मेघराज भट्टराई ##
देश इतिहासकै अत्यन्त जटिल मोडमा पुगेको छ । साम्राज्यवादी शक्तिको हतियार विक्रीकेन्द्र बनेका अरब देशहरू अब युद्ध थेग्न सक्ने अवस्थाबाट बाहिर हुने स्थिति छ । विश्व साम्राज्यवादी तथा दलाल पुँजीवादी अर्थ व्यवस्थाको उपज हामी अब युद्धको नजिक पुगेको सङ्केत देखिएको छ ।
एउटा परिभाषाअनुसार धर्म भनेको सेवा सत्कर्म हो तर यसको आडमा धन्दा चलेका छन् । व्यापार भएको छ । धार्मिक द्वन्द्व सबैभन्दा खतरनाक द्वन्द्व हो । सात हजार वर्षपहिलेको रामायणकालमा भएको युद्ध होस् या पाँच हजार वर्षपहिलेको महाभारतकालमा भएको युद्धको विनाश या हिन्दु–मुस्लिम, मुस्लिम–इसाईबिचको युद्धको विनाश, यहुदी–इसाई, मुस्लिम–इसाईबिचको युद्धकै विनाशको इतिहास हेरौँ, निकै कारुणिक छन् । आधुनिक युगकै कुरा गरौँ । भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का आदि देशभित्रको या अहिले चलिरहेको प्यालेस्टाइन र इजराइलको युद्धको कुरा—यी सब धार्मिक प्रकारान्तरले लडाइँ जस्तै छन् ।
बङ्लादेशमा हिन्दु–मुस्लिमबिचमा दशैँको दुर्गापूजालाई लिएर भड्किएको लडाइँमा लाखौँ हिन्दु काटिएका छन् । डिसेम्बर ६, १९९० मा हिन्दु अतिवादी लालकृष्ण आडवाणीले निकालेको यात्रामा र यही यात्राको अन्त्यतिर अयोध्या उत्तर प्रदेशको बाबरी मस्जिद भत्काउन दिएको आदेशको विरुद्ध सिङ्गो भारत प्रभावित भएको थियो । सन् १९८४ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको उनकै अङ्गरक्षकले गोली हानी गरेको हत्याको विरुद्ध भड्किएको लडाइँमा लाखौँ सिख सरदारको ठुलो क्षति भएको म स्वयम्ले देखेको थिएँ । गुजरातको गोधरामा भएको नरसंहारको घटना ताजै छ, जहाँ गर्भवती महिलालाई बिच सडकमा ढालेर उसको पेट चिरेर बच्चा निकालेर त्यो बच्चाको हत्या गरेर आमाको पनि हत्या गरियो । योभन्दा कहालीलाग्दो दृश्य के होला ? भारतकै जम्मू कस्मिरमा मुस्लिम कट्टरपन्थीले कस्मिरी पण्डितका छोरीचेलीमाथि गरेका अत्याचार युवामाथिको दमन या भारत–पास्किस्तान छुट्टिने बेला भएको हिन्दुमुस्लिमबिचको युद्धले कति निर्दोष मरे ? कति भयानक स्थिति उत्पन्न भएको थियो ? हामीले अध्ययन गर्नुपर्छ । आज पनि बहुमत मुस्लिमका कारणले पास्किस्तान, अफगानिस्तानका अल्पसङ्ख्यक हिन्दु धर्मावलम्बीको कति कारुणिक अवस्था छ ? त्यसको प्रत्यक्ष अनुभव छ मलाई ।
