गोविन्दकुमार शर्मा/चन्द्रा श्रीस, काठमाडौँ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले साम्राज्यवादी चरित्रको भण्डाफोर गर्दै भन्नुभएको छ– ‘उनीहरूले हामीलाई खसी देखाउँछन् तर फर्सी दिन्छन् ।’
राजमो काठमाडौँद्वारा २०८१ माघ १६ गते बुधबार हार्दिक होटलको सभाकक्षमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘हामी रोगी भयौँ, हामी गरिब भयौँ भनेर होइन नि साम्राज्यवादीले हामीलाई सहयोग गर्ने’ उहाँले भन्नुभयो– ‘उनीहरूले हामीलाई खसी देखाउँछन् तर दिने बेलामा फर्सी दिन्छन् ।’
अध्यक्ष केसीले भर्खरै शपथग्रहण गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको सन्दर्भ जोड्दै प्रश्न गर्नुभयो– ‘युएसएडका थुप्रै योजनाका लागि छुट्याइएको रकम रोक्ने तर एमसिसी खारेज नगर्ने, यस्तो किन नि ?’
सङ्घीयता पनि विदेशी शक्तिकेन्द्रद्वारा नेपालको विकासका लागि नल्याइएको उहाँको स्पष्टोक्ति थियो ।
‘संविधानसभाको मिति घोषणा भइसकेको थियो । यति कुरा त तपाईंहामी सबैले बुझ्छौँ नि, सङ्घीयता स्वीकार गर्ने/नगर्ने—त्यो निर्णय गर्ने अधिकार संविधानसभालाई हुन्थ्यो’ उहाँले भन्नुभयो– ‘तर २०६३ सालको अन्तरिम संविधानमा नै सङ्घीयता जबर्जस्ती छिराइयो । यो हाम्रो आवश्यकताले हुँदै होइन ।’

उहाँले सङ्घीयताभन्दा अगाडि दुईओटा डरलाग्दा प्रावधान नेपाललाई स्वीकार गर्न लगाइएको स्मरण गराउनुभयो ।
‘पहिला जन्मको आधारमा नागरिकता दिने गरी नागरिकता विधेयक पारित गरियो । त्यसपछि जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र कायम गरियो । त्यससँगै सङ्घीयता नेपाल भित्राइयो’ उहाँले भन्नुभयो ।
अध्यक्ष केसीका अनुसार जन्मको आधारमा नागरिकता र जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रावधानले गर्दा सङ्घीयताले सिधै देशको राष्ट्रियतामाथि आघात पुगेको छ ।
मन्तव्यको क्रममा यतिखेर सङ्घीयताका पक्षधर सार्वजनिक बहसमा आउन नसकेको आरोप उहाँले लगाउनुभयो ।
‘हामीसित के गर्ने, सङ्घीयता हामीलाई पनि मन परेको छैन तर पार्टीले स्वीकार गरिसक्यो भन्छन् ती पार्टीका नेताहरूले’ उहाँले भन्नुभयो– ‘तर उनीहरूले हामीले झैँ जनतामाझ सङ्घीयताको विरोध गर्न नसक्नुको कारण साम्राज्यवादीलाई खुसी बनाउन हो । हामीले झैँ जनताको माझमा सङ्घीयताको विरोध गर्ने हो भने प्रभु रिसाउँछन् ।’
उहाँले सङ्घीयता विरोधी आन्दोलन सञ्चालन गर्नमा थुप्रै समस्या रहेको बताउँदै यही अप्ठ्यारो काममा देशको अस्तित्व अडिएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘सङ्घीयता विरोधी आन्दोलन चलाउन गाह्रो छ । फेरि पनि यही आन्दोलनमा देशको अस्तित्व र भविष्यसमेत लुकेको छ । त्यसैले हामी यो आन्दोलनलाई सफल बनाउन लाग्नुपर्दछ ।
चैत २४ को आन्दोलन उचाइमा पुग्छ : पुरी
अन्तरक्रियालाई सम्बोधन गर्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले आगामी चैत २४–३० गतेसम्मको काठमाडौँकेन्द्रित आन्दोलन उचाइमा पुग्ने बताउनुभयो ।

