काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
ठगी प्रकरणमा मुछिएका अनिलविरुद्ध उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको छ ।
मोरङको रंगेली नगरपालिका-२ घर भई हाल काठमाडौँ बस्ने अनिल पोखरेल ३८ लाख ३० हजार रुपैयाँ ठगीमा जोडिएका हुन्। उनलाई पक्राउ गरेर अनुसन्धान गर्न उच्च अदालतले आदेश दिएको हो।
अनिलले एमबीबीएसमा नाम निकालिदिने भन्दै रकम ठगी गरेको आरोप लागेको हो।
छोरीलाई पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भनी अनिलले आफूसँग ३८ लाख ३० हजार रुपैयाँ लिएको सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका(५ बकधुवा निवासी बौआलाल चौधरीको आरोप छ।
एमाले मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका अनिल २०७९ सालको निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेदवारका लागि सिफारिसमा परेका थिए।
सभापति पोखरेलले शुक्रबार विज्ञप्ति जारी गरी अनिलविरुद्ध उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनलाई स्वकीय सचिवबाट हटाइएको उल्लेख गरेका छन्।
लेखा समितिका सभापति पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पनि सहकारी ठगीको आरोपमा जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको छ । कोइरालालाई प्रहरीले हालसम्म पक्राउ गरेको छैन ।
मोरङको धनपालथान गाउँपालिका–३ को उमागौरी सहकारीको रकम अपचलन गरेको आरोप उनीमाथि लागेको छ ।