्वपूर्ण रह्यो।

    आजभन्दा करिब सत्तरी/असी हजार वर्षपहिला सम्म ती सबै मानव पुर्खाका प्रजातिको अस्तित्व थियो । उनीहरूको सङ्ज्ञानात्मक क्रान्तिले एक प्रजातिलाई मात्र बचायो । होमोसेपियन्सले मात्रै आफ्नो अस्तित्व रक्षा गर्न सफल भयो । त्यो सङ्ज्ञानात्मक क्रान्ति वा भाषाको कारणले बाँच्यो । सङ्ज्ञानात्मक क्रान्ति ७० हजारदेखि ३० हजार वर्षपहिले भएको थियो । यसले होमोसेपियनलाई भाषामा पहिले कहिल्यै नदेखिएको स्तरमा कुराकानी गर्न सक्ने बनायो । हामीलाई थाहा भएसम्म होमोसेपियनले मात्र हामीले कहिल्यै नदेखेका, छोएका वा सुँघेका कुराको बारेमा कुरा गर्न सक्छन् ।

    नियन्डरथल प्रजाति अरूभन्दा शक्तिशाली थियो तर पनि उसले आफ्नो अस्तित्व बचाइराख्न सफल भएन । क्रमिक विकासको इतिहासमा सबै वंशशाखाको अस्तित्व सम्भव हुँदैन भन्ने कुरा जीवविकासको इतिहासले बताउँछ ।

    होमोसेपियन्सले आफ्नो अस्तित्व भाषिक क्षमताको कारणले नै मात्रै बचाउन सफल भयो । अरूसँग पनि भाषाको सीमित क्षमता थियो तर उनीहरूले भाषिक क्षमतालाई अगाडि बढाउन सकेनन् । उनीहरूले एक आवाजमा पूरै वाक्य बोल्दथे । होमोसेपियन्सले शब्द जोडेर बोल्न सिक्यो । शब्दको व्यापक भण्डार गर्दै जाँदा त्यही अनुकूलमा उसको दिमाग पनि विकसित भयो । त्यही कारण ऊ आफ्ना अन्य समुदायबाट क्रमशः अलग हुँदै गयो । आफ्नो सन्तानलाई भाषिक तथा औजार निर्माण कलाले अझ परिस्कृत गर्न सक्यो । आज हामी सबै प्राणीभन्दा सक्षम छौँ भने त्यसको प्रमुख कारण हो– सङ्ज्ञानात्मक क्रान्ति वा भाषाको विकास ।

    अहिले हामीले केही ध्वनिबाट सयौँ शब्द, सयौँ वाक्य बनाउन सक्छौँ । यो तरिका अन्य जीवले विकास गर्न सकेको छैन ।

    जो चिज त्यतिकै विरासतको रूपमा मिल्छ, त्यसको त्यति धेरै कदर हुँदैन । त्यसको मूल्यलाई हामीले सम्झन सक्दैनौँ । भाषा, जुन हामीले त्यतिकै पुर्खाबाट प्राप्त गरेको फोकटको माल सम्झने भुल गर्नुहुँदैन, भाषाको लागि पुर्खाको अतुलनीय त्याग र समर्पण छ । त्यसैले सबैका भाषालाई माया गर्नुपर्छ भनेको हो ।

    बेलाबखत हामीलाई भाषासम्बन्धी केही प्रश्नले अत्याइरहेको हुन्छ; जस्तो : किन दुनियाँको भाषा एउटै हुन नसकेको होला ? यति धेरै भाषा किन होलान् ? त्यसको उत्तर खोज्न हामी नोहाकालीन समाजमा पुग्नुपर्छ, जुन बेला मानवभाषा लगभग मिल्दोजुल्दो थियो । बाइबलमा बताएअनुसार बेबिलोन सभ्यताकालमा त्यहाँ प्रलयकारी बाढी आयो, जसको कारणले बाढीबाट बाचेका मानिस विभिन्न भागमा छरिएर आफूलाई बचाउन सफल भए तर बाइबलमा संसारको प्रलयले गर्दा नोहाले डुङ्गा बनाएर संसारका सबै जातिका एक/एक जोडीलाई बचाएको वृत्तान्त छ । त्यो के हो ? थाहा भएन । त्यो बाढीमा मानिसले आफू रहेको स्थान छोडेर छरिएको कुरा भने सजिलै बुझ्न सकिन्छ तर छरिएर एसियातिर आएका मानिसले बोल्ने भाषा अपभ्रंश हुँदै आदिम फारसी र त्यसको कालान्तरमा संस्कृत भाषा बन्यो भने युरोपतिर पुगेर त्यो भाषा ल्याटिन, रोमन र ग्रिक भाषा बन्यो । यी सबै भारोपेली परिवारका भाषा हुन् ।

