काठमाडौँ । सत्तारुढ नेकपा एमालेका सचिव लेखराज भट्टले एमालेमा पूर्वमाओवादीहरूलाई हेपिएको गुनासो गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई नबुझेको तर, ओलीलाई आफूहरूले बुझेको बताएका छन् ।
हालै सामाजिक सञ्जालमार्फत बाहिरिएको एउटा भिडिओमा भट्टले अहिले केपी ओलीसँग लड्ने स्थिति पनि नरहेको बताएका छन्।
‘इन्चार्जको रूपमा रिभोल्ट गरेको छु तर नेतृत्वले गम्भीरतापूर्वक लिएन त्यसलाई,’ उनले एउटा सामूहिक जमघटमा भनेका छन्, ‘यो समस्या नेतृत्वमा छ। मचाहिँ के हो त भन्दा म प्रचण्डसँग जुधेको जस्तो अहिले केपीसँग जुध्न सक्दिनँ।’
एमाले नेताहरूमा अहंकार भरिएको भन्दै भट्टले अगाडि भनेका छन्, ‘किनभने त्यहाँ लडेर आइया छ। यहाँ केपी भनिएको छ। भोलि नेतृत्वले त्यसलाई नेगेटिभ… हाम्रो (एमालेमा) त म भन्ने छ नि त, अहंकार नेताहरूमा।’
२ मिनेट ६ सेकेन्ड लामो भिडिओमा उनले आफूहरूकै अगाडि एमाले अध्यक्ष ओलीले जनयुद्धको अपमान गर्ने गरेको गुनासोसमेत पोखेका छन्। जनयुद्धलाई आफूले गर्व गर्ने भन्दै केपी ओलीले पनि त्यसकै कारण यसरी बोल्न पाएको समेत टिप्पणी गरेका छन्।
‘कहिले अध्यक्ष, हामी मञ्चमा हुन्छौँ, आतंककारी भनिदिनुहुन्छ,’ उनले भनेका छन्, ‘अपराधी, हत्यारा भनिदिनुहुन्छ।’
उनले भनेका छन् :
इन्चार्जको रूपमा रिभोल्ट गरेको छ। तर नेतृत्वले गम्भीरतापूर्वक लिएन त्यसलाई… यो समस्या नेतृत्वमा छ। मचाहिँ के हो त भन्दा म प्रचण्डसँग जुधेको जस्तो अहिले केपीसँग जुध्न सक्दिनँ। किनभने त्यहाँ लडेर आइया छ। यहाँ केपी भनिएको छ। भोलि नेतृत्वले त्यसलाई नेगेटिभ… हाम्रो (एमालेमा) त म भन्ने छ नि त, अहंकार नेताहरूमा।
मार्क्सिज्म भन्छ नि, मबाहेक अरू छैन। अब मेरो के हुन्छरु या त मैले अन्य पार्टी खोल्नुपर्छ। या त अरू पार्टीमा जानुपर्छ। या त मैले सन्यास लिनुपर्छ। सिधै अहिले नै केपीसँग जुध्ने हो भने त समस्या त आइहाल्छ। अहिले बेलै भएको छैन।
भर्खर हामी आएका हौँ, उहाँले हामीलाई बुझ्नुभएको छैन। तर हामीले त बुझिसक्यौं केपीलाई। उहाँले हामीलाई बुझ्नुभएको छैन। अहिले टोपबहादुर भित्र जानुभयो। जिम्मेवार मान्छेले लेख्या लेख्यै छन्– माओवादीमा थुप्रै अपराध गरेर यहाँ बस्न आएको।
(अर्का व्यक्तिले पृष्ठभूमिमा भन्छन् : शेरबहादुर तामाङ बोलेका छन्)
कहिले अध्यक्ष, हामी मञ्चमा हुन्छौं, आतंककारी भनिदिनुहुन्छ हामीलाई। अपराधी, हत्यारा भनिदिनुहुन्छ। तर हामी अहिले पनि गर्व गर्छौं क्या। जनयुद्ध नभएको भए आज केपी शर्मा ओलीले पनि त्यसरी बोल्न सक्नुहुन्थेन। त्यो पाउनुहुन्थेन।