प्रगति ढकाल, काठमाडौँ ।
२०८१ पुस २३ गते मङ्गलबार बिहानकै भूकम्पले काठमाडौँ सेरोफेरोका अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्याउँदै सडक र गल्लीमा जम्मा भए । कलेजको बिहानी कक्षामा अध्ययरत् विद्यार्थीमा भागाभाग भयो ।
भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो, जसका कारण मङ्गलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो । बिहान ६ः५० बजे चीनको सिजाङ प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प नेपालका कोसी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
मङ्गलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो । गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौँ उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए भने अर्बौं रकम बराबरको भौतिक क्षति भएको थियो ।
भूकम्पको धक्काले अताल्लिएका काठमाडौँ नागार्जुन–१० का रिकेश थापाले घरको छतबाट हाम फाले । हाम फाल्दा घाइते भएका उहाँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्समा उपचार गरिएको नेपाल प्रहरीले जनाएको छ ।
भूकम्पपछि बाराको कलैया उपमहानगरपालिका वडा नं. १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएको प्रहरीले जनाएको छ ।
ललितपुरस्थित पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा वासुदेव कार्की विगतको शक्तिशाली भूकम्पको असर मनमा अझै रहेकाले मानिसको आत्मविश्वासमा कमी आएको र सामान्य भूकम्प महसुस गर्दा पनि बढी आत्तिने र संयमता अपनाउन नसक्ने बताउनुहुन्छ ।
‘धेरै मानिसमा अझै पनि २०७२ सालमा गोरखा भूकम्पको अनुभव बाँकी छ । एक वर्षअघि जाजरकोटको भूकम्पको डर पनि छ । यी दुई ठुला भूकम्पले मानिसको मनोबल कमजोर बनाएको छ’ उहाँले भन्नुभयो– ‘२०७२ सालको भूकम्पका कारण धेरैलाई मानसिक समस्या देखा पर्यो । यस्ता बिपत्बाट मानसिक रोग देखा पर्छ । बिपत्ले निम्त्याएका तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा ख्याल गर्नुपर्छ ।’
भूकम्पलगायत घटनाले धनजनका क्षति मात्रै गर्दैन, यसले मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ । विशेष गरी भूकम्पको अनुभव गरेको व्यक्तिमा मनोवैज्ञानिक त्रास बढी हुने उहाँको भनाइ छ ।
डा कार्कीले भन्नुभयो– ‘भूकम्पले क्षति गरेमा अत्यधिक डर र चिन्तासमेत बढाउन सक्छ । यसले उनीहरूलाई आगामी दिनमा भूकम्प जान्छ कि भन्नेबारेमा डरमा राख्न सक्छ ।’
उहाँले फरक फरक व्यक्तिमा फरक प्रतिक्रिया आउने र व्यक्तिको जैविक वातावरणअनुसार असर पनि फरक पर्ने बताउनुभयो ।
‘यस्ता बिपत्बाट सबैलाई एकै किसिमको असर गर्छ भन्ने हुँदैन । कसैलाई मानसिक स्वास्थ्यमा धेरै असर गर्न सक्छ, कसैलाई असर गर्दैन’ उहाँले भन्नुभयो– ‘सकारात्मक सोच र भूकम्पको जोखिमको व्यवस्थापनका उपायबारेमा सरकारले व्यापक जनचेता अभिवृद्धि गराउन आवश्यक छ ।’
अनावश्यक त्रास नफैलाउन आग्रह
खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पसम्बन्धी अनावश्यक त्रास फैलाउने किसिमको भ्रमपूर्ण सन्देश प्रवाह नगर्न आग्रह गर्नुभएको छ ।
‘भूकम्पपछि मानिस आत्तिएर भाग्ने र हाम फल्दा अप्रिय घटना हुन सक्छ । भूकम्प संयमता अपनाउनुपर्छ’ उहाँले भन्नुभयो– “सामाजिक सञ्जालमा ठुलो भूकम्प आउँदै भन्नेजस्ता भ्रमपूर्ण समाचारले पनि मानिसमा थप त्रास उत्पन्न गराउँछ । यस्ता सन्देश जो कोहीले प्रवाह गर्नुहुँदैन । भूकम्पको भविष्यवाणी सम्भव छैन ।’
