मनोज भट्ट
विगत झण्डै ३ वर्षदेखि नेकपा (मसाल) का विरुद्ध छदम् नामबाट लेख प्रकाशन गरेर, विभिन्न व्यक्तिहरूले नक्कली फेसबुक एकाउन्ट खोलेर, फेसबुक ग्रुप खडा गरेर सामाजिक सञ्जाल र अनलाइन पत्रिकाको माध्यमबाट अभियान नै सञ्चालन गरेका छन । अहिलेसम्म यो ३ वर्षको अवधीमा सामाजिक सञ्जालवा प्रिन्ट मिडियाको माध्यमबाट सञ्चालित पार्टी विरुद्धको अभियान मुख्यतया दुईवटा कुरामा केन्द्रित रहेको पाइएको छ । प्रथम पार्टीका आन्तरिक गोपनीयता भङ्ग गर्नु, द्वितीय पार्टी महामन्त्री का. मोहनविक्रम सिंह र उहाँको परिवारजनमाथि प्रहार केन्द्रित गर्नु रहेको छ ।
पार्टी र पार्टी नेतृत्वमाथिको आक्रमण पार्टी बाहिरबाट नभएरभित्रबाट नै भइरहेको छ । पार्टीभित्रबाट आफ्नो पहिचान लुकाएर छदम रूपमा पार्टी तथा नेतृत्वमाथि खुल्ला आक्रमण भइराखेको छ । पार्टीभित्र बसेर पार्टीको गोपनियतालाई भङ्ग गरी सार्वजनिक गर्ने काम भइरहेको छ । पार्टीका आन्तरिक निर्णयका विरुद्ध सार्वजनिक रूपले आलोचना गरेर पार्टीप्रति जनसमूहमा वितृष्णा पैदा गराउने, जनताका बिच पार्टीलाई बद्नाम गराउने र जनसमुदायबाट अलग्याएर कमजोर बनाउने षड्यन्त्रअन्तर्गत काम भइरहेको छ ।
उदाहरणका लागि हालै एकजनाले पार्टीकेन्द्रले लाखौँकरोडौँ रुपियाँ ऋणमा उठाएर केन्द्रमा पठाउन सर्कुलर गरेको कुरा फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनले सर्कुलर सार्वजनिक गरेर पार्टीको आन्तरिक गोपनियता त भङ्ग गर्ने काम गरे । त्यति मात्र नभएर उनले सार्वजनिक रूपमा यो आरोप पनि लगाए कि कोरोना महामारीबाट जनता, कार्यकर्ता र शुभचिन्तक पिल्सिएका बेला पार्टी सञ्चालनका लागि पार्टी सदस्यमाथि आर्थिक बोझ लाद्ने काम भयो । के यो आरोपमा कुनै सत्यता छ ?
यदि यो कुरालाई सरल रूपमा हेर्ने हो भने कोरोनाको कहरका बेला ऋण उठाउने कुराले सदस्यमाथि बोझ पारेकोजस्तो देखिन्छ । तर त्यसलाई गहिरिएर हेर्ने हो भने पार्टीकेन्द्रको देशभित्र र प्रवासमा मातहतका समिति छन् । विभिन्न तहमा जननिर्वाचित प्रतिनिधि तथा हजारौँ पार्टी सदस्य क्रियाशील छन् । एउटा क्रियाशील पार्टी जसरी खुल्ला रूपमा सक्रिय हुनुपर्ने हुन्छ, ठिक त्यसै प्रकारले आन्तरिक रूपमा पनि पार्टीले आफ्नो नियमित प्रशासन तथा आर्थिक गतिविधि र लेनदेन पनि सञ्चालन गरिरहेको हुन्छ । पार्टी एउटा स्थायी प्रकृतिको संस्था हो । त्यसले जुनसुकै अवस्थामा पनि आफ्ना बाह्य तथा आन्तरिक गतिविधि पार्टीले जारी राख्छ ।
