काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावट विद्युत आयात गर्न लागिएको बताएका छन् ।
मन्त्री खड्काले नेपाल भित्रको आन्तरिक विद्युत आपूर्तिलाई सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावट विद्युत खरिद गर्न लागिएको बताएका हुन्। मन्त्री खड्काले हिँउदमा विद्युत आपूर्ति सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावट विद्युत आयात गर्ने सहमति भएअनुरुप पुस महिनादेखि नै खरिद गरिने बताए ।
उनले गत वर्षको बाढीले जलविद्युत आयोजनाहरुमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिनको लागि भारतसँग विद्युत पुस महिनाबाट खरिद गर्न लागिएको बताए।
मन्त्री खड्काले सरकारले क्षति भएका आयोजनाहरुको निर्माणमा तिब्रता दिएको भन्दै विद्युत माग र आपूर्ति सहज बनाउने विषयमा गम्भिर रहेको बताए।
मन्त्री खड्काले गत वर्षको भन्दा साढे ३ सय मेगावट जति यस वर्ष उत्पादन थप हुने र हिउँदामा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्ने भएकाले सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ कार्यतालिका बनाएको बताए। उनले बेलुका साँझको बेला भारतले चार घण्टा दिनसक्ने बताए पनि भारतसँग थप छलफल गर्ने तयारी रहेको जानकारी दिए।
उनले भारतका ऊर्जामन्त्री नेपालमा आउने तयारी रहेको भन्दै भारतका ऊर्जामन्त्री नेपाल आएको बेलामा छलफल गरिने बताए ।
केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान भएपनि सकेसम्म हुन नदिने योजना रहेको उनको भनाई छ ।
उनले भारतबाट नेपालले ९ सय मेगावटसम्म आपूर्ति गर्ने गरेको भन्दै यो वर्ष साढे ६ सय मेगावट आपूर्ति गरिने बताए । मन्त्री खड्काले नेपालभित्रै साढे ३ सय मेगावट थप हुने देखिएकाले कम आपूर्ति गर्न लागिएको बताए ।