    भाषा धर्मभन्दा अत्यन्तै बलियो हुन्छ । युरोपका सबै राज्य भाषाको आधारमा बनेका हुन् । पाकिस्तान र बङ्गलादेश भाषिक कारणले विभाजन भएको हो । नेपाली भाषाको सवालमा भन्नुपर्दा हाम्रो भाषाव्याकरणदेखि शब्दकोश र प्रयोगका दृष्टिले कतै पनि कमजोर छैन ।

    औपनिवेशीकरणको कारणले संसारभरि अङ्ग्रेजीको वर्चस्व छ । संसारभरि अङ्ग्रेजी भाषाको दबदबा हुनुको कारण प्राविधिक शब्द धेरै अङ्ग्रेजीमा छन् भन्ने तर्क दिइन्छ । त्यो सर्वथा गलत हो । विकसित देशका सबै राजभाषा त्यो देशको पठनपाठनमा पढाइ हुन्छ; जस्तो : युरोपमा अङ्ग्रेजी ऐच्छिक पठनपाठनको भाषा हो । भाषाको महŒवलाई युरोपका प्रत्येक देशले अति महत्त्व दिएका हुन्छन् । यताका नागरिकहरू भाषाका लागि लड्न तयार हुन्छन तर सम्झौता गर्दैनन् । बेलायतबाहेक अन्य देशमा अङ्ग्रेजीको नाम पनि लिन चाहन्नन् ।
    सेक्सपियरको नाटक द टेम्पेस्टकी नारी पात्र मिरान्डाजस्तै लाचार सरकारका कारण नेपाल, भारतजस्ता देशमा राष्ट्रिय भाषालाई कम महŒव दिइएको हो । नेपालमा पनि हाम्रो मातृभाषालगायत राष्ट्रिय भाषाको अवस्था नाजुक बनाउँदै लगिएको छ तर पनि नेपाली भाषा हरेक किसिमले बलियो अन्तर्राष्ट्रिय भाषा हो । यो भाषा नेपाल, भारत, म्यानमार, थाइल्यान्ड र नेपाली आप्रवासी रहेका सबै देशमा बोलिन्छ । हामी हाम्रो भाषाको प्रचार गर्न, भाषिक अभियान सञ्चालन गर्न डराउँछौँ । भाषिक अभियानलाई धेरै कम महत्त्व दिन्छौँ वा महत्त्व नै दिदैनौँ तर नेपाली भाषालाई हृदयको भाषा सम्झनेहरू नेपाली भाषाको विकास गर्न मरिमेटेर लागेका छन् । यसमा नेपालका साहित्यकार पनि लागिरहेका छन् । यसैमा हाम्रो भाषाको भविष्य कस्तो होला भन्ने उत्तर छिपेको छ ।

    नेपाली भाषाको भविष्य यसका विभिन्न पहलुलाई हेरेर मात्र आँकलन गर्न सकिन्छ; जस्तो कि राष्ट्रभाषाको रूपमा, राजकीय भाषाको रूपमा, कामकाजको भाषाको रूपमा, सम्पर्क भाषाको रूपमा, ज्ञानविज्ञान तथा अध्यापन भाषाको रूपमा, वाणिज्य भाषाको रूपमा र जागिरमा प्रयोग हुने भाषाको रूपमा नेपाली भाषाको अवस्था कस्तो छ ? भाषाको प्रयोगका यी अलग अलग पक्षको अध्ययनविना नेपाली वा अन्य कुनै पनि भाषाको भविष्य आँकलन गर्न सकिन्न ।

    के माथि बताइएका सबै क्षेत्रमा नेपाली भाषाको वर्चस्व छ वा हामीले क्रमशः आफ्नो भाषाको वर्चस्व गुमाउँदै गइरहेका छौँ ? यो विषयबारे थोरै बहस गर्न सकिन्छ ।