स्थानीय तथा प्रादेशिक पार्टीका आफ्ना निश्चित आम्दानीका श्रोत हुन्छन् । कैयौँ अवस्थामा अन्तरपार्टी ऋणसापट चलिरहेको हुन्छ र यो एउटा नियमित प्रकृया हो । सङगठनमा आबद्ध व्यक्तिहरूका लागि यी कुरा सामान्य नै हुन् । तर विद्यमान परिस्थितिको संवेदनशीलतालाई पार्टी निर्णयको विरोध गर्ने र सर्वसाधारणमा भ्रम सृजना गर्ने माध्यमको रूपमा प्रयोग गर्ने अत्यन्तै घटिया तरिका अपनाइयो ।
यसबाट के कुरा प्रष्ट हुन्छ भने पार्टीका विरुद्ध भ्रम सृजना गर्न पार्टी आवरणमा लुकेर बसेका तत्त्वहरू जुनसुकै हत्कण्डा पनि अपनाउन तयार छन् । पार्टीका विरुद्ध यस प्रकारको हर्कत गर्ने तत्त्वहरू पार्टीको इमान्दार तथा प्रतिबद्ध सदस्य हुनै सक्दैनन । यो त एउटा सामान्य उदाहरण मात्र हो । यस प्रकारका कार्यहरू शृङ्खलाबद्ध रूपमा लामो समयदेखि सञ्चालन भइरहेका छन् ।
फेसबुकमा यो कुरा पनि सार्वजनिक गरिएको छ कि कोरोनाको कहरबाट पार्टी सदस्य पीडित भएका बेला पार्टीले ऋण उठाउन गरिएको सर्कुलरको उद्देश्य मोहनविक्रम सिंहको विलासी जीवन धान्न तथा उहाँले लेखेको “लभस्टोरी” जलजलालाई प्रकाशन गर्नका लागि हो । मोहनविक्रमको उपन्यास प्रकाशन गर्न कुनै पनि प्रकाशन संस्था तयार छन् र हुन सक्दछन् । त्यसका लागि लेखकको नामको उचाइ नै काफी छ ।
कुनै पनि प्रकाशन संस्थाले लेखकलाई अग्रिम लेखकस्व (रोयल्टी) दिएर प्रकाशन गर्न तँछाडमछाड गर्न सक्दछन्भन्दा अतिशयोक्ति नहोला । तर रोगको संवेदनशील अवस्थालाई उपयोग गरेर पार्टीपङ्क्ति र आम जनसमुदायमा का. मोहनविक्रम सिंहका विरुद्ध भ्रम छरेर उहाँलाई बद्नाम गर्न गरिएको कुत्सित चालबाजीबाहेक अरू केही होइन भन्ने कुरा जोसुकैले पनि बुझ्न सक्दछन् ।
यी दुई वटा उदाहरणबाट पनि यो कुरा प्रष्ट हुन्छ कि पार्टीको गोपनियता भङ्ग गरी सावजनिक गर्नु र खुल्ला रूपमा पार्टी नेतृत्वमाथि मिथ्या तथा निराधार आरोप लगाउनु पार्टीमा कथित सुधारका लागि नभएर पार्टीलाई ध्वस्त गर्नु र नेतृत्वलाई सिद्धाउने उद्देश्यले काम गरेको छ । हामीले माथि पनि चर्चा गरिसकेका छौँ कि अहिले पार्टीमाथि भइरहेको प्रहार बाहिरबाट नभएर पार्टीभित्रबाट हो ।
पार्टीभित्रबाट भन्नुको तात्पर्य सिङ्गो पार्टी वा बहुमत वा अल्पमत सदस्यबाट यो समस्या खडा भएको छैन । केही फुटपरस्त, अनुशासनविहीन वा प्रतिकृयावादीबाट निश्चित उद्देश्यका लागि घुसपैठ गराइएका घुसपैठियाबाट यो काम भइरहेको छ । यस प्रकारका काम गर्ने घुसपैठिया नभए पनि उनीहरूको कामको प्रकृति घुसपैठिया प्रकारको छ । उनीहरूको कामबाट पार्टीलाई पुगिरहेको क्षतिबाट कसलाई फाइदा पुगिरहेको छ ?
