काठमाडौं । श्रीलंकाको लागि नेपाली आवासीय राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।
आइतबार सिंहदरबारमा बसेको संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले नेपालीलाई श्रीलंकाको आवासीय राजदुत र माल्दिभ्सको लागि गैरआवासीय राजदूतमा अनुमोदन गरेको हो ।
बैठकपछि समिति सभापति ईश्वरीदेवी न्यौपानेले समितिले सर्वसम्मत रुपमा नेपालीको नाम अनुमोदन गरेको बताइन्।
सरकारले गत मंसिर १६ गते नेपालीलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि नेपालको आवासीय राजदूत र गणतन्त्र माल्दिभ्सको गैरआवासीय नेपाली राजदुत पदमा प्रस्ताव गरी पठाएको थियो ।
समितिले राज्यका कुनैपनि निकायमा सिफारिस गर्दा समावेशीतामा ध्यान दिन आग्रह समेत गरेको छ । समितिले राजदूतमा सिफारिस गर्दा समावेशी बनाएको भन्दै सरकारलाई धन्यवाद समेत दिएको छ ।
नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्याउँछु : नेपाली
प्रस्तावित राजदूत नेपालीले आफू राजदूत बनेसँगै नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्याउने गरी जिम्मेवारीपूर्वक काम गर्ने बताए ।
बैठकमा आफ्ना कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत नेपालीले विश्व समुदायमा नेपालको प्रतिष्ठा तथा गौरवमय छवि रहेको बताउँदै आफू जिम्मेवार भएर राष्ट्रको हित हुने काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्याउँदै आर्थिक समृद्धिको ढोका खोल्न लागिपर्ने बताए । उनले नेपालको संविधान परराष्ट्र नीतिलाई पूर्ण रुपमा पालना गर्ने बताए।
उनले बौद्ध दर्शनको बिस्तारका लगि आफू लागिपर्ने बताए । नेपालमा भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी रहेको उल्लेख गर्दै प्रचुर अवसर र सम्भावना रहेको बताए । उनले आफू लुम्बिनीलाई ध्यान तथा मेडिटेसनको केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपालीको नाम गणतन्त्र माल्दिभ्सको गैरआवासीय नेपाली राजदूतमा समेत अनुमोदन भएको छ ।