‘२०६७ सालतिरको पन्ध्र दिने काठमाडौँकेन्द्रित आन्दोलनले सङ्घीयता विरोधी आन्दोलनलाई उचाइमा उठाएको थियो’ उहाँले भन्नुभयो– ‘अहिलेको आन्दोलनले त्यसलाई अझै माथि उठाउने छ ।’
सङ्घीय प्रणाली नेपालको लागि अफापसिद्ध भइसकेको बताउँदै उहाँले यो साम्राज्यवादी एजेन्डा भएकाले त्यसका विरुद्ध आफूहरूले आन्दोलन उठाउनुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘देशभरिका सातओटा सरकारले देशलाई कङ्गाल बनाएको छ । राजनीतिक अस्थिरता कायम गरेको छ । बेथिती, भ्रष्टाचार, कुशासनको जगमा पपुलिस्टवादीको उदय भएको छ ।’
प्रवक्ता पुरीले सङ्घीयताअन्तर्गतको कुशासनले ‘भगवान्’ खोज्दै जाँदा देशमा फासिवादी शक्तिको पुनरागमन हुन सक्नेतर्फ सचेत गराउनुभयो ।
‘भगवान् खोज्दै जाँदा हिटलर, मुसोलिनी, इदी अमिनको खोजीमा जनता पुग्न सक्छन्’ उहाँको भनाइ थियो ।
उहाँले चैत २४ को आन्दोलनलाई भव्यताका साथ सफल पार्न सबैसित अपिल गर्नुभयो ।
सङ्घीयता विदेशी शक्तिकेन्द्रको : प्राडा गौतम
अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतमले सङ्घीयता विदेशी शक्तिकेन्द्रको एजेन्डा रहेको बताउनुभयो ।
‘विदेशी शक्तिकेन्द्रको स्वार्थपूर्ति गर्नका लागि नै सङ्घीयता ल्याइएको हो’ उहाँले भन्नुभयो ।

नेपालमा सङ्घीयता औचित्य नभएको बताउँदै उहाँले भन्नुभयो– ‘संसारका अरू देशमा सङ्घीयता देशका जनतामाझ एकताका लागि ल्याइन्छ तर हाम्रो देशमा पहिलेदेखि नै मिलेर बसेका जनतालाई फुटाउनका लागि ल्याइएको हो ।’
सङ्घीयताले देशलाई राष्ट्रिय विखण्डनतर्फ लैजाने बताउँदै उहाँले सङ्घीयताको पक्षमा तथ्यप्रतिको विषयान्तरको भण्डाफोर गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले विश्वास व्यक्त गर्नुभयो– ‘राष्ट्रिय जनमोर्चाको सङ्घीयता विरोधी अभियानबाट जनता ब्युँझिने छन् ।’
सङ्घीयताले राष्ट्रिमाथि प्रहार गर्छ : रोका
अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाले सङ्घीयताले राष्ट्रियतामाथि प्रहार गर्ने धारणा राख्नुभयो ।
‘सङ्घीयताले सबैभन्दा बढी राष्ट्रियतामाथि प्रहार गर्छ’ उहाँले भन्नुभयो– ‘हामीले देखेका छौँ, नेपालमा सङ्घीयता आएपछि राष्ट्रियतासम्बन्धी भावना शिथिल हुन थालेको छ ।’

