खलङ्गा । प्युठान जिल्लाको झिमरुक गाउँपालिका वडा नं. २ बादिकोटमा राष्ट्रिय जनमोर्चाका सदस्य रामबहादुर केसीको स्मृतिमा शोकसभा सम्पन्न भएको छ ।
२०८१ मङ्सिर २४ गते सोमबार राजमो वडा कमिटीका उपाध्यक्ष रुमलाल गिरीको अध्यक्षता तथा वडा सदस्य शेरबहादुर खड्काको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
शोकसभामा राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार बासुदेव पोख्रेलले पार्टीको तर्फबाट परिवारका सदस्यलाई स्मृतिशेष केसीको श्रद्धाञ्जली फोटो हस्तान्तरण गर्दै शोकमन्तव्य राख्नुभएको थियो ।
एक मिनेट मौनधारण गरी सुरु गरिएको उक्त कार्यक्रममा झिमरुक वडा नम्बर ३ का वडाअध्यक्ष तथा राजमो नेता मिनबहादुर केसीले स्मृतिशेष केसीको जीवनी र योगदानबारे प्रकाश पार्नुभएको थियो ।
शोकसभामा किसान नेता वीरबहादुर जिसीले पनि शोकमन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा मृतक केसीका परिवार, आफन्तजन, छिमेकी र राजमोका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
केसीको गत मङ्सिर १८ गते ५५ वर्षको उमेरमा निधन भएको थियो । उहाँको परिवारमा श्रीमती रेसमा खत्री, छोरीहरू कस्तुरा केसी, मधु केसी, सरिता केसी र जालपा केसी हुनुहुन्छ ।