    वर्चस्व र प्रयासको हिसाबले अनुसन्धान गर्दा, प्रत्येक राष्ट्रले आफ्नो देशको भाषाको विकास र विस्तारमा सहयोगी भूमिका निर्वाह गर्छ वा गर्नुपर्छ । विश्वमा नेपाल त्यस्तो देश हो, जहाँ नेपाली भाषाको वर्चस्व स्थापित गर्न गम्भीर भएर लागेको पाइएको छैन । नेपाली भाषाको संरक्षणसमेत गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना भएको छ तर त्यो संस्थामा पनि राजनीति हाबी छ । राजनीतिका कारण राम्रा मान्छेभन्दा राजनीतिक गर्ने व्यक्तिको नियुक्तिले प्राज्ञिक व्यक्ति पछाडि पर्दै छन् । सरकारी विद्यालयमा नेपाली पठनपाठन भएका कारण सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै छ । अङ्ग्रेजी भाषा नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिँदै छ । इसाईले आफ्नो धर्मको प्रचारसँगै अङ्ग्रेजी माध्यमका विद्यालय स्थापना गर्नाले त्यसको कपी गर्दै नेपालीले पनि त्यही बाटो समातेका छन् । त्यस्तै अवस्था रहे नेपालमा नेपाली भाषाको पठनपाठन अबको केही वर्षमा अन्त्य हुने सम्भावना देखिएको छ । यो खतराको सङ्केत हो ।

    नेपाली भाषाको अन्त्य हुनु भनेको नेपाली संस्कृति, परम्परा र नेपालीपनको अस्तित्वमा खतरा आउनु हो । यसलाई रोक्न केही पहल भएता पनि आधिकारिक पहल गरेको देखिँदैन । राजनीतिले सबै ठाउँलाई प्रभाव पारेको छ । यस्तो कार्यले नेपालको भाषाको विकासमा गम्भीर असर पर्नेछ । अर्कोतर्फ, नेपालको सबैजसो गौरव गर्ने कुरा समाप्त हुने छन् । त्यसैले यसलाई रोक्न तत्काल आवश्यक छ । नेपाली भाषाको सेवा कसैको ठेक्का नभएर प्रत्येक नेपाली नागरिकको भूमिका अपरिहार्य छ ।

    रुस, उत्तर अमेरिका, संयुक्त अरब इमिरेट्स, बेलायत, भुटान, थाइल्यान्ड, हङकङ, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड, स्क्यान्डिभियन देश, जापान, जर्मनी, भारत, रुस, म्यानमारलगायत अधिकांश मुलुकमा पनि नेपाली भाषा बोलिने गरेको छ । त्यसैले नेपाली अन्तर्राष्ट्रिय भाषा भइसकेको छ । दक्षिण एसियाका दुई प्रमुख देश नेपाल र भारतमा नेपाली भाषाले राष्ट्रिय भाषाको रूपमा स्वीकृति पाएको छ । नेपालदेखि फैलिएको नेपाली भाषा पूर्वमा बर्मा, पश्चिममा पञ्जाब र उत्तरमा हिमवत्खण्डदेखि दक्षिण एसियाको गाङ्गेय समभूमि तथा अन्य ठाउँमा पनि विस्तार भएको छ ।

    नेपाली भाषा नेपालको राष्ट्रियतासँग जोडिएको भाषा हो । देश बचाउन हाम्रा पुर्खाले नेपाली भाषामा गीत गाई युद्ध गरेका थिए । हरेक क्रान्तिमा जीवन, रामेश, रायन, जेबीजस्ता गायकले नेपाली गीत गाएर परिवर्तनमा प्राण भरेका छन् । सयौँ लेखक तथा कविले ॅआमा त्यो आउँछ र ? हो बा त्यो आउँछ’ भन्दै परिवर्तनलाई बोलाएका छन् । त्यसैले राष्ट्रियताप्रति जिम्मेवार व्यक्तिले पनि नेपाली भाषालाई सम्मान गरेको पाइन्छ । अन्तर्राष्ट्रिय जगत्मा आफ्नो भाषाको जगेर्ना सरकारले गर्नुपर्छ । उनीहरूको राष्ट्रियताभित्र आफ्नो राष्ट्रको भाषा पनि पर्छ । जापानी बजारमा पाइने औषधिमा अङ्ग्रेजी अक्षर देख्न पाइँदैन । चीन, कोरिया, जर्मन, फ्रान्सजस्ता विश्वका शक्तिशाली देशमा उच्च शिक्षासम्म आफ्नै देशको राष्ट्रभाषामा पठनपाठनको व्यवस्था अनिवार्य गरिएको छ ।

