सन्धिखर्क । राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिको आयोजनामा अर्घाखाँचीको नरपानी ६–पिकनिकस्थलमा कोणसभा सम्पन्न भएको छ ।
राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार शेरबहादुर बिसीको सम्बोधनसँगै २०८१ माघ २५ गते शुक्रबार सो सभा सम्पन्न भएको हो ।
सभामा बोल्दै बिसीले सङ्घीयता खारेज गर्न चैत २४ गतेदेखि ३० गतेसम्म काठमाडौँकेन्द्रित आन्दोलन आयोजना गरिएको बताउँदै तयसमा सहभागी हुन आह्वान गर्नुभयो ।
अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष कल्पना पोखरेलले सङ्घीयता नेपालका लागि अनुपयुक्त व्यवस्था भएकाले यसको खारेजीको मुद्दामा जनताले साथ दिनुपर्ने बताउनुभयो ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोविन्द बिसीले राष्ट्रिय जनमोर्चाले उठाएको मुद्दा सधैँ देश र जनताको हितमा रहेको बताउँदै अन्य दलको तुलनामा साङ्गठनिक रूपमा सानो देखिए पनि विचारधारात्मक रूपमा ठुलो पार्टी भएको दाबी गर्नुभयो ।
राजमो सन्धिखर्क नगर समितिका सहसचिव वसन्त खड्काले अन्य दलले गर्ने राजनीति र राष्ट्रिय जनमोर्चाले गर्ने राजनीतिमा गुणात्मक फरक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता पूर्णबहादुर चुँदालीले, स्वागत दीपक चुदाली र सञ्चालन पदम केसीले गर्नुभएको थियो ।