अफगानिस्तानमा सन् १९९० ताका र त्यसपछि मुस्लिम कट्टरपन्थीद्वारा गरिएको अल्पसङ्ख्यक हजारा समुदाय (एक प्रकारको जनजाति समुदाय) माथि भएको पाशविक यातनाका इतिहास लेख्ने हो भने ठुला ठुला किताबमा अटाउन्नन् । युवतीका वक्ष काटेर विरयानी पकाएर भोज गराउने, टाउकोमा छ इन्चको काँटी ठोकेर मार्ने, बलात्कार गर्ने जस्ता घटना भएका थिए त्यहाँ । आज पनि मङ्गोलियन अनुहार भएका हजारा समुदायको जनजीवन सुरक्षित छैन ।
यिनको इतिहास हेर्दा हिजोका बौद्धमार्गी उदार खालका मङ्गोलियन अनुहार भएका महिलापुरुषको समानतालाई स्वीकार गर्ने मिहिनेती, इमानदार र बलिया हुन्छन् । यिनीहरू पनि मुस्लिम धर्मावलम्बी नै हुन् तर पनि सिया र सुन्नीबिचको धार्मिक लडाइँमा उनीहरू पिसिएका छन् । आज पनि तालिवानी कट्टरपन्थीको दबाबमा बाच्नुपरेको छ उनीहरूलाई । यही कारण हजारा देश छोडेर शरणार्थी बनी विदेश पलायन भएका छन् । उत्तरी अफगानिस्तानको बामियान प्रान्त तस्कान माजर ए सरिफ काबुल या उज्बेकिस्तान, ताजिकिस्ताननजिकका सिमानामा बस्ने यो जाति पीडित छ ।
त्यस्तै यहाँका मुस्लिम कट्टरपन्थीबाट हिन्दु र सिख नागरिकमाथि ठुलो दमन भएपछि कोही पास्किस्तान, कोही भारततिर शरणार्थी बनेर बसेका छन् । यहाँका ठुला ठुला व्यापारी हिन्दु या सरदार सिख अब मुस्किलले सयको सङ्ख्यामा बसेका छन् । रामप्रकाश फोटो स्टुडियोका मालिक काबुलमा बाजेले खोलेको पसल अब चलाउन नसकिने अवस्था आयो भन्नुहुन्थ्यो । हामी धेरैपटक त्यो स्टुडियोमा फोटो खिचाउन गएका थियौँ ।
धर्म यस्तो चिज हो, यहाँ मान्छेको भावना जोडिएको हुन्छ । यसलाई भड्काउने काम कोही कसैले पनि गर्नु निकै खतरनाक हुन्छ । इतिहासमा मिस्रबाट आएका मुगल शासकले तक्षशिला विश्वविद्यालयमा आगो लगाउँदा वर्षौं आगो निभेको थिएन भनेर इतिहासविदले भनेको सुनेको थिएँ ।
श्रीलङ्कामा सिंहाली र तमिलबिचको लडाइँ १९ वर्षसम्म चलेको थियो । यो लडाइँमा कति क्षति भयो ? यकिन आज पनि कसैले भन्न सक्ने अवस्था छैन । निर्दोष मानिस देश छोडेर भागे, कति अङ्गभङ्ग भए, कति मरे ? तथ्याङ्क कसैसँग छैन । म सन् २०१२ को अगस्त महिनामा त्यहाँ पुगेको थिएँ । त्यो लडाइँको बारेमा कोही बोल्न चाहेको देखिनँ । सेप्टेम्बरको महिनामा त्यहाँ नाच हुँदो रहेछ । मेरो जीवनमा यस्तो अदभूत दृश्य आजसम्म देख्ने अवसर पाएको थिइनँ र छैन पनि । युद्धले मानिसलाई पाठ सिकाउँछ भन्ने कुरा मैले त्यो ठाउँमा देखे । यदाकदा मुस्लिम धर्मावलम्बीहरू आज पनि लडेको समाचारमा आएको थियो, नत्र आज आर्थिक टाटपल्टाइको बाबजुद श्रीलङ्का धार्मिक एकतामा उदाहरणीय बनेको छ । यी सबैबाट हाम्रो देशले त्यहाँका नागरिकले शिक्षा लिनुपर्ने होइन र ?