    माथि नै भनियो, नेपाली भाषा भारतको दार्जिलिङ, सिक्किम, आसाम, बर्मा, कलकत्ता, पटना, देहरादुन, दिल्ली, मेघालय, मिजोराम, मणिपुर, पश्चिम भारतका राज्य पन्जाब, गुजरात, जम्मुकस्मिर, हिमाचल, कुमाउ, गढवाल, देहरादुन, मुम्बईसम्म विस्तार छ । दार्जिलिङमा माध्यमिक तहसम्म नेपाली भाषा शिक्षण गर्ने गरिन्छ क।

    सिलिगुढी उत्तर बङ्गाल विश्वविद्यालय तथा काशी हिन्दु विश्वविद्यालयले नेपालीमा एमएसम्म अध्ययन गराउँदै आएको छ । भारतमा सन् २००४ मा नेपाली भाषालाई संविधानमा नै मान्यता दिएको छ । नेपाली साहित्यलाई भारतको साहित्यिक एकेडेमीले सन् १९७५ मा नै मान्यता दिई यसको प्रवर्द्धनमा विभिन्न क्रियाकलाप गर्दै आएको छ । जापानको टोकियो युनिभर्सिटीमा ३५ भाषाको अध्यापन हुन्छ । त्यसमा नेपाली भाषाको मागमा तीन दिनमै कोटा पुगेको थियो भनी त्यसै विश्वविद्यालयका प्राध्यापक हारुहितो नोजुले बताएका छन् । त्यहाँ नेपाली विषयमा जापानी नागरिक हारुहितो नोजुले प्राध्यापन गर्छन् ।

    यसर्थ यदि कसैले नेपाली भाषा सकिँदै गइरहेको छ भन्छ भने मलाई लाग्छ, त्यो मूर्ख मात्र हैन, नबुझ्ने मानिस हो । हामीले माथिका ती सबै कुरालाई आधार बनाएर भाषागत तथ्य केलाउनुपर्छ अनि मात्र बोल्नुपर्छ ।

    थाई नेपाली सङ्घको अगुवाइमा थाइल्यान्डमा पनि नेपाली भाषा नेपाली भाषाको क्षेत्रमा काम गर्ने सिलसिलामा पठनपाठनको काम भइरहेको छ । त्यस्तै, म्यान्मारमा अखिल म्यान्मार देशीय गोर्खा हिन्दु धार्मिक सङ्घ नामक सङ्गठनले नेपाली पहिचान बचाउन ठुलो काम गरेको छ ।

    मातृभाषा नेपालीको कक्षागत रूपमै पढाइ हुन्छ त्यहाँ । त्यसको ठिक उल्टो नेपालमा भने निजी स्कुलमा अङ्ग्रेजी माध्यमबाट आफ्ना छोराछोरी पढाउने र विदेशमा बसेर डलर कमाउने केही मान्छेले गर्वसाथ भन्ने गर्छन्– ‘मेरो छोराछोरीलाई अङ्ग्रेजीमा मात्रै कुरा गर्न आउँछ । नेपाली त उसलाई राम्ररी पढ्न पनि आउँदैन । बल्लतल्ल नेपालीमा पास गर्छन् । आखिर उसलाई नेपाली किन चाहियो र  ? ऊ यहाँ बस्ने होइन ।’

    ती अविभावकले आफ्ना सन्तानलाई भाषा, संस्कृतिबाट टाढा राख्दैछन् । उनीहरूले केही पछि आफ्नो संस्कृति भुल्नेछन् । घर, गाडी र बैङ्क ब्यालेन्स होला तर आफ्नो पुर्ख्यौली थलो कहाँ हो, आफ्ना पुर्खा को हुन्, भाषा र भेष कस्ता थिए, बाजेबज्यैले कस्तो बोल्थे, के खान्थे, के लगाउँथे, कसरी चाडपर्व मनाउँथे भन्ने उनीहरूले थाहा पाउने छैनन् । उनीहरूले त्यसबारे जानकारी लिन विदेशीले लेखेका किताब पढ्नुपर्नेछ तर आफ्नो संस्कृतिप्रति गर्व गर्न सक्ने छैनन् ।

    सम्बन्धित भाषिक समुदायको बेवास्ताकै कारण नेपालका अधिकांश भाषाहरू डाइनोसार हुने तर्खरमा छन् । १२९ भाषामध्ये १९ भाषा मात्र एक लाखभन्दा बढीले बोल्ने चलनचल्तीका भाषा हुन् । राज्य र सम्बन्धित भाषिक समुदायको उदासिनताका कारण ती भाषा लोप हुन लागेका छन् ।

