काठमाडौं । धोविखोला करिडोरमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले धोविखोला करिडोरमा बनेका सरकारी जग्गाका संरचना भत्काउन सुरु गरेको हो ।
प्राधिकरणले काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन भत्काउन सुरु गरेको हो ।
आइतबार वडा अध्यक्ष विमल होडासहितको टोलीले पत्रकार सम्मेलन गरेर अतिक्रमित संरचना हटाउने बताएका थिए । लगत्तै डोजरले धोविखोला करिडोरका संरचना भत्काउन थालेको थियो ।
मापदण्ड विपरीतको संरचना, सार्वजनिक जग्गामा बनेका संरचना हटाउने कार्य अनुसार आजबाट काम थालिएको उपत्यका विकास प्राधिकरणले बताएको छ ।
आइतबार चाबहिलस्थित मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा केहीबेर स्थानीयले अवरोध गरेका थिए। त्यहाँ रहेका विभिन्न कारखानका मजदुरहरूले डोजर पुगेपछि अवरोध गरेका हुन् ।
महानगरको वडा नम्बर ७ मा मात्रै करिब १४ रोपनी जग्गा अतिक्रमण भएको प्राधिकरणको भनाई छ ।