काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवार्निर्वाचित वडाअध्यक्ष पक्राउ परेका छन् । स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण गरेको आरोपमा नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
डाक्नेश्वरी १ को वडा कार्यालयमा राखिएको पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ ।
यहि मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा जनता समाजवादी पार्टी ९जसपा० नेपालका उम्मेदवार साह ६५२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका थिए ।
वडाध्यक्ष साहसहितका व्यक्तिले डाक्नेश्वरी नगरपालिका १ माधोपुरमा २०७८ चैत २२ गते एक महिलालाई सामुहिक बलात्कारपछि हत्या गरेको आरोप छ । सुरुमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि पीडितले हुलाक मार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएका थिए ।