    हामीलाई बहकिने छुट छैन किनकि अहिले नेपालका स्कुलको पूर्ण अङ्ग्रेजीकरणलाई रोक्न तुरुन्तै कदम चाल्नुपर्छ । भाषा भनेको देश, राष्ट्रियता र संस्कृति सबै हो । स्कुलमा पूर्ण अङ्ग्रेजीकरण हाम्रो राष्ट्रिय संस्कृतिमाथिको आक्रमण हो । भाषा, संस्कृति र राष्ट्रियतामाथिको आक्रमण देशमाथिको आक्रमण हो । त्यसैले बोर्डिङ स्कुलको पूर्ण अङ्ग्रेजीकरण रोक्न राज्यलाई दबाब दिएर मात्र पुग्दैन, समुदाय पनि जुर्मुराएर त्यसलाई रोक्न पहल गर्नुपर्छ ।

    नेपाली भाषालाई बुझ्ने नेपालीको सङ्ख्या घट्दो नभएर बढ्दो छ । सिक्किम, भुटान, आसाम, म्यान्मार, थाइल्यान्ड र नेपाली आप्रवासी भएको ठाउँमा नेपाली भाषा नै एक मात्र सम्पर्क भाषा रहेको छ ।

    केही समय अगाडिबाट भारतको मध्यप्रदेशका मेडिकल कलेजमा मेडिकल साइन्स हिन्दी भाषाबाट पढाइ हुन थालेको छ भने यसको लहर हिमाचल प्रदेशसम्म फैलिने क्रम छ । नेपाली भाषा पनि हिन्दी, अङ्ग्रेजी र फ्रेन्चजत्तिकै विकसित भाषा हो । त्यसैले नेपाली भाषामा इन्जिनियरिङ तथा मेडिकल विज्ञानजस्ता विषय पढाउन सकिन्छ । अङ्ग्रेजीमा के त्यस्ता शब्द छन्, जुन शब्द नेपालीमा नहोउन् । संस्कृत भाषा अङ्ग्रेजीभन्दा पनि विकसित भाषा हो । नेपालीमा अपुग भएका शब्द संस्कृतबाट लिन सकिन्छ । अनुसन्धान, प्रविधि र मेडिकलसँग सम्बन्धित शब्द अङ्ग्रेजी भाषाबाट लिनुपरे जस्ताको तस्तै स्वीकार्दा भइहाल्यो । देवनागरी लिपीमा ती शब्दको प्रयोग गर्दा के बिग्रन्छ र ?
    सन् १९९४ मा मातृभाषाबारे इथियोपियामा भएको युनेस्कोको एक अनुसन्धानले बताएअनुसार हरेक ज्ञान मातृभाषाबाट जति सजिलोसँग मानिसले सिक्न सक्छ, अर्को भाषाबाट सक्दैन । रिपोर्टअनुसार प्राथमिक तहका सबै विषय मातृभाषामा पढाउँदा स्कुलमा बालबच्चाको उपस्थिति बढ्नेदेखि लिएर बालबच्चाको समझदारी, रुचि, समर्पण र समाजप्रतिको लगाव उच्च हुने कुरा पत्ता लाग्यो । मातृभाषामा पढेका विद्यार्थीको समाज र देशप्रतिको लगाव बढ्ने हुँदा त्यसले बालबच्चाको मानसिक रुझानलाई सकारात्मक प्रभाव पार्ने रिपोर्टमा उल्लेख छ ।

    माथि बताइएका अनुसन्धानका परिणामको सन्दर्भ नेपाली मातृभाषी विद्यार्थीको हकमा पनि हो । नेपाली बालबच्चाले प्रारम्भिक तहमा आफ्नो भाषामा पढ्न पाउने अधिकारलाई राज्यले सम्मान गरेको छैन । भर्खर चार वर्ष पुग्दै गरेका, मातृभाषामा पकड बनाउँदै गरेका नेपाली बालबालिकालाई निजी स्कुलले अङ्ग्रेजी माध्यमबाट पढ्न बाध्य पारेका छन् । हाम्रै भूमिमा हाम्रै राष्ट्रभाषामाथि आक्रमण गरिएको छ । निजी स्कुलमा एक खालको ज्यादती र बालहिंसा छ । यो देशको लागि दुर्भाग्यपूर्ण अवस्था हो ।

