मनोज भट्ट
सम्भवतः २०७६ चैत्र १८ गतेको राष्ट्रिय समाचार समितिले ‘भारतको हरियाणाबाट साइकल चलाएर नेपालमा’ भन्ने शीर्षकमा एउटा समाचार प्रकाशित गरेको थियो । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका कलुवापुर निवासी राना समुदायका एक जना युवा भारतको हरियाणामा होटलमा काम गर्थे । भारतले लकडाउनको घोषणा ग-यो । होटल बन्द भए । ती युवा होटलमा नै बस्थे । होटल बन्द भएपछि निजलाई होटलबाट निस्कनुपर्ने बाध्यता आइलाग्यो । बाहिर बस्न सक्ने विकल्प पनि थिएन । होटलबाट पाएको थोत्रो साइकल चलाएर उनी हरियाणाबाट हिँडे । हरियाणाबाट लगातार सात दिनको कष्टकर यात्रा गरेर उनी महेन्द्रनगर पुगे ।
भारतमा लकडाउन भइसकेपछि दिल्लीको एउटा पसलमा कार्यरत नेपालीको रोजगारी पनि सकियो । श्रीमती सुत्केरी भएको जम्मा आठ दिन मात्र भएको थियो । काम र पैसाको अभावमा परिवारसहित दिल्लीमा बस्न सम्भव थिएन । आठ दिनको सुत्केरी श्रीमती र बच्चासहित ती नेपाली पैदल हिँडेर लगातार चार दिनको पैदल यात्रापछि नेपालको सिमाना गड्डाचौकी आइपुगे ।
लकडाउनले नोकरी खोसिएपछि चार महिनाको गर्भवती श्रीमती लिएर बम्बईबाट हिँडेका एक जना बझाङ निवासी सीमानाका बन्द भएका कारण नेपाल आउन पाएनन् । उत्तर प्रदेशस्थित रामपुरको क्वारेन्टाइनमा उनीहरूलाई राखियो । मापदण्ड विपरीतको क्वारेन्टाइन, अब्यवस्थित बसाइँ, पोषिलो खानाको अभाव, निरन्तरको मानसिक तनावका कारण महिलाको क्वारेन्टाइनमा गर्भ तुहियो । तर दुखद कुरा, त्यस्तो संवेदनशील अवस्थामा पनि ती महिलाले उपचार पाउन सकिनन् । क्वारेन्टाइनबाट मुक्त त भए तर रोगी शरीर लिएर नेपाल आउनुप¥यो ।
भारतको उत्तराखण्डस्थित हलद्वानी क्वारेन्टाइनमा राखिएका नेपाली एक्कासी राती १२ बजे त्यहाँबाट निकालिन्छन् । झण्डै ९० किलोमिटर पैदल हिँडेर उनीहरू कञ्चनपुर जिल्लाको महाकाली नगरपालिकासँग सीमा जोडिएको बाबास्थान आइपुग्छन् । तर भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न दिएनन् । त्यहाँबाट नेपाल प्रवेश नपाएपछि उनीहरू २५ किलोमिटर पैदल हिँडेर राती वनबासा आइपुग्छन् । उनीहरूलाई नेपाल प्रवेश गर्न दिनुको सट्टा राती जङ्गलमा लगेर भारतीय सुरक्षाकर्मीबाट निर्घात रूपले कुटपिट गरेर भारततिर लखेट्ने काम हुन्छ ।
यी त केही प्रतिनिधिमूलक हृदय विदारक घटना मात्र हुन् । भारतमा नेपालीहरूले लकडाउनका कारण दुःख पाएका असङ्ख्य घटना छन् । भारतमा नेपालीका दुःखपीडा हेर्दा यस्तो लाग्छ, मानौं उनीहरू राष्ट्रविहीन छन् । त्यसैले नेपालको सरकारले न त उनीहरूको पीडा देख्छ, न त अनुभूति नै गर्दछ । तर भारतबाट यिनै नेपालीहरूले बैध च्यानल मार्फत् वार्षिक १ खर्ब रुपिया रेमिट्यान्स पठाउने गर्दछन् । नेपालको आर्थिक विकासमा योगदान पुर्याउँछन् ।