इराकमा १२ जना नेपालीलाई घाटी रेटी हत्या गरेपछि यहाँका आइएनजिओका सञ्चालकको पैसामा बिकेका केही अतिवादीले नियोजित रूपमा काठमाडौँका मस्जिदमा तोडफोडसम्म गरे तर पनि यो देशमा अहिलेसम्म नरसंहारको रूपमा रक्तपात भएको छैन । केही महिनाअघि धरानमा गर्न खोजिएको साम्प्रदायिक द्वन्द्व नेपाली र सरकारको सुझबुझमा रोकियो । यसका लागि सरकार, प्रशासन र प्रहरीलाई धन्यवाद भन्नैपर्छ । यस्तै घटना दशैँको समयमा नेपालगञ्जमा हुन खोजेको थियो । त्यहाँ हिन्दु–मुस्लिम द्वन्द्वको स्थिति आएपछि प्रहरी–प्रशासनले नसकेपछि सेना परिचालन गरेपछि शान्ति कायम भएको थियो । यस्तै घटनामा मोरङ, सिराहा, सप्तरीमा पनि सेना परिचालन गर्नुपरेको थियो । भनेपछि हामी नेपालीले संयमित भएर लेख्ने, बोल्ने गरेनौँ भने यहाँ जे पनि हुन सक्ने स्थिति छ ।
फोहोर सालतिर नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीको भाषणले देशमा धार्मिक द्वन्द्वको नजिक भएको आभाष दिएको थियो । केही वर्षपहिले प्रचण्डले क्रिस्चियनको सभामा गएर दिएको भाषण निकै खतरनाक थियो । फेरि केन्द्रीय नेताको अभिव्यक्ति आएको थियो, जसमा भनिएको थियो– क्रिस्चियनको सङ्ख्या विश्वमा ३५ प्रतिशत छ । यसलाई नमान्ने मान्छेलाई हथकडी लगाई जेल हाल्नुपर्छ । माओवादी द्वन्द्वकालमा किरियापुत्री काट्ने, जनै चुडाल्ने, मन्दिरमा गाईको आन्द्रा बाँध्ने काम गरिन्थ्यो । कम्युनिस्ट हुन वा क्रिस्यिचन हुनका लागि थियो त्यो ? होइन, कम्युनिस्ट हुनु भनेको क्रिस्चियन हुन होइन, न त कुनै धर्मलाई वा धार्मिक शोषणलाई मलजल गर्नु नै हो । त्यसैले नेपाल एउटा बहुधर्म, बहुभाषा, बहुसंस्कृति भएको मुलुक हो । हाम्रो संविधानले धर्मनिरपेक्षतालाई स्वीकार गरेको छ । कुनै धर्मको पक्ष लिएर अन्य धर्मप्रति विद्वेष फैलाउनु सामाजिक सद्भाव बिथोल्नु हो ।
मन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले साम्प्रदायिक सद्भाव बिथोल्ने गरी दिएको अभिव्यक्ति न संविधानसम्मत थियो, न मुलुकको सामाजिक सद्भावलाई अक्षुण्ण राख्ने खालको । त्यसैले जिम्मेवार पदमा भएका व्यक्तिले यस प्रकारका अभिव्यक्ति दिएर विखण्डनको उद्देश्य पूरा गर्न चाहने शक्तिलाई बल नपुर्याउन जोड दिनुपर्नेमा देश नै विखण्डन गराउने खालको अभिव्यक्तिको घोर विरोध गर्नुपर्दछ ।
धरानको घटनापछि हिन्दु अतिवादीले देशव्यापी प्रदर्शन गरे । राज्यलाई सम्हाल्न हम्मेहम्मे भएको थियो । अब यस्तो भएमा भोलि जे पनि हुन सक्छ । धर्म भनेको भावना हो । यो मान्छेको हठ पनि हो । केही कुरा सुन्न, बुझ्न, जान्न प्रश्न गर्न नै नमिल्ने बनाउने विषय हो धर्म भनेको ।