    एक बालकले सिक्नुपर्ने आफ्नो मातृभाषाका वाक्य निर्माण, शब्द सिकिरहेको अवस्थामा उसको आधी ऊर्जा अङ्ग्रेजी भाषा सिक्दा सकिन्छ । त्यसले उसलाई भाषागत अलमल उत्पन्न गर्छ र ऊ मानसिक रोगी बन्न सक्छ । यो अवस्थाको ख्याल गरिएको छैन । शिक्षा मन्त्रालय यसबारे बोल्दैन । नेपालमा यस्तो किन हुँदैछ ? यो प्रश्नले नै अहिले मातृभाषाको उत्थान चाहनेका लागि झक्झक्याइरहेको छ । अन्य विकसित देशमा प्राथमिक तहको पढाइमा विदेशी भाषा पढाइँदैन । युरोपमा आफ्नो मातृभाषामा मेडिकल साइन्स र अन्य टेक्निकल विषय पढ्न सक्छन् भने नेपालीमा किन नसक्नु ?

    तथ्य भन्छ– विश्वका १८९ देशमा २९०० भन्दा बढी मेडिकल कलेजमध्ये अधिकांश (१०५ वा ५५.६ प्रतिशत) मातृभाषामा निर्भर गर्छन् । अर्कोतर्फ, ३९.१ प्रतिशत देश विदेशी भाषामा निर्भर छन् । अफ्रिकाले मातृभाषामा सबैभन्दा कम निर्भरता देखाएको छ । यसको विपरीत ३९ मध्ये ३८ युरोपेली देश चिकित्साशिक्षाको प्राथमिक भाषाको रूपमा आफ्नो मातृभाषामा निर्भर छन् । निष्कर्षले विकसित र विकासशील देशबिच चिकित्साशिक्षामा भाषाको प्रयोगबारे विपरीत अवस्था देखिएको छ । विकसित र अल्पविकसित देशबिचको मातृभाषामा निर्भरताको विविधता र शिक्षामा भाषाको प्रयोग सम्बन्धमा उपनिवेशीकरणको स्थायी प्रभाव प्रष्टै देख्न सकिन्छ ।

    नेपाल कहिल्यै कसैको उपनिवेश नभएर पनि शिक्षामा भाषाप्रयोगको अवस्था औपनिवेशिक छ । त्यसैले नेपालको वर्तमान शिक्षानीतिलाई बदलेर नेपाली भाषामा कुनै पनि विषय पढ्न पाउने गराउनुपर्छ भने प्राथमिक तहको पढाइ नेपालीमै हुनु अनिवार्य छ अन्यथा कालान्तरमा नेपालमा नेपाली भाषाको उत्थान गर्ने लेखक, साहित्यकार, विश्लेषक र भाषाविद्हरू मेटिदै जाने खतरा रहने छ । नेपालको भाषा सांस्कृतिक र मौलिक सम्पदा मासेर विदेशी भाषा र संस्कृतिलाई नेपालमा स्थापित गर्ने मिसिनरी र आइएनजिओको योजना सफल हुनेछ । यसले देशमा सांस्कृतिक र भाषागत खालीपन निर्माण गर्नेछ । त्यो अवस्था आउनु भनेको नेपाललाई कङ्गाल बनाउनु हो । यी कुरा बेलैमा बुझेर राज्यले आफ्नो भावी शिक्षानीतिको तर्जुमा गरोस् ।

    ज्ञानी बालबालिकालाई देशको माटो, भाषा र संस्कृतिप्रति उत्तरदायी हुन नदिएर बालमस्तिष्क मार्ने र संसारभरी अङ्ग्रेजी भाषाको वर्चस्व कायम गर्ने एङ्ग्लो योजनाबारे समुदायले पनि बुझ्नु जरुरी छ । आज नेपालीहरू देशमा बस्न नचाहनुको धेरै कारणमध्ये नेपालको शिक्षा नीति पनि एक हो । यदि नेपाली भाषामा दक्ष जनशक्तिको उत्पादन हुन्थ्यो भने यति धेरै विद्यार्थी विदेश पलायन हुने थिएनन् । अङ्ग्रेजीभाषी मुलुकले आफूलाई चाहिने कामदारको आपूर्ति गर्न उनीहरूकै बमोजिम शिक्षानीति लागु गर्न अल्पविकसित देशलाई मनोवैज्ञानिक दबाब दिइरहेका हुन्छन् । राज्यले बनाउने शिक्षानीतिमा समेत उनीहरूले प्रभाव पारिरहेका हुन्छन् । नेपालको वर्तमान शैक्षिक अवस्था त्यसैको परिणाम हो भन्दा अत्युक्ति नहोला ।