नयाँ जनवाद क्रान्तिलाई न्यूनतम कार्यक्रम बनाएर लगातार राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि लगातार लडिरहेको पार्टीका विरुद्ध भ्रम सृजना गरेर, पार्टीका आन्तरिक कुरालाई सार्वजनिक गरी दुश्मनसम्म पु-याएर कसको हित गर्न खोजिएको छ ? पार्टीलाई कमजोर बनाएर को बलियो हुन्छ ? दुश्मनशक्ति वा जनवादी, क्रान्तिकारी शक्ति ? निश्चित रूपले यो कार्यले क्रान्तिकारीलाई होइन, प्रतिकृयावादीलाई प्रत्यक्ष तथा परोक्ष रूपमा फाइदा पुगिरहेको छ ।
पार्टीले आठौँ महाधिवेशन सम्पन्न गरिसकेपछि पनि आन्तरिक रूपमा सृजना गरिएको गडबडीका बाबजुद पनि लगातार सङ्घर्षको मैदानमा छ । भ्रष्टाचारका विरुद्ध युवा अभियान, कालापानीसहितको भूभागलाई समेटेर भारतले नक्सा जारी गरेको र अहिले आएर त्यो क्षेत्रमा भारतले अनधीकृत रूपमा सडक बनाएको विरोधमा सङ्घर्षको मोर्चामा अग्रपङ्क्तिमा छ ।
सङ्घीयताका विरुद्ध विद्यार्थी मोर्चाको काठमाडौँकेन्द्रित आन्दोलनको व्यापक तयारी, स्थानीय सवालमा कैयौँ सङ्घर्षका कार्यक्रम भएका छन । बन्दाबन्दीका बिच पनि पार्टी सङ्घर्षको मैदानमा छ । यसरी सङ्घर्षको बिचबाट अगाडि बढिरहेको पार्टीको विकासबाट आत्तिएका देशीविदेशी प्रतिकृयावादी शक्तिले पार्टीलाई कमजोर बनाउन अराजक अनुशासनविहीन तत्त्वलाई उपयोग गरिरहेको सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
क्रान्तिकारीलाई कमजोर बनाउनका लागि प्रतिकृयावादीले विभिन्न प्रकारका तरिका अपनाउने गर्दछन् । त्यसमध्ये घुसपैठ पनि एउटा हो । कतिपय अवस्थामा पार्टीभित्र लामो सङ्घर्षको पृष्ठभूमि भएका तथा इमान्दार नेता–कायकर्तालाई भ्रष्ट बनाएर वा उनीहरूका असन्तुष्टिलाई प्रतिकृयावादी उद्देश्यका लागि प्रयोग गरेर घुसपैठियामा रूपान्तरण गर्ने गरेको पनि पाइएको छ । आफना एजेन्टलार्ई पार्टीभित्र घुसपैठ गराउने पनि गर्दछन् ।
विप्लब समूहमा सरकारको गुप्तचर निकायबाट योजनाबद्ध रूपमा घुसपैठ गरिएको कुरा स्वयम् ती संस्थाका अधिकारीले स्वीकार गरेका छन । विप्लब समूहका नेता–कार्यकर्ताका विरुद्ध भइरहेको ब्यापक गिरफ्तारी र त्यसमा सरकारले प्राप्त गरेको सफलताका पछाडि सरकारी घुसपैठले काम गरेको छ । पार्टी गोपनियता वा सर्कुलर सार्वजनिक गर्न सक्नुमा आफ्नो जित ठाने वा आत्मरति लिने गरेको पाइन्छ । यस प्रकारको प्रवृत्तिबाट ती तत्त्वमा राजनीतिकभन्दा घुसपैठिया चरित्र प्रधान बनिरहेको छ ।
निश्चित रूपले पार्टीभित्र विभिन्न विषयमा सङ्घर्ष चल्छ । कतिपय अवस्थामा सङ्घर्षले शत्रुतापूर्ण रूप लिने पनि गर्दछ । पार्टी फुट वा विभाजनको शिकार पनि हुने गर्दछ । तर त्यो अवस्थामा पनि कुनै पार्टीका आन्तरिक गोपनियताजस्तो संवेदनशील विषयलाई सार्वजनिक गर्नुलाई कदापि सही मान्न सकिन्न ।
