काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सरकारले लिम्पियाधुरा समेतका क्षेत्र समेटेर नक्सा प्रकाशन गरेकोमा स्वागत गरेको छ ।
अब सीमा सम्बन्धी सबै समस्या समाधान गर्न र कालापानीमा वर्षौंदेखि बसेको भारतीय सेना हटाउन प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले मंगलबार वक्तव्य प्रकासित गरी सीमा अतिक्रमणको मुद्दालाई आवश्यकता अनुसार अन्तर्राष्ट्रियकरण गर्न र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न पनि आग्रह गर्नुभएको छ ।
यस्तो छ वक्तव्यः
‘सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतलाई नेपालमा सामेल गरेर प्रकाशित गरेको नयाँ नक्साका लागि हामीले सरकारलाई धन्यवाद दिन्छौँ ।
सरकारले यही प्रकारले सीमासम्बन्धी अन्य विवाद तथा कालापानीमा कब्जा गरेर बसेको भारतीय सेनालाई नेपालको भूमिबाट हटाउन पनि शाहसिलो कदम उठाउनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।
त्यस सन्दर्भमा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेतबारे भारतसित प्रभावशाली प्रकारले पहल गर्दै आवश्यकताअनुसार त्यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने, संयुक्त राष्ट्रसङ्घ वा अन्तर्राष्ट्रिय अदालतमा लैजाने तथा नेपालको मु्द्दाको पक्षमा विश्व जनमत तयार पार्न सरकारले पहल गर्नेछ भन्ने पनि हामीले आशा गरेका छौँ ।
नीति र कार्यक्रममा एमसीसीलाई समावेश गरिएकोमा हाम्रो पार्टीले पहिले नै गम्भीर आपत्ती प्रकट गरेको छ । हामीले त्यसलाई नीति र कार्यक्रमबाट हटाउनको लागि माग गर्दछौँ । त्यसो नगरिएमा हामीले सरकारलाई दिएको समर्थन कायम राख्दा राख्दै पनि सदनमा प्रस्तुत गरिएको नीति र कार्यक्रमलाई समर्थन नगर्ने कुरा स्पष्ट गर्न चाहन्छौँ ।’
