काठमाडौँ । भारत र चीनका बिचमा नेपालसँग कुनै सरोकार नराखी नेपाली भूमि लिपुलेकको प्रयोग गर्ने भनी गरिऐको सम्झौताको नेकपा (मसाल) ले विरोध गरेको छ ।
केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८१ पुस १६ गते मङ्गलबारका दिन प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो सम्झौताको विरोध गरेको हो ।
वक्तव्यमा भारत र चीनको उक्त सहमति नेपाली सार्वभौमिकता र स्वतन्त्र अस्तित्वको विरुद्ध रहेको बताउँदै त्यसप्रति गम्भीर कदम उठाउन सरकारसित माग गरिएको छ ।
वक्तव्यको पूर्ण पाठ यस्तो छ :
“डिसेम्बर १८, २०२४ मा भएको बेइजिङमा भारत र चीनका विशेष प्रतिनिधिबिचमा भएको तेइसौँ बैठकले नेपालसँग कुनै सरोकार नराखेर नेपाली भूमि लिपुलेकको प्रयोग गर्ने भनी गरेको सम्झौता नेपालको सार्वभौमिकता र स्वतन्त्र अस्तित्वका विरुद्धमा रहेको छ । हामीले उक्त सम्झौताको गम्भीर रूपले विरोध गर्दछौँ । त्यसप्रति गम्भीर कदम उठाउन हामीले नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ र यसप्रति सजग रहन सम्पूर्ण देशभक्त नेपाली जनतालाई पनि अपील गर्दछौँ ।”