आफू संलग्न कानुन व्यवसायीको क्षेत्रको उदाहरण दिँदै उहाँले हिँजो सङ्घीयता नहुँदा जुन खालको राष्ट्रिय एकताको भावना बलियो थियो, त्यो आज नरहेको बताउनुभयो ।
‘मलाई कहिलेकाहीँ दिक्क लाग्छ, कोशी प्रदेश र मधेस प्रदेशका कैयौँ अधिवक्ताहरू, त्यसमध्ये कतिपय न्यायाधीश भएर सेवानिवृत्त पनि हुनुभयो, ले २०७२ सालको नाकाबन्दी ठिक छ भनेर वकालत गर्दथे’ उहाँले भन्नुभयो ।
देश विषम परिस्थितिमा रहेको चर्चा गर्दै अधिवक्ता रोकाले अगाडि भन्नुभयो– ‘देशका बहुसङ्ख्यक जनता सङ्घीयताको विरोधमा छन् तर देशमा त्यही व्यवस्था सञ्चालन भइरहेको छ ।’
उहाँले यस्तो अन्तरविरोधपूर्ण अवस्थालाई अन्त गर्न सङ्घीयतालाई खारेज गर्नुपर्ने बताउनुभयो ।
सङ्घीयताको एउटै फाइदा, नेताले रोजगारी पाउनु : श्रेष्ठ
जलस्रोतविद् रत्नसंसार श्रेष्ठले सङ्घीयताप्रति व्यङ्ग्य गर्दै भन्नुभयो– ‘सङ्घीयताको एउटै फाइदा छ, सत्तारूढ दलका धेरै नेताले पद वा रोजगारी पाएका छन्, कसैले केन्द्रमा त कसैले प्रदेशमा । सङ्घीयता उनीहरूका लागि भर्तीकेन्द्र बनेको छ ।’
उहाँले सङ्घीयताले भ्रष्टाचारलाई पनि विकेन्द्रीकृत गरेको बताउनुभयो ।

‘सङ्घीयताबाट भ्रष्टाचारको पनि विकेन्द्रीकरण भएको छ । हिँजो सिंहदरबारमा बढी भ्रष्टाचार हुन्थ्यो, आज त्यो प्रदेश हुँदै पालिका, वडा तहमा पुगेको छ ।’
सङ्घीयताले भौतिक विकास निर्माण अथवा पूर्वाधार विकासमा प्रतिकूल असर परेको बताउनुभयो ।
‘मलाई राजावादी नभन्नुहोला । म गणतन्त्रको पक्षमा छु, म निरङ्कुशता चाहान्न’ आफ्नो विचार प्रष्ट रूपमा राख्दै उहाँले भन्नुभयो– ‘तर पञ्चायत कालमा ६७ प्रतिशत पुँजीगत खर्च हुने गरेकोमा अहिले त्यो घटेर १७ प्रतिशत पुगेको छ ।’
उहाँले गणतान्त्रिक व्यवस्थाका नेता तथा कर्मचारीमा देशभक्ति वा राष्ट्रभक्ति भावना खस्कनु विडम्बनाको विषय बनेको बताउनुभयो ।
उहाँले चिन्ता व्यक्त गर्दै भन्नुभयो– ‘प्रदेशले पनि सन्धिसम्झौता गर्न पाउने अधिकार खोजिरहेका छन् । यदि यस्तो अधिकार दिइयो भने जलस्रोतसँगै देशै नरहने हो कि ?’
नेकपा (मसाल) ३ नम्बर प्रदेश प्रवक्ता समीर सिंहको अध्यक्षतामा अघि बढेको सो कार्यक्रमको पूर्वार्द्धमा राजमो अध्यक्ष केसीले अवधारणापत्र वाचन गर्नुभएको थियो ।

राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष लालबहादुर थापाको स्वागत मन्तव्य तथा राजमो काठमाडौँका सचिव छवि खनालको अध्यक्षतासँगै सो कार्यक्रम अघि बढेको थियो ।

कार्यक्रममा राजमो उपाध्यक्ष तथा प्र्रवक्ता दुर्गा पौडेल, राजमो केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, राजमो केन्द्रीय सचिव घनश्याम न्यौपाने, केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, केन्द्रीय सदस्यहरू सुधा शर्मा र लक्ष्मी केसी, राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा र नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीको आतिथ्य रहेको थियो ।
