काठमाडौं । झापाको विर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन्।
आफ्नै घरमा काम गर्न राखेकी १७ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पूर्वमेयर सिवाकोटीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
झापाका प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पीडित बालिकालाई कलेजबाटै भारततर्फ जाँदै गर्दा सोमबार बिहान मात्रै एक संस्थाले काँकडभिट्टाबाट उद्धार गरेर प्रहरीलाई बुझाएको थियो ।
ती बालिकाले आफूलाई शिवाकोटीले बलात्कार गरेको भन्दै घर फर्किन नमानेपछि प्रहरीले जाहेरी लिएर अनुसन्धान अगाडि बढाएको हो ।
ती बालिकाका बुबा नभएको र आमा भारतमा रहेको प्रहरीले जानकारी दिएको छ । बालिकालाई पढाइदिने शर्तमा घरको काम गर्न शिवाकोटीले राखेका थिए ।
शिवाकोटी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।