काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनको निर्वाचन सम्पन्न भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा निकट विद्यार्थीहरू प्यानलै बनाएर चुनावमा होमिएका थिए ।
माघ १२ गते भएको निर्वाचनपछि मतगणनामा विवाद गर्दै, पुनः सुचारु गर्दै बुधबार साँझ मतपरिणाम अनुसार अध्यक्षमा ‘हेडक्वाटर समूह’ (प्रचण्ड समूह) का विजयप्रकाश सापकोटा विजयी भएका छन्।
बुधबार साँझ सम्पन्न मतगणनामा सापकोटा ६८६ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए। राई उपमहासचिव जनार्दन शर्मा निकट विद्यार्थी हुन् ।
यस्तै, अध्यक्षका अर्का उम्मेदवार उपदेश कुमार यादवले ३१० मत ल्याए भने सुदिन पौडेलले १९२ मत पाए ।
अध्यक्षमा विजयी सापकोटा र निकटतम प्रतिस्पर्धी राईबीच मतान्तर ७१ रहेको छ ।
७ भौगोलिक र २ गैरभौलिक गरी ९ प्रदेशमा व्यवस्था गरिएका मतदान केन्द्रमा गएको शनिबार (माघ १२ गते) मतदान भएको थियो।
क्रान्तिकारीको महासचिव (रोशन थापामगर) सहित अधिकांश पदाधिकारी भने जनार्दन शर्मा निकट राई प्यानलबाट निर्वाचित भएका छन् ।
अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लागेपछि पहिलो निर्वाचन भएको हो।
अध्यक्ष र महासचिवसहित ९ उपाध्यक्ष, ९ उपमहासचिव, ११ सचिव र कोषाध्यक्षको समेत परिणाम आइसकेको छ।