लक्ष्मणदेव पाण्डे
धन्य हो कोरोना मानवलाई सचेत गराएकोमा
विश्वभर भेदभाव नगरी सबै देश डुलेकोमा
ठुलो, सानो नभनी सबै देशमा पुगेकोमा
मानवीय उन्मादलाई रोक भनी सन्देश दिएकोमा
हुनत कोरोना तँ सिपालु चोर नै होस्
कहाँ कतिबेला पुग्छस् ठेगान नभएकै होस्
कहीँ जहाज चढेर, कहीँ गाडी चढेर जान्छस्
कहीँ पैदलै पुग्छस्, केही भर नभएकै छस्
समाजमा धनी गरीबको दूरी टाढिँदै थियो
ठुलाले सानालाई हेप्ने, नगन्ने भएकै थियो
अनावश्यक कुरामा होड ,आडम्बर बढाउनेहरु
समाजमा ढोंगी धन्दा गरी छाती फुलाउनेहरु
धर्मका नाममा घ्यु, खाद्यान्न स्वाहा पार्नेहरु
मन्दिर, चर्च र मस्जिद बनाउन होड गर्नेहरु
अब त आँखा खुले ? ढोगी आडम्बरले नहुँदोरैछ
धर्मका नामका भवनको विपदमा के काम हुँदोरैछ
विश्वमा साम्राज्य कायम गर्ने अहंकारी देशहरु
विकासको नाममा आणविक वस्तु उत्पादन गर्नेहरु
के काम दियो महामारीमा तिम्रा ति अहंकारहरुले ?
मानवजातीलाई के आवश्यक हुँदोरैछ जान तिमीले
तर कोरोना तेरो चालबाजी मानवले बुझिरहेछ
बैज्ञानिक, डाक्टरले तँलाई मार्ने गोली बनाईरहेछ
आज बलियो देखिएको कोरोना एक गोलीले ढल्नेछ
विश्वव्यापी कोरोनालाई मानवजातीले पक्कै जित्नेछ
त्यसैले धन्य हो कोरोना हाम्रा आँखा खुलाएकोमा
मानवले के गर्ने भनी बाटो हामीलाई देखाएकोमा
मानव, मानव समान भनी खबरदारी गरेकोमा
प्रकृति दोहन गर्ने मानव सचेत बन भनेकोमा ।