भरतपुर । भरतपुर वडा नम्बर ६ लाई बालमैत्री वडा घोषण गरिएको छ ।
२०८१ पुस २१ गते शुक्रबार एक कार्यक्रमका बिच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा बालमैत्री वडा गरेका हुन् ।
भरतपुर ६ बालमैत्री वडा घोषणा भएसँगै भरतपुरका पाँचओटा वडा बालमैत्री घोषणा भएका छन् । यसअघि भरतपुर १४, १३, २३ र २१ घोषणा भइसकेको छ । भरतपुरलाई आथिर्क वर्ष २०८३/८४ मा पूर्ण बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ ।
बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ ओटा सूचक तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधिअनुसार केही सूचक शत्प्रतिशत र केही ८० प्रतिशत पूरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ । यसका चारओटा खम्बा रहेका छन् । सहभागिता, विकास, संरक्षण, बाच्न पाउने अधिकार रहेका छन् । यी सूचक पूरा भएकाले वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन् ।
२०७६ सालमा भरतपुर–१४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो । भरतपुरलाई बालमैत्री नगर बनाउन २०६८ सालदेखि नै अभियान थालिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिङ्गो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको उल्लेख गरिन् । उनले बालबालिकाको शिक्षा स्वास्थ्यलगायतका कुरामा आफूहरू लागिपरेको भन्दै अभिभावक पनि जिम्मेवार भएर लाग्न अनुरोध गरिन् । अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि छुट्टै स्रोतकक्षासमेत सञ्चालन गरिएको उनले जानकारी दिइन् ।
महानगरपालिकामा सडक बालबालिकासमेत नरहेको उनले जानकारी दिइन् । भरतपुरमा बालबालिका विरुद्ध हुने सबै खाले हिंसा, यातना, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध महानगर बनाउन प्रतिबद्ध रहेको उनको भनाइ छ ।
उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताए । अधिकारीले महानगरपालिका पूर्वाधार विकाससँगै सामाजिक र मानव अधिकारका विषयमा त्यत्तिकै ध्यान दिएको बताए । घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेवार बन्नुपर्ने बताए ।
बालमैत्री घोषणासँगै थप चुनौती र जिम्मेवारी थपिएको उनको भनाइ छ । कार्यक्रम वडाअध्यक्ष कृष्णलाल श्रेष्ठको अध्यक्षतामा भएको हो ।