पार्टी आवरणमा लुकेका अनुशासनविहीन तत्त्वले लगातार का. मोहनविक्रम सिंह र उहाँको परिवारजनलाई प्रहारको निशाना बनाइरहेका छन् । उहाँका कैयौं वैयक्तिक प्रश्न उठाएर आलोचना गर्ने गरेका छन् । पिछडिएको चेतना भएको समाजमा वैयक्तिक विषय उठाएर भ्रम सृजना गर्नु सजिलो पनि हुन्छ । म्याक्सिम गोर्की पार्टीका लागि धन सङ्कलन गर्न अमेरिका गएका थिए । त्यसबेलासम्म उहाँ विश्वविख्यात लेखकको रूपमा स्थापित भइसक्नुभएको थियो । तर अमेरिकनहरूले गोर्कीलाई आफनो पहिलाको श्रीमती छोडेको र विवाह नै नगरेको महिलालाई लिएर अमेरिका आएको भनेर व्यापक आलोचना गर्नुका साथै अपमानसमेत गरेका थिए ।
अत्यन्तै वैयक्तिक मामिला उठाएर लेनिनलाई समेत बद्नाम गर्ने प्रयास भएको पाइन्छ । लेनिनलाई बद्नाम गर्न बिबिसी लन्डनले समेत लेनिनका बारेमा लामो रिर्पोट तयार पारेको थियो । बिबिसीले आफनो रिर्पोटमा लेनिनलाई नपुशंकसमेत बताएर अत्यन्तै निजी र संवेदनशील मामिला उठाएर बद्नाम गर्न खोजिएको थियो । एकातिर रिर्पोटमा लेनिनलाई नपुंशक बताइएको छ अर्कोतर्फ उनको सम्बन्ध स्क्रा अरनल्डसँग थियो भनेर लेखेका छन । स्क्रा अरनल्डलाई लेनिनको रखौटी बताइएको छ । स्टालिन, माओ वा माक्र्सका पनि वैयक्तिक कुराहरू उठाएर बद्नाम गर्ने गरेको पाइन्छ ।
यस्तो किन हुन्छ वा माक्र्स, लेनिन, माओ, स्टालिनका पनि वैयक्तिक मामिला उठाएर किन बद्नाम गर्ने कोशिस भए ? रानजनैतिक वा सैद्धान्तिक रूपले सामना गर्न नसकेपछि यस प्रकारका हत्कण्डा प्रयोग गर्ने गरिन्छ । अझ हाम्रोेजस्तो पिछडिएको समाजमा राजनीतिक सैद्धान्तिक कुराले भन्दा वैयक्तिक विषयले बढी महत्त्व पाउँछ र मान्छेलाई तुरुन्तै प्रभावित पार्छ । त्यस आधारमा विरोधी जनमत तयार पार्न सजिलो पनि हुन्छ । तर यो कुरा दीर्घकालीन नभएर क्षणिक हुन्छ । त्यसैले यसको कुनै अर्थ छैन ।
नेपालको क्रान्तिकारी धाराको नेतृत्व गर्ने उचाइसम्म कां मोहनविक्रम सिंह त्यत्तिकै पुगेका होइनन् । कुनै निश्चित राजनीतिक घटनाक्रममा क्रान्तिकारी विचार लिएका कारणले होइन उहाँको समग्र राजनीतिक जीवन नै क्रान्तिकारी आन्दोलनको विरासत बोकेर हिँडेको छ र यहाँसम्म पुगेको छ । इतिहासका कैयौं कालखण्डमा माक्र्स, लेनिन र माओलाई दक्षिणपन्थीको आरोप लागेको पाइन्छ ।
तर इतिहास साक्षी छ, माक्र्स ,लेनिन र माओले क्रान्तिकारी सिद्धान्तको विरासतलाई कहिले छोड्नुभएन । माक्र्स, लेनिन र माओलाई दक्षिणपन्थी भन्नेले माक्र्सवाद लेनिनवादलाई परित्याग गरेर गद्दारीको बाटो अनाए । आन्दोलनका विभिन्न मोडमा का. मोहनविक्रम सिंहलाई दक्षिणपन्थी भनेर डाम्नेको कमी छैन । तर आजको समय तिनीहरू कहाँ छन ? यो कुरा कसैबाट लुकेको छैन । देशमा बुर्जुवा गणतन्त्र कायम भएको छ ।
यो गणतन्त्रको स्थापनामा हाम्रो पार्टीको पनि ऐतिहासिक भूमिका छ ।गणतन्त्रको स्थापनासँग देशको राजनीतिक शक्ति सन्तुलनमा ब्यापक परिवर्तन आएको छ । भर्खर स्थापना भएको यो ब्यवस्थाप्रति जनतामा विश्वास छ । तर सैद्धान्तिक दृष्टिकोणले यो अफापसिद्ध भएको ब्यवस्था हो ।
यस्तो विरोधाभास अवस्थामा हामीले तात्कालिक रूपले गणतन्त्रलाई निषेध गरेर अगाडि बढ्ने कार्यनीति बनाउनु घातक हुन्छ । कार्यनीतिक रूपले गणतन्त्रलाई समर्थन र रणनीतिक रूपले विरोध नै अहिलेको क्रान्तिकारी लाइन हो । यदि कसैले यही कारण मोहनविक्रमलाई दक्षिणपन्थी देख्छ भने दृष्टिदोष र पूर्वाग्रहबाहेक अरू केही होइन ।