२०२६ सालमा म भद्रगोल जेलमा थिए । त्यो बेला माघ १६ गते अर्थात सहिद दिवसका दिन “सहिदप्रति” शिर्षकले मैले तलको कविता लेखेको थिएँ,
राम्रै भयो,
तिमी मरेर गयौ,
नत्र आज तिम्रो ज्यूँदो लासले
भूगोल पार्कको परिक्रमा गरिरहेको हुन्थ्यो कि ?
त्यो बेला सहिदहरूप्रति सम्मान प्रकट गर्नको लागि भूगोल पार्कमा परिक्रमा गरिन्थ्यो । त्यस प्रकारको परिक्रमा गर्नेहरूमा टंक प्रसाद सहित उनीसित सँगै जेलमा थुनिएका अन्य नेताहरू पनि हुन्थे । टंक प्रसाद प्रजा परिषदका शिर्षष्थ नेता थिए । उनको नेतृत्वमा नै प्रजा परिषदले निरंकुश शासनका विरुद्ध र प्रजातन्त्र ल्याउनका लागि संघर्ष गरेको थियो र त्यो क्रममा गंगालाल, सुक्रराज, धर्मभक्त र दशरथ चन्द शहीद भएका थिए ।
तर त्यस प्रकारको वलिदानको गौरवपूर्ण इतिहास भएको टंक प्रसाद सहित कतिपय नेताहरूले निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थालाई समर्थन गरेर त्यो व्यवस्था अन्तर्गत प्रधानमन्त्री वा मन्त्रीहरू बनेका थिए । त्यो कविताले उनीहरूलाई नै जिउँदो लास बताएको थियो । त्यो कविताले यो प्रश्न उठाएको थियो : यदि गंगालालहरू पनि सहिद नबनेको भए के उनीहरू पनि त्यस्तै जिउदो लास बनेका हुन्थे । तर त्यस्तो हुन पाएन, किनभने उनीहरू ‘मरेर’ गएका थिए । उनीहरूको मृत्युले नै उनीहरूलाई जउँदो लास हुनुबाट बचाएको त थिएन । त्यसरी उनीहरू सहिद हुनु उनीहरूका लागि ठूलो शौभाग्य त भएको थिएन ?
त्यो बेला जेलमा का. निर्मल लामा र म सँगै थियौँ । मैले टंक प्रसादबारे त्यस प्रकारको अभिव्यक्ति दिएकोमा उहाँले मतभेद प्रकट गर्नु भएको थियो । कतिपय विदेशी लेखकले टंक प्रसादलाई ‘जिवित सहिद’ को रुपमा उल्लेख गरेका छन् । अहिले देशको राजनीतिक जगतमा पनि उनीप्रति उच्च सम्मान प्रकट गर्ने गरिन्छ । तर जुन व्यक्तिले प्रजा परिषद वा शहीदहरूको महान वलिदानलाई निरंकुश राजतन्त्रसित सौदावाजी गरेर प्रधानमन्त्री बनेका थिए, के उनलाई त्यस प्रकारको सम्मान दिनु सहि हुन्छ ? त्यसको विपरित, टंक प्रसाद जस्ता व्यक्तिहरूलाई मेरो कवितामा जिउँदो लास बताईएको थियो ।
जस्ले प्रजा परिषद र शहीदहरूको महान वलिदानको सौदावाजी गरेर प्रधानमन्त्री वा मन्त्रीहरू बन्ने कामहरू गरेका थिए । त्यो पतनको पराकाष्ट थियो । त्यसैले मेरो कवितामा उनीहरूलाई जिउँदो लास बताइएको थियो । निश्चय नै, मेरो त्यो विचारसित लामा जी सहमत हुनु हुँदैनथ्यो ।
“सहिदप्रति” कवितामा जुन कुराको उल्लेख गरिएको छ, त्यो कुरा टंक प्रसाद र प्रजा परिषदका नेताहरू सम्म नै टुंगिन्न । त्यसपछि पनि देशमा निरंकुश शासनका विरुद्धको संघर्ष प्रजातन्त्र वा क्रान्तिका लागि धेरै नै क्रान्तिकारीहरू सहिद हुने गरेका छन । तर जुन पार्टी वा संगठनका कार्यक्रताहरू ठूलो संख्यामा सहिद भएर गए, के उनीहरूका नेताहरूले एक वा अर्काे प्रकारले टंक प्रसाद वा प्रजा परिषदका नेताहरू जस्तै आफ्नो पार्टीका सहिदहरूको वलिदानको सौदावाजी गरेर विभिन्न पद वा व्यक्तिगत स्वार्थरु पुरा गर्ने प्रयत्न त गरिरहेका छैनन् । त्यसरी के उनीहरू जिउँदा लास त बन्ने गरिरहेका छैनन् ? वर्तमान परिपेक्षमा पनि त्यो प्रश्न नउठाइरहन सकिन्न ।
तर जसरी आफ्ना सहिद साथिहरूप्रति निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्थाका अगाडि आत्मसमर्पण गरेर प्रधानमन्त्री वा मन्त्री बनेका टंक प्रसाद वा उनका अन्य सहयोगीहरूप्रति आज पनि ठूलो सम्मान प्रकट गरिन्छ, त्यही प्रकारले ठूलो संख्यामा सहिद भएका आफ्ना साथीहरूको बलमा सत्तामा पुगेका विभिन्न नेताहरूप्रति पनि आज समाजमा सम्मान प्रकट गरिन्छ भने त्यो आश्चर्यको कुरा हुने छैन । हामीले त्यसलाई सायद इतिहासको बिडम्वना नै सम्झन पर्नेछ ।