काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण विश्वभरि ज्यान गुमाउनेहरूको संख्या तीन लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ४४ लाख भन्दा बढी संक्रमित भइसकेका छन् ।
उक्त संक्रमणबाट निको हुनेहरूको संख्या भने १५ लाख पुगेको बताइएको छ। पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् ।
१४ लाख भन्दा बढी संक्रमित रहेको अमेरिकामा ज्यान गुमाउनेहरूको संख्या ८६ हजार पुग्न लागेको छ । अमेरिकामा मृत्यु हुनेहरूको संख्या सबैभन्दा बढी न्युयोर्क राज्यमा छ जहाँ २७ हजार भन्दा बढीको मृत्यु भएको छ ।
रुसमा पनि संक्रमितहरूको संख्या बढ्दो क्रममा छ । उच्च संक्रमणका हिसाबले यूके तेस्रो स्थानमा छ । त्यहाँ हालसम्म ३३,६९३ ले ज्यान गुमाएका छन् ।
भारतमा संक्रमितको संख्या ८२ हजार
भारतमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर उच्च दरमा बढ्दै गएको छ । हिजो एकै दिन त्यहाँ झण्डै चार हजार नयाँ संक्रमित थपिएका छन् ।
बिहीबार भारतमा तीन हजार नौ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै त्यहाँ संक्रमितको संख्या ८१ हजार ९ सय ९७ पुगेको छ ।
गएको २४ घण्टामा त्यहाँ कोरोना संक्रमणको कारण ९८ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म मृतकको संख्या २ हजार ६ सय ४९ पुगेको छ।
अहिलेसम्म त्यहाँ २७ हजार ९ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन् । भारतमा ५१ हजार ३ सय ७९ जना उपचारको क्रममा छन् । कोरोना संक्रमण बढ्दै गएपछि विगत दुई महिनादेखि भारत लकडाउनमा छ ।