धर्मभित्र शोषण छ । यहाँ यौनिक हिंसा छ । काटमार छ । जातीय विभेद छ । छुवाछुत छ । प्रगतिको बाधक हो धर्म । धर्मको विषयमा प्रश्न नै गर्न नपाइने बनाइएको छ । प्रश्न नगरे खोज हुँदैन । खोज नभए सत्य तथ्य भेटिँदैन । त्यहाँ अन्धविश्वास मात्र रहेछ । त्यहाँ लुट र झुट मात्र हुन्छ ।
भारतको हरियाणाअन्तर्गत पानीपत भन्ने ठाउँमा सन् १९९३ सालमा कामको सिलसिलामा इन्डियन आयल निगमको पेट्रोलियम पदार्थको प्रशोधनको योजनामा काम गर्दाको अनुभव यहाँ राख्न चाहान्छु ।
पानीपतमा सिङ्ग्ला होटेलमा हाम्रो खाने बस्ने ठाउँ थियो । पुसको जाडो महिना, त्यहीमाथि पानी परेको अवस्था । खुल्ला चौरमा ठुलो जमघट थियो, होटलको पछाडि पार्कमा । एक लाख मान्छे सात दिनसम्म चिसोमा बसेर भजनकीर्तन गरेका छन् । कति बिरामी छन् । अशक्त महिला–पुरुष बसेका छन् । जयजयकार गरेका छन् । जसले प्रवचन दिएको छ, उसको नाम नारायणदत्त श्रीमाली । ऊ हिटर बालेर आसनमा बसेको छ । अन्न खाँदैन । काजु, बादाम, फलफूल मात्र खान्छ । दुध खान्छ । मुस्टन्डा छ । उसको पैतालाको धुलो निधारमा लगाउँछन भक्तहरू ।
आयल निगमको उपप्रमुख श्यामलाल मार्वाह हुनुहुन्थ्यो । उहाँले मलाई बोलाएर भन्नुभयो– हेर त मेघराज यी मूर्खलाई । हामीले यिनको सहजताको लागि १८ घण्टा काम गरेका छौँ । यिनीहरूको यो छ हाल । ठगको पछि जयजयकार गरेका छन् । यो अन्धविश्वासको जालो च्यात्न धेरै कठिन छ ।
अफगानिस्तान काम गर्दा एक जना इन्जिनियरले टेलिस्कोप ल्याएर चन्द्रग्रहण निरीक्षण गर्दै थिए । मलाई बोलाए– मेघराज आइज हेर । म गएँ । हामी त चन्द्र, सूर्य, पृथ्वी, आकाशपानी पुज्ने, चन्द्रमा हातले छोप्न खोजे केको भेटनु ? लाज लाग्यो । अनि मुस्लिमहरूले चन्द्रमाको पूजा गर्ने, ब्रत बस्ने महिनादिन । उसलाई बोलाएर उसले भन्यो– हेर तेरो भगवान्लाई । उसको सातो गयो । हामीले सम्पूर्ण प्राकृतिक चिजको पूजा गर्नुको कारण हो डर । भगवानको पूजा गर्नुको पछाडिको कारण हो डर । हामीले गरेका अमानवीय क्रियाकलापको डर पाप कटाउने, स्वर्ग जाने, नर्कमा परिने हो कि भन्ने डर । यही डरलाई हतियार बनाएर विभिन्न धार्मिक आवरणमा हामी लुटिएका छौँ, अरू केही होइन । यो डरको निराकरण विज्ञानले गर्ने छ । समयअनुसार हरेक चिज परिवर्तनशील छ । त्यसैले सम्पूर्ण मानव समुदायको सम्मान उनको भावनाको कदर गरौँ । सामाजिक सद्भाव कायम गरौँ ।