    मैले ४ कक्षाबाट अङ्ग्रेजी पढेँ, ठिकै सिकेँ, काम चलिरहेको छ । मैले युरोप आएपछि नेदरल्यान्ड भाषा सिकेँ, ठिकै छ, काम चलिरहेको छ तर पनि मलाई मेरै भाषाका गीतसङ्गीत, साहित्य र ब्याङहरू मन पर्छन् । यताका ब्याङहरू सुनेर ओठ तन्किदैनन् । बल्लतल्ल ओठ तन्के पनि भनेजति मनोरमण हुँदैन । पढ्ने कुरामा म कन्जुस छैन । नेपालीमा नभएका कुरा अङ्ग्रेजी र हिन्दीमा हेर्छु । नेदरल्यान्डमा पनि सूचनासम्म हेर्छु । नबुझेका कुरा नेपालीमै गुगल अनुवाद गरेर पढ्छु । चलिरहेको छ ।

    ज्ञानविज्ञानको संसारमा भाषिक साम्राज्यवादी हस्तक्षेपलाई तोड्न ढिला गर्नुहुन्न । टेक्निकल पढाइको सन्दर्भमा भन्नुपर्दा, जुन शब्द अङ्ग्रेजी, हिन्दी, जापानी भाषामा प्रसिद्ध छन् र नेपालीमा अनुवाद हुन सक्दैनन्, ती शब्द देवनागरीमा जस्ताको तस्तै लेख्न सकिन्छ । यसले गर्दा नेपाली शब्दभण्डार पनि बढ्छ । हामीले पत्रपत्रिकामा लेख लेख्दा त्यसै गर्छौं† जस्तो : रिक्सा जापानी शब्द हो, अब त्यो शब्द नेपालीजस्तै भयो, जसलाई मानववाहन भन्न जरुरी छैन । बग्गी वा टाँगालाई घोडावाहन भन्न जरुरी छैन । भाषाको समस्या शब्द हैन, वाक्य संरचना हो ।

    माथि नै भनियो, मन र आत्माको भाषा नै वास्तवमा मातृभाषा हो, जुन आमाको काखमा बसेर दुधपान गर्दागर्दै बालबालिकाले सिक्दछन् । अहिले अरूका मातृभाषा मारेर आफ्नो भाषिक वर्चस्व कायम गर्ने लहर चलेको छ । यो लहर तोड्न अफ्रिकी मुलुक जुर्मुराएका छन् भने युरोप, रुस र चीनमा धेरै अगाडिदेखि आफ्नै भाषामा पढाइ गरिन्छ । विदेशी भाषा त्यहाँ ऐच्छिक विषयमा पर्दछन् । भारतमा पनि मध्यप्रदेश, उत्तराखण्ड, उत्तर प्रदेश हुँदै यो लहर सबैतिर फैलिने क्रममा छ । मेडिकल साइन्समा त्यस्तो केही छैन, जसको पढाइ नेपाली भाषामा हुन नसकोस् । आखिर डाक्टर भएर पनि आफ्नै नागरिकको उपचार गर्ने हो । नेपालका सर्वसाधारणले नेपालीबाहेक अन्य भाषा बुझ्दैनन् । बिरामीले अङ्ग्रेजीमा पढेका डाक्टरले न भनेलेखेको बुझछन्, न आफूलाई के रोग लागेको हो, थाहा पाउँछन् । अप्रेसन गर्दासमेत के लेखेको छ भन्ने कुरा थाहा नै नपाई बिरामीले सही गर्नुपर्ने अवस्था छ नेपालमा । जाँच गरेको रिपोर्ट पनि अङ्ग्रेजीमा आउँछ । बिरामीको रिपोर्ट नेपालीमा लेख्न केले रोकेको हो, उनीहरूलाई थाहा छैन तर विकसित देशमा त्यस्तो हुँदैन ।

    म बेल्जियममा डाक्टरको रिपोर्ट हेर्छु । सबै खाले टेक्नोलोजीका पढाइबारे बुझ्छु । सबै मातृभाषामै छ । विद्यालयको पढाइमा अङ्ग्रेजी ऐच्छिक विषयअन्तर्गत हुन्छ, त्यो पनि माध्यमिक तहमा मात्र बरु फ्रेन्च भाषाको पढाइ ४ कक्षामा पुगेपछि हुन्छ । प्राइभेट अङ्ग्रेजी स्कुलमा अति महँगो शुल्क तिरेर डिप्लोम्याटका सन्तान पढ्छन् तर जागिरका लागि भने स्थानीय भाषामा पढेकालाई पहिलो प्राथमिकता दिइन्छ ।