भारतमा लाखौँ नेपाली श्रमिक दैनिक जस्तो नै यस प्रकारका घटनाबाट पीडित छन् । लकडाउनका कारण आफ्नो रोजगारी गुमाएका छन् । भारतको आधारकार्ड नभएका कारण कैयौँ नेपालीहरू भारत सरकारबाट पाउनुपर्ने सामान्य प्रकारको राहतबाट समेत बञ्चित भएका छन् । छोराछोरीलाई खानाको ब्यवस्था गर्न नसकेका कारण उत्पन्न हिनताबोधले नेपालीहरू आत्महत्या गर्नसम्म विवश भएका छन् । गुजरात बस्दै आएका अछाम जिल्ला बान्नेगडा निवासी एक जना युवाले खानाको जोहो गर्न नसकेको कारण आत्महत्या गरेका थिए ।
नेपालीहरू भारतमा रोगका कारणभन्दा भोकका कारण मर्ने स्थिति उत्पन्न भइरहेको छ । त्यसैले विभिन्न प्रकारको जोखिम उठाएर आफनो देश आउने कोशिस गरिरहेका छन् । तर दुई वटै देशबिचको अन्तर्राष्ट्रिय सीमानाका बन्द भएको र नेपाल सरकार पनि आफ्नो देशको नागरिकको समस्याप्रति संवेदनशील नभएका कारण सीमानाकामा नेपालीले भयङ्कर दुःख पाउनुपरेको छ ।
निश्चित रूपले सम्पूर्ण विश्व मानव समाज कोरोना महामारीबाट पीडित छ । विश्व महामारीको यस प्रकारको जटिल अवस्थामा विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसार जो जहाँ छ, त्यहीँ सुरक्षित बस्ने हो । त्यस्तो अवस्थामा सम्बन्धित मुलुकको सरकारले पनि आफ्नो राज्यमा बसिरहेका प्रवासीको समेत सम्पूर्ण ब्यवस्था गर्नुपर्ने साझा दायित्व हुन आउँछ । तर भारतले न त विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकलअनुसारको साझा दायित्व निर्वाह गर्न तयार छ, न त समस्यामा परेका आफ्ना नागरिकलाई स्वदेश ल्याउन सरकार तयार छ । यो अवस्थामा भारतस्थित नेपाल थप जटिल समस्यामा परेका छन्।
भारतमा कैयौँ नेपाली बस्नै नसकिने अवस्था छ । सरकारले उनीहरूलाई स्वदेश ल्याउनुको कुनै विकल्प नै छैन । भारतमा समस्यामा परेका आफ्ना नागरिकलाई स्वदेश ल्याउन सके मात्र सरकारले रोगको सङ्क्रमण फैलिनबाट रोक्न प्रभावकारी कदम चाल्न सक्दछ । आज नेपालमा तीव्र गतिमा फैलिरहेको सङ्क्रमणको मुख्य कारण भारतबाट अबैध ढङ्गबाट नेपाली नेपाल प्रवेश गर्नु पनि रहेको छ । त्यसैले भारतमा भएका नेपालीलाई सुरक्षित र बैध ढङ्गबाट नेपाल ल्याउनुपर्दछ । सीमानाकामा उनीहरूको प्रभावकारी ढङ्गबाट स्वास्थ्यजाँच गरेर आवश्यकतानुसार एकान्तवास, क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा पठाएर सङ्क्रमणको जोखिमलाई कम गर्न सकिँने छ ।
भारतसहित विश्वका विभिन्न मुलुकमा ठुलो सङ्ख्यामा नेपालीहरू कार्यरत तथा अध्ययनरत छन् । कैयौँ मुलुकमा अध्ययनरत नेपाली विद्यार्थी तथा कार्यरत नेपाली स्वदेश फर्किनका लागि सरकारसँग माग पनि गरिरहेका छन् । कतिपय मुलुकले आफ्ना नागरिक लैजान नेपाललाई पत्राचार गरिसकेको छ । भारतबाहेक अरू मुलुकमा भएका नेपाली नागरिकलाई ल्याउनका लागि नेपालले तयारी पनि सुरु गरिसकेको छ । विदेशमा भएका आफ्ना नागरिकलाई स्वदेशमा ल्याउन प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन पनि दिएको छ ।
विदेशमा भएका नेपालीलाई स्वदेश ल्याउनका लागि नेपालीले भोगिरहेको समस्याको आधारमा प्राथमिकीकरण गर्नु जरुरी छ । भारतमा भएका नेपालीले भयानक दुःख बेहोर्नुपरिरहेको छ । उनीहरूलाई स्वदेश फर्काउँदा राज्यमाथि ठुलो धनराशीको बोझ पनि पर्दैन । त्यसैले सर्वप्रथम भारतबाट नेपालीलाई स्वदेश ल्याउन प्राथमिकता दिऔँ ।