काठमाडौं । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले इजरायलले प्यालेस्टाइनीमाथि मानवताविरोधी युद्ध अपराध गरेको बताउनुभएको छ ।
सोमबार (२४ मंसिरमा) काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजित हस्ताक्षर संकलन अभियानलाई सम्बोधन गर्दै प्रवक्ता पुरीले यस्तो बताउनुभएको हो ।
उहाँले प्यालेस्टाइनी जनतामाथि भइरहेको युद्ध अपराधविरुद्ध संसारभरबाट जनताले दबाब दिनुपर्ने बताउनुभयो ।
‘यो युद्धले ठूलो मानव नरसंहार भइरहेको छ’ पुरीले भन्नुभयो, ‘त्यो युद्धविरुद्ध अभियान चलेको हो। यो अभियानले संसारभरका राष्ट्रहरूलाई दबाब दिन्छ।’
प्रवक्ता पुरीले आफूहरुको अभियानले युद्धका पक्षपातिहरुलाई दबाब दिने भन्दै हस्ताक्षर संकलन अभियानमा साथ दिन आग्रह गर्नुभयो ।
आज नेकपा (मसाल) सहितका राजनीति दलहरुले गाजा युद्धविरुद्ध हस्ताक्षर अभियान सुरु गरेका हुन्।
गाजा—प्यालेस्टाइन युद्ध शुरु भएको १४ महिना भएको छ।