    अङ्ग्रेजीभाषी नेपाली कति होलान् र नेपालमा ? छैनन् भने नेपालको सेवामा किन अङ्ग्रेजी स्कुल चाहियो ? बग्रेल्ती अङ्ग्रेजी स्कुलको बाढी चलेको छ । हामीले अङ्ग्रेजी किताबको गरुङ्गो भारी बोकाएर बालबालिकालाई तिनै स्कुलमा पठाइरहेका छौँ । अङ्ग्रेजी हावाले हाम्रा भावी पिँढी समाप्त पार्दैछ । यो कुरामा हामी नेपाली हौँ भन्ने नेताकार्यकर्ता र नीतिनिर्मातालाई लाज लाग्नुपर्ने हो । हामीलाई पनि लाज लाग्नुपर्ने हो । हामी अनेक विषयमा आन्दोलन गर्छौं तर हाम्रो भाषा जोगाउने कुरामा हामी मिरान्डा हुन्छौँ । त्यसैले त स्कुल व्यापारीको मनपरी भइराखेको छ।

    अहिले सोच्छु, हामीलाई ७ र ८ कक्षामा संस्कृतिको सट्टा नेपालकै जीवित भाषा थारू, तामाङ, गुरुङ वा भोजपुरी भाषा सिकाएको भए व्यावहारिक जीवनमा कति काम लाग्ने रहेछ । मान्छे जुनसुकै धर्मप्रति आस्था भएको किन नहोस्, उसलाई उसकै भूगोलभित्र बोलिने भाषा काम लाग्छ । उसले आवश्यकताअनुसार त्यहीँको भाषालाई मातृभाषाको रूपमा बोल्दछ । त्यसैले भाषा जाति वा धर्मको घेराभित्र मात्र सीमित हुँदैन । भाषा अरूको चाहनाले भन्दा आन्तरिक कारणले नै लोप हुने हो । जुन भाषामा त्यो देशले गर्व गर्छ, त्यो भाषा सानै देशको किन नहोस्, लोप हुँदैन । यो नागरिकको आत्मसम्मानभित्र बाँचिरहेको हुन्छ । केही विदेशको हुन्डी खाएका अङ्ग्रजी स्कुलका सञ्चालकले नेपाली भाषा काम लाग्ने भाषा नभएकाले अङ्ग्रेजी स्कुल खोल्नुपरेको भन्ने तर्क गरेको सुनेको छु । कस्तो दुख लाग्छ, उनीहरूले त्यसो भन्दा ।

    एक कवि भन्दछन्–

    नेपाली भाषा मेटाइदिन्छौँ हामीले देशबाट
    यी वाक्य पनि उनीहरूले नेपालीमै भन्छन्
    तर समुदायले अलिकति नबुझी सोध्छन्
    हो र सर ?
    एक कुशल शासक कुरेको छ देशले
    मेटाइदिन्छु भन्नेलाई नेपालबाट मेटाइदिन

    जबसम्म समुदायको जनजिब्रोमा नेपाली भाषा जीवित रहन्छ, तबसम्म नेपाली मात्र हैन, कुनै पनि भाषा समाप्त भएर जाने छैनन् ।

    भाषा फुल्छ हामी एकसाथ बढ्दाखेरि
    भाषा मेटिन्छ फोहर तरलतामा बग्दाखेरी

    बोर्डिङ स्कुल छोडेर प्रयोगको हिसाबले हाम्रो भाषा समुदायभित्र बचाउन प्रवासमा समेत काम भइरहेको छ । प्रवासमा नेपालीले नेपाली अक्षर चिनिरहेका छन् । तिमीलाई राम्रो अङ्ग्रेजीको लवज आएन नि भन्नेहरूलाई तपाईंलाई नेपालीको लवज किन आउँदैन त भनेर जवाफ फर्काइरहेका छन् हाम्रा बच्चाबच्चीले । हामीभित्रबाट अङ्ग्रेजी कमजोर भए जागिर पाइँदैन भन्ने डर निकालेको दिनदेखि नेपाली भाषाको अझ हाइहाइ हुनेछ । जन्मभूमि र मातृभाषाको गरिमा र आत्मसम्मानको रक्षा गर्न बाहिरबाट कोही आउँदैन । त्यसको रक्षा हामीले नै गर्ने हो । सबै भाषाको प्रेम गरौँ तर मातृभाषालाई सम्मानपूर्वक सेवा गरौँ ।

    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • २.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ३.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ४.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ६.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ८.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.