काठमाडौँ । दुर्घटनामा घाइते भई उपचाररत प्युठान जिल्ला झिमरुक गाउँपालिका वडा नम्बर ७ करिमारेका पूर्णबहादुर महतारालाई राष्ट्रिय जनमोर्चा प्युठान–काठमाडौँ सम्पर्क समितिले आर्थिक सहयोग गरेको छ ।
सम्पर्क समितिका अध्यक्ष अधिवक्ता पदम रोका नेतृत्वको टोलीले २०८१ कात्तिक २१ गते काठमाडौँस्थित ट्रमा सेन्टर पुगी बिरामी महतारालाई २१ हजार रुपियाँ हस्तान्तरण गरेको हो ।
पदाधिकारी र सदस्य सम्मिलित सम्पर्क समितिको टोलीले बिरामीलाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
झिमरुक ७ कै पिठाल्नेस्थित भिरबाट लड्दा महताराको देब्रेपट्टिको करङ भाच्चिएर फोक्सोमा गढेको चिकित्सकहरूले बताएका छन् । दुर्घटनाबाट उनको मिर्गौलामा समेत चोट लागेको अस्पतालले बताएको छ ।
महताराको पहिला लुम्बिनी अञ्चल अस्पतालमा र त्यसपछि भैरहवा मेडिकल कलेजमा उपचार गराइएको थियो तर त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँ ट्रमा सेन्टरमा रेफर गरिएको थियो । यतिखेर उहाँको आई.सी.यू. मा राखेर उपचार भइरहेको छ ।