गोपालप्रसाद भट्टराई, सन्धिखर्क ।
राष्ट्रिय जनमोर्चा ढाकाबाङका ज्येष्ठ सदस्य कृष्णा खनालको निधन भएको सातौँ दिन उहाँकै निवासमा शोकसभा गरी कृष्णा खनाललाई श्रद्धाञ्जली दिइएको छ ।
राजमो भूमिकास्थान नगर समितिको आयोजनामा २०८१ माघ १२ गते शनिबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर बिसी, राजमो केन्द्रीय सदस्यद्वय झबिलाल थापा र सागर केसी, राजमो भूमिकास्थान नगर समितिका अध्यक्ष हिमलाल बन्जाडेले शोकमन्तव्य राख्नुभएको थियो ।
शोकमन्तव्यको क्रममा उहाँहरूले स्मृतिशेष खनालको भौतिक शरीर नरहे पनि उहाँले बोकेको विचार र उहाँको जीवनबाट पाएका प्रेरणा सधैँ जीवित रहने उहाँहरूले बताउनुभएको थियो ।
कार्यक्रममा राजमो अर्घाखाँचीका उपाध्यक्ष गोपाल पौडेल, अखिल नेपाल शिक्षक सङ्घका कोषाध्यक्ष टेकबहादुर थापा, भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थीलगायतले खनाललाई श्रद्धान्जली दिनुभएको थियो ।
खनालकी जेठो छोरा रामप्रसाद खनालको अध्यक्षता तथा मेघराज खनालको सञ्चालनमा शोकसभा सम्पन्न भएको हो ।
स्मृतिशेष खनालको गत माघ ६ गते ७० वर्षको उमेरमा निधन भएको थियो ।
उहाँको परिवारमा पति तोयनारायण खनाल र छोराहरू रामप्रसाद, खिमप्रसाद र भोजराज खनाल हुनुहुन्छ ।