उहाँले आधिकारिक सूचना मात्रै ग्रहण गर्न उहाँको आग्रह छ ।
पूर्वतयारी र सचेतनाको जरुरी
केन्द्रका वरिष्ठ भूकम्पविद् डा. अधिकारीले भूकम्प गएमा के गर्ने ? कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिका के हुन् ? लगायत विषयमा सचेतना बढाउनुपर्ने र भूकम्पका कारण हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी के के हुने भन्ने विषयमा तयारी गर्नुपर्ने बताउनुभएको छ । उहाँले पूर्वसूचना प्रणाली विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले हालसम्म भूकम्पसम्बन्धी पूर्वसूचनाहरू विकास नभएको भन्दै यस विषयमा थप अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले चीनमा गएको भूकम्पपछि हिमताल फुट्ने जोखिम बढेकोसमेत उल्लेख गर्नुभयो ।
‘भूकम्पका कारण हिमताल फुट्ने जस्ता जोखिम देखिएमा धनजनको सुरक्षाका लागि हामी पूर्वसूचना प्रवाह गर्छौं । आधिकारिक सूचनाको मात्रै विश्वास गर्न आग्रह गर्छु’ जोशीले भन्नुभयो ।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले उक्त भूकम्पका परकम्प निरन्तर आइरहेको र थप पराकम्प आउन सक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहनसमेत आग्रह गर्नुभएको छ । संयमतापूर्वक बिपत् व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।
किन जान्छ भूकम्प ?
सामान्यतया पृथ्वीको सतहभित्र कम्पन हुँदा भूकम्पको धक्का महसुस हुन्छ । पृथ्वीको सतहमा हलचल उत्पन्न गर्दा पृथ्वीको भित्री भागमा
रहेको तनाव धेरै बढ्छ र त्यो असन्तुलनका कारण ऊर्जा मुक्त हुँदा जमिन हल्लिन्छ । यस कम्पनले पृथ्वीको सतहमा झट्का उत्पन्न गर्दछ र यसलाई भूकम्प भनिन्छ । पृथ्वीको बाह्य सतह (लिथोस्फियर) विभिन्न ठुला टुक्रामा विभाजित छ, जसलाई भूकम्पीय प्लेट भनिन्छ । यी प्लेटहरू एकार्कामा चढ्छन्, जसले भूकम्पको ल्याउँछ ।
खानी तथा भूगर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प एक भौगर्भिक प्रक्रिया हो, जसलाई रोक्न तथा हालसम्मको अध्ययन अनुसन्धानबाट यसको भविष्यवाणी गर्न सकिएको छैन । टेक्टोनिक प्लेटबिचको टक्करको कारणले भूकम्प जाने गर्दछन् । ससाना भूकम्प हरेक दिन जाने गरेका छन् भने ठुला भूकम्प केही वर्षको अन्तरालमा जाने गर्दछन् । हरेक दिन जाने साना भूकम्पले सञ्चित ऊर्जा निःशृत गर्न सक्दैनन् । त्यसैले बेलाबेलामा ठुला र विनाशकारी भूकम्प जाने गर्दछन् ।
“विगतमा हिमालय क्षेत्रमा ठुला ठुला भूकम्प गइसकेका छन् । सन् १८९७ मा भारतको आसाम, सन् १९०५ मा भारतको काङ्गडा, सन् १९३४ मा नेपाल–भारतको सिमाना र सन् १९५० मा भारतको आसाममा गएका पछिल्ला अन्तरमहादेशीय महाभूकम्प हुन्” केन्द्रले भनेको छ ।
पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मार (बर्मा) सम्मको करिब दुई हजार पाँच सय किलोमिटर लामो सक्रिय हिमशृङ्खलाको मध्यभागको करिब आठ सय किलोमिटर (एकतिहाइ) भाग नेपाल हिमालयले ओगटेको छ । टेक्टोनिक प्लेटबिचको टक्कर र ऊर्जा सञ्चिति र समयसमयमा विनाशकारी भूकम्पको माध्यमबाट हुने विसर्जनका कारण नेपाल हिमालय भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्रमा परेको केन्द्रको भनाइ छ । (रासस)