काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् । उनलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीबार उनलाई चेकजाँचको लागि क्यान्सर अस्पताल लगेको थियो । अस्पतालले भर्नै गर्नु पर्ने बताएपछि बिहीबार साँझ बेड भर्ना गरिएको साइबर ब्यूरोका प्रमुख डीआईजी नविन्द अर्यालले बताए ।
यसअघि जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाँदा पनि उनले आफू क्यान्सरको बिरामी रहेको र उपचारका लागि अस्पताल नै बस्नु पर्ने बताएका थिए। न्यायाधीशले म्याद थप गर्दै उनको स्वास्थ्योपचारमा ख्याल गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।
बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्येक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै क्यान्सरको बिरामी रहेकाले सोही अनुसारको उपचारको व्यवस्था गर्न निर्देशनात्मक आदेश नै दिएपछि बिहीबार भने क्यान्सर अस्पताल नै लगिएको हो।
प्रसाईंले प्रधाननमन्त्री केपी ओलीको नाममा कम्बोडियामा लगानी रहेको भन्दै अभिव्यक्ति सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथी विद्युतीय अपराधमा अनुसन्धान भइरहेको छ। यसपछि उनलाई कीर्तेको आरोपमा पनि अनुसन्धान गर्ने प्रहरीको तयारी छ।