गलकोट (बागलुङ) । झाडीले ढाकिन थालेको पाखो, त्यहीबिचमा उजाड डाँडो । १० वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ । त्यो हो, पञ्चकोट ।
१० वर्षअघि कसैले पनि सोचेका थिएनन्, त्यो उजाड डाँडो धार्मिक पर्यटकीय क्षेत्र बन्ला भनेर । त्यही डाँडो हाल आकर्षक पर्यटकीय संरचनाले भरिएको छ । ती संरचना आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने आधार बनेका छन् ।
यो क्षेत्र बाइसेचौबिसे राजाका पालमा यस्तै आकर्षक थियो भनिन्छ तर लामो समयसम्म संरक्षणको अभावमा बन्जर बन्यो । पछिल्लो समय यही तारजालकोटसहित पाँचकोटलाई एकीकृत रूपमा पञ्चकोट बनेको हो ।
तारजालकोट भनिने उजाड डाँडा अहिले पञ्चकोटको रूपमा विश्वचर्चित बनेको बागलुङ नगरपालिका–६ सिमका स्थानीय गोविन्द आचार्यले बताउनुभयो । पञ्चकोटलाई नेपाल सरकारले एक सय पर्यटकीय गन्तव्यमा समेत सूचीकृत गरेपछि पञ्चकोटको महिमा झनै बढेर गएको उहाँको भनाइ छ ।
‘सानातिना पाँचओटा कोट थिए । स्वामी कमलनयनाचार्यको गृहगाउँ भएकाले २०७० सालमा स्वामी यहाँ भएको एक यज्ञमा आउनुभयो ।
त्यसक्रममा उहाँले अहिले पञ्चकोट भएको स्थानमा ध्यान र तपस्या गर्ने क्रममा पाँचकोटको सङ्गमस्थल बनाउने परिकल्पना गर्नुभएको थियो’ आचार्यले भन्नुभयो– ‘स्वामीज्यूको परिकल्पनालाई स्थानीयले साथ दिएका कारण अहिले त्यो उजाड डाँडा धार्मिक पर्यटकीयस्थल बनेको छ ।’
आचार्यका अनुसार स्वामी कमलनयनाचार्य भान्सास्थित सदाशिव आधारभूत विद्यालयमा आयोजना गरिएको महायज्ञमा आएपछि उहाँले पञ्चकोटको विकास गर्ने परिकल्पना गर्नुभएको थियो । त्यसपछि अहिले पञ्चकोटमा रहेको गरुडशिलाभित्र रहेको गुफामा कुटी बनाएर ध्यान तपस्या गर्दै आउनुभएको र २०७१ फागुन ९ गते पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति कलशसहित अन्य संरचना बनाउन थालिएको थियो ।
करिब ९० रोपनी जग्गामा अहिले दर्जनौँ धार्मिक संरचना निर्माण भइसक्दा पञ्चकोटको महत्त्व बढेको मात्रै छैन, विश्वव्यापीसमेत भइसकेको धेरैको भनाइ छ ।
प्राकृतिक छटाले भरिपूर्ण पञ्चकोट क्षेत्रको ताराजालकोट, कारिकोट, माझकोट, राङराङकोट र संसारकोट गरी पाँच कोटको संयुक्त रूपलाई नै पञ्चकोटका रूपमा विकास गरिएको छ । पछिल्लो समय पञ्चकोटमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको समेत लगानी बढ्न थालेको छ ।
बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष रुद्र केसीले तारजालकोटमा पञ्चकोटको संरचना बनेको र भने अन्य कोटलाईसमेत पुनःनिर्माण गरी नित्य पूजाआजा गर्न थालिएको जानकारी दिनुभयो ।
‘अहिले पञ्चकोट भनिएको ठाउँ तारजालकोट हो, त्यसमाथिका चारओटा डाँडामा अरू कोट रहेका छन् कारिकोट, माझकोट, राङराङकोट र त्यो क्षेत्रकै सबैभन्दा अग्लो डाँडामा संसारकोट रहेको छ’ केसीले भन्नभयो– ‘पञ्चकोटका कारण अन्य कोटमा समेत सामान्य पूर्वाधार निर्माण भइरहेका छन् । अन्य कोटमा जाने पदमार्ग, सत्तललगायत संरचना निर्माण भइरहेका छन् ।’
पञ्चकोटमा १० वर्षको अवधिमा रु ५० करोडभन्दा बढी लगानीमा विभिन्न भौतिक संरचना निर्माण भइरहेका छन् । पञ्चकोटका संस्थापक स्वामी कमलनयनाचार्यले यस भूमिलाई धार्मिक क्षेत्र बनाउन लागि १० वर्ष लागेको र अझै अन्य योजनाहरू कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।
दामोदरकुण्ड, मुक्तिक्षेत्र, गलेश्वरधाम, पञ्चकोट, शालग्राम सङ्ग्रहालयसहित त्रिवेणीधामसम्मको धार्मिक क्षेत्रलाई एकीकृत गरी पञ्चकोटको विकास भइरहेको उहाँले जानकारी दिनुभयो ।
‘कालीगण्डकीले कुँदेको पहाडमा यो विशाल संरचना त्यसै बनेको छैन । यहाँ धेरैको सहयोग, लगानी छ । हाल सरकारीस्तरबाट समेत बजेट आइरहेको छ । यहाँ राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मको सवारी भइसकेको छ’ उहाँले भन्नुभयो– ‘१०८ फिट अग्लो कलश निर्माणका लागि समय समयमा महायज्ञ गर्दै आइएको छ ।’
पञ्चकोटमा गत फागुनमा मुक्तिनाथ महाघण्ट स्थापना गरिएको छ । पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई महाघण्ट भनिएको स्वामीको भनाइ छ । महाघण्ट आठ वर्षदेखिको परिकल्पना हाल आएर पूरा भएको र पञ्चकोटका सम्पूर्ण योजनाले पूर्णता पाउन भने अझै १० वर्ष लाग्ने जनाइएको छ ।
पञ्चकोटमा अहिलेसम्म सिसमहल, गरुडशिला, गण्डकीमाताको मन्दिर, पञ्चयज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् । विभिन्न दाताको सहयोग, महायज्ञबाट सङ्कलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले यी संरचना बनेका हुन् ।
समुन्द्री सतहदेखि एक हजार सात सय ५० मिटरको उचाइमा रहेको पञ्चकोटमा धार्मिक संरचनाको शिलान्यास २०७१ फागुन ९ गते तत्कालीन प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले गर्नुभएको थियो ।
यहाँ करिब एक सय रोपनी क्षेत्रफलमा तीन तलाको अतिथि आवास तथा कन्या गुरुकुल, रेलिङसहितको पदमार्ग निर्माण भइसकेको छ ।
त्यस्तै, गण्डकी माताको मन्दिर र गरुडशिला, सिसमहल, सत्संग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पाहुनाघर बनिसकेको छ । (रासस)