दाङ । रक्तिम सांस्कृतिक अभियान घोराही उपमहानगर समितिको आयोजनामा घोराहीको दामोदरचोकमा सडक सांस्कृतिक अभियान सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाको चैत २४ देखि ३० गतेसम्म आयोजित काठमाडौँकेन्द्रित सङ्घीयता विरोधी आन्दोलनलाई सहयोग तथा प्रचार प्रसारस्वरूप २०८१ माघ १९ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
राजमो घोराही नगर समितिका अध्यक्ष मनिराम खनालले अभियानको औचित्यमाथि प्रकाश पार्दै भूमिका बाँध्नुभएपछि कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष सेवक भट्टराईले मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा मन्तव्य राख्दै भट्टराईले राष्ट्रिय जनमोर्चाले गर्न लागेको सङ्घीयता विरुद्धको काठमाडौँकेन्द्रित आन्दोलनमा आफ्नो सङ्गठनको तर्फबाट एक्यबद्धता र सहयोग रहने बताउनुभएको थियो ।
कार्यक्रममा कलाकारहरूले गीतसङ्गीतको माध्यमबाट उपस्थित जनसमुदायलाई स्वस्थ मनोरञ्जन दिएर प्रगतिशील सांस्कृतिक जागरण प्रदान गरेका थिए ।
“झुक्दैन शिर हाम्रो” शीर्षकको जोसिलो नृत्यबाट सुरु भएको सो कार्यक्रममा “देश जान थाल्यो”, “छोड छोड विस्तारवाद”, “के हेर्छौ युवा”, “सामन्तले नौजाल बुन्छ” लगायतका गीतमा नृत्य प्रस्तुत गरिएको थियो ।
