टेकराज भुसाल, सन्धिखर्क ।
साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुनको थप प्रवर्द्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ को रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी देशव्यापी रूपमा आयोडिन मन्थ मनाउन थालेको छ ।
सोही अवसरमा २०८१ माघ २१ गते सोमबार साल्ट ट्रेडिङको आयोजना तथा सन्धिखर्क नगरपालिकाको समन्वयमा अर्घाखाँचीको
सन्धिखर्कमा आयोडिन मन्थझ तथा रासायनिक मल अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख श्रेष्ठले रासायनिक मलमा राज्यले धेरै अनुदान दिएर मूल्य कम गर्दिएका कारण किसानले जथाभावी रूपमा रासायनिक मलको प्रयोग गरेको भन्दै रासायनिक मलमा दिएको अनुदान कटौती गरी कृषकले उत्पादन गरेको वस्तुमा अनुदान दिनुपर्नेमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।
व्यापक रासायनिक मलको प्रयोगसँगै हाइब्रिड खेती गर्नाले मूल बिउ हराएको चिन्ता व्यक्त गर्दै नगरप्रमुख श्रेष्ठले हाइब्रिड बिउ रोक्नुपर्ने र रासायनिक मलको व्यापक प्रयोग र हाइब्रिड बिउले पार्न असरबारे प्रत्येक कृषकलाई सचेत गराउनुपर्नेमा जोड दिनुभएको थियो ।
विभागीय प्रमुख कृष्णकुमार शाक्यले विशेषगरी साल्ट ट्रेडिङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित सम्बन्धित निकायका सहकार्यमा आयोडिनको कमीले हुने समस्यालाई निवारण गर्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।
शाक्यले नेपाल युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य देश भएको नेपालमा सन् १९९८ देखि फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ को रूपमा मनाइँदै आइएको र यस वर्ष “थोरै खाऔँ, सही मात्रामा खाऔँ, दुई बालबालिका चिह्न अङ्कित आयोडिनयुक्त नुन नै खाऔँ” भन्ने नारा रहेकोसमेत जानकारी दिनुभयो ।

त्यसैगरी कृषि विकास मन्त्रालयका पूर्व सहसचिव भगवान खतिवडाले रासायनिक मलको प्रयोग, प्रयोग गर्ने विधि, मात्रा लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
नगरपालिका स्वास्थ शाखा प्रमुख पूर्णप्रसाद पराजुलीको अध्यक्षता, कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको सञ्चालन, कर्पोरेसन लुम्बिनीका प्रबन्धक देवराज भट्टराईको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा जिल्ला छओटै पालिकाका कृषि शाखा प्रमुख, रासायनिक मल विक्रेता सहकारीका सञ्चालक तथा व्यवस्थापकको उपस्थिति रहेको थियो ।
