सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क बसपार्कमा राष्ट्रिय जनमोर्चाले सङ्घीयता विरोधी कोणसभा सम्पन्न गरेको छ ।
राजमो सन्धिखर्क नगर समितिको आयोजनामा २०८१ माघ २० गते सो कार्यक्रम सम्पन्न भएको हो ।
कोणसभालाई सम्बोधन गर्दै राजमो लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष थम्मन केसीले नेपालमा लागु गरिएको सङ्घीयता अत्यन्त खर्चिलो भएको र यसले देशलाई आर्थिक भार मात्र थोपरेको बताउनुभयो ।
उहाँले सङ्घीयता खारेज गरी स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्ने धारणा राख्नुभयो ।
राजमो अर्घाखाँचीका सचिवालय सदस्य कमलप्रसाद घिमिरेले नेपाली जनता सङ्घीयताको भारी बोकेर थकित भइसकेको उल्लेख गर्दै यसलाई छिटोभन्दा छिटो खारेज गर्नुपर्ने आवश्यकता दिनुनभयो ।
मीना बिसीको अध्यक्षता तथा राधा आचार्यको स्वागत मन्तव्यसहित अघि बढेको कार्यक्रमको सञ्चालन वसन्त खड्काले गर्नुभएको थियो ।
कार्यक्रममा राजमोका जिल्ला, नगर, तथा वडास्तरीय नेताकार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।
