विराटनगर । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएका विभिन्न समूहले अरुण पूर्वका नौवटा जिल्ला बन्द गरेका छन् ।
माघ १२ गते मुक्कुमलुङ साँस्कृतिकर्मीहरुमाथि सशस्त्र र नेपाल प्रहरीले दमन गरेको र गोली समेत हानेको विरोधमा यातायात बन्द गरिएको आन्दोलनरत पक्षले जनाएका छन् ।
माघ २० र २१ गते दुईदिन अरुण पूर्वका ९ जिल्ला बन्द आव्हान गरेका आन्दोलनरत समूहले बन्दको पछि पनि माग सम्बोधन नभए अनिश्चितकालीन आम हड्ताल गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन्।
१५ गतेदेखि ताप्लेजुङ छिर्ने नाकामा अनिश्चित कालीन बन्दको आव्हान गरेका पहिचान पक्षधरहरूको बन्दका कारण आज कोसी प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ।
मुक्कुमलुङ संरक्षण सङ्घर्ष समितिको नाममा निकालिएको विज्ञप्तिमा चन्द्र ढकालको केबलकार कम्पनीले घाइतेहरूको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नु पर्ने, घटनाको बारेमा उच्चस्तरीय न्यायिक छानबिन समिति निर्माण गर्नु पर्ने र दोषीलाई कडा कारबाही गर्नु पर्ने माग गरिएको छ।
घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार, पक्राउ परेकाको रिहाइ, काफ्ले पाटीबाट सशस्त्र र नेपाल प्रहरीलाई फिर्ता गर्नुपर्ने तथा केबलकार निर्माण तत्काल रोक्नु पर्ने माग पनि उनीहरुले गरेका छन्।