पोखरा । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनमा जुट्न आग्रह गर्नुभएको छ ।
२०८१ पुस १५ गते सोमबार राजमो कास्कीद्वारा आयोजित कार्यकर्ता भेलामा प्रशिक्षण दिँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
‘सङ्घीयता नेपालका लागि महँगो भइसक्यो भन्ने नेपाली जनताले बुझ्न थालेका छन्’ उहाँले भन्नुभयो– ‘जनताको यो भावनालाई बुझेर राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि ३० गतेसम्म काठमाडौँकेन्द्रित आन्दोलनको आयोजना गरेको छ । त्यसको तयारीमा जुट्न सम्पूर्ण साथीहरूलाई म आग्रह गर्दछु ।’
उहाँले यतिखेर देशैभरि उक्त आन्दोलनको तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘यतिखेर देशैभरि काठमाडौँकेन्द्रित आन्दोलनको तयारी भइरहेको छ । यहाँ कास्कीमा पनि स्थानीय स्तरबाटै त्यो आन्दोलनको तयारी गर्नुपर्छ ।’

सम्बोधनको क्रममा उहाँले नेपालका लागि सङ्घीयता फाल्न जति धेरै विलम्ब हुन्छ, देशले त्यसबाट त्यति नै धेरै दुष्परिणाम व्यहोर्ने बताउनुभयो ।
‘सङ्घीयताको दुष्परिणाम कस्तो छ ? हामीले अहिले नै बेहोरिरहेका छौँ’ उहाँले भन्नुभयो– ‘कर्मचारीलाई तलब खुवाउनका लागि वैदेशिक ऋण लिनुपरेको छ । जनतामाथि करको बोझ लादिएको छ । विकास निर्माणका काम ठप्प भएका छन् । प्रत्येक नेपालीको टाउकोमा ८० हजार रुपियाँको हाराहारीमा ऋण पुगेको छ ।’
उहाँले सङ्घीयतालाई खारेज नगर्ने हो भने त्यसले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता नै गुम्ने स्थिति आउने बताउनुभयो ।
उहाँले सङ्घीयताले जातिवादका साथै राष्ट्रिय विखण्डको अवस्था सिर्जना गर्न थालेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामी काठमाडौँकेन्द्रित आन्दोलनमार्फत सङ्घीयता विरुद्ध धक्का दिन चाहान्छौँ । त्यसका लागि हामीले अहिलेदेखि नै घनीभूत तयारीमा लाग्नुपर्दछ ।’
कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अमर थापा, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका अध्यक्ष शङ्कर बराललगायतले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो कास्की अध्यक्ष रविमोहन ढकाललले गर्नुभएको थियो ।
