काठमाडौं । नेपाली सेनाले बनाइरहेको काठमाडौँ– तराईरमधेश द्रुतमार्गको काम तीब्र गतिमा अघि बढिरहेको छ ।
विभिन्न १३ वटा प्याकेज रहेको द्रुतमार्ग सडक आयोजनाको हाल निर्माणाधीन १२ वटा प्याकेजहरू अन्तर्गत रहेका ७ वटा सुरुङ मध्ये धेद्रे तथा लेनडाँडामा रहेका २ वटा सुरुङहरू छिचोलिई सकिएको छ।
लेनडाँडा तथा धेद्रेमा निर्माणाधीन सुरुङ मार्गसँगै ठूलठुला पुल तयार हुन थालेका छन्।
महादेवटारस्थित सुरुङ मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भइसकेको नेपाली सेनाले जानकारी दिएको छ। चन्द्रामभिरस्थित सुरुङको निर्माण कार्य सुरु भएको छ। अन्य ३ वटा सुरुङहरूको डिजाइन तथा पूर्व तयारीको कार्य भइरहेको सेनाको भनाई छ।
उक्त आयोजनामा निर्माण गर्नु पर्ने ८९ वटा पुलहरू मध्ये ८० वटा पुलहरूको निर्माण कार्य भइरहेको छ। बाँकी ५ वटा पुलको निर्माण कार्य सम्पन्न भई सकेको छ।
द्रुतमार्ग सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ३७।६० प्रतिशत र वित्तीय प्रगति ३९.५६ प्रतिशत रहेको सेनाको दाबी छ।



