चेतनाथ आचार्य ##
विषय प्रवेश
कम्युनिस्ट पार्टी क्रान्तिकारीको सङ्गठित दस्ता हो । सिद्धान्त र राजनीति निश्चित भएपछि त्यसलाई व्यावहारिक रूप सङ्गठनको माध्यमबाट दिइन्छ । विचार सङ्गठनको माध्यमबाट भौतिक शक्तिमा रूपान्तरण हुन्छ । लेनिनका अनुसार वैचारिक शक्तिलाई भौतिक शक्तिमा परिणत गर्ने साधनको नाम सङ्गठन हो । विचार व्यवहारबाट निर्माण हुन्छ । सङ्गठनलाई अङ्ग्रेजीमा अर्गनाइजेसन भनिन्छ । अर्गनाइजेसन शब्द ग्रीक भाषाको ‘अर्गानोन’ बाट ल्याइएको हो, जसको अर्थ उपकरण, साधन र अवयव भन्ने हुन्छ । सङ्गठन त्यस्तो हतियार हो, जसले उत्पीडक वर्गको विरुद्ध सङ्घर्ष गर्न सिकाउँछ । लेनिनले एउटा स्पष्ट विचारधारा र ठोस कार्यक्रमका आधारमा एकत्र भएका व्यक्तिलाई मात्र पार्टीको सङ्ज्ञा दिन सकिन्छ भनेका छन् । सङ्गठन विभिन्न प्रकारका हुन सक्छन्; जस्तै : वैधानिक, अवैधानिक, भूमिगत, खुला, राजनीतिक, सामाजिक, फौजी, वर्गीय आदि अर्थात् सङ्गठनको संरचना सङ्घर्षको स्वरूपअनुसार निर्माण हुन्छ । सङ्गठनात्मक अस्तित्वका लागि यी कुराको आवश्यकता पर्दछ : एक– नीति र उद्देश्यको निर्धारण; दुई– नेतृत्व र कार्यसमितिको चयन; तीन– निर्णय कार्यन्वयनका लागि पहलकदमी ।
सङ््गठनको उद्देश्य र पद्धति
ऐतिहासिक कालदेखि सङ्गठन निर्माणको कार्य दुई किसिमको उद्देश्य राखेर गरेको पाइन्छ : एक– उत्पीडित वर्गर्माथि उत्पीडक वर्गले शासन र शोषण गर्ने उद्देश्य राखेर; दुई– उत्पीडित वर्गले आफूमाथिको उत्पीडनबाट उन्मुक्ति पाउन ।
यसरी हेर्दा विरोधी वर्गमाथि दमन कायम राखिराख्न र त्यो दमनलाई खतम गरी त्यसको ठाउँमा समतामूलक र शोषणरहित समाज निर्माण गर्न सङ्गठनको औचित्य र आवश्यकता भएको देखिन्छ । दुई फरक उद्देश्यका साथ गठन भएका पार्टी परिचालनको पद्धति पनि स्वभावैले फरक हुने नै भए तर सुरु सुरुमा बुर्जुवा सङ्गठन र सामाजिक जनवादी सङ्गठन परिचालनका विधि एकै प्रकारका थिए, जसलाई सामाजिक प्रजातान्त्रिक सङ्गठनात्मक सिद्धान्त भनियो ।
मार्क्स र एङ्गेल्स पूर्व समाजमा पुँजीवादीको बोलबाला थियो । उनीहरूले उत्पीडित वर्गका विरुद्ध एकछत्र राज चलाएका थिए । मार्क्स र एङ्गेल्सले कम्युनिस्ट घोषणापत्र प्रकाशित गरेर शोषणको राजको विकल्पमा शोषित वर्गको राज्यसत्ता कायम गर्न सकिन्छ भनेर पुँजीवादको विकल्प समाजवादी शिविरको अवधारणा प्रस्तुत गर्नुभयो । मार्क्स र एङ्गेल्सको पालामा सङ्गठनले मूर्त रूप लिई नसकेको अवस्था भएको हुँदा उहाँहरूले पनि सामाजिक प्रजातन्त्रवादी सङ्गठनात्मक पद्धतिअनुसार काम गर्नुभएको थियो ।
पछिल्लो समयमा संसारभरिका पार्टीले पार्टी सञ्चालनका लागि दुई किसिमको पद्धति अपनाएको पाइन्छ : एक– सामाजिक प्रजातन्त्रवादी सङ्गठनात्मक पद्धति र दुई– लेनिनवादी सङ्गठनात्मक पद्धति ।
पहिलो पद्धति संसारभरिका बुर्जुवा वर्गले अपनाउने पद्धति हो । बुर्जुवाले सङ्गठनको प्रश्नलाई विशुद्ध प्राविधिक विषय ठान्दछन् । बुर्जुवा पार्टीहरू सामान्य आर्थिक सुधार र कल्याणकारी काममा आफूलाई सीमित गर्दछन् । बुर्जुवाहरू पनि आफूलाई समाजवादी भन्न रुचाउँछन् । उनीहरूको समाजवाद स्वतःस्फूर्तवादमा आधारित हुन्छ अर्थात् सामान्य मजदुर एक दिन स्वतःस्फूर्त रूपमा समाजवादमा पुग्ने छन् भन्ने विश्वासका साथ आफ्ना राजनीतिक गतिविधि सीमित गर्दछन् । पार्टीभित्र अर्को पार्टी बनाउनु उनीहरूका लागि सामान्य कार्य हो । आफूलाई चित्त नबुझेमा पार्टीको नीतिलाई सार्वजनिक रूपमा विरोध गर्ने, वक्तव्य निकाल्ने र सामाजिक सञ्जालमा राख्ने कुरा उनीहरूको लागि प्रजातान्त्रिक अधिकार हो । दुनियाँभरिका संशोधनवादी, अवसरवादी र दक्षिणपन्थी तत्त्वले पनि सामाजिक प्रजातान्त्रिक सङ्गठनात्मक सिद्धान्तलाई सङ्गठन परिचालनको आदर्श पद्धति मानेको पाइन्छ ।
संसारभरिका सच्चा क्रान्त्रिकारीले पार्टी सञ्चालनको विधि लेनिनवादी सङ्गठनात्मक पद्धति अपनाउँछन् । रुसमा सन् १९०२ देखि लेनिनवादी सङ्गठनात्मक सिद्धान्त लागु भयो भने विश्वका कम्युनिस्ट पार्टीले सन् १९२१ मा चीनमा भएको अन्तर्राष्ट्रिय दोस्रो सम्मेलनबाट लेनिनवादी सङगठनात्मक सिद्धान्तलाई अपनाउन थालेका हुन् ।
रुसमा मुलुकभरि छरिएका अनेकन् समाजवादी समूह थिए । तिनीहरूको बिचमा कुनै किसिमको समन्वय र संवाद थिएन । ती समूहले असङ्गठित विद्रोह सञ्चालन गर्दथे तर ती विद्रोह सजिलै दबाइन्थ्यो । रुसी क्रान्तिको संवेदनशीलतालाई मध्यनजर गरेर लेनिनले आफूलार्ई एउटा व्यावहारिक क्रान्तिकारीका रूपमा प्रस्तुत गर्दै अखिल रुसी केन्द्रीय सङ्गठन निर्माणको योजना प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार त्यस्तो सङ्गठनको स्वरूप अनिवार्य रूपमा कार्यकर्तामा आधारित (क्याडर बेस) हुने छ भनी स्पस्ट पनि गर्नुभएको थियो । कार्यकर्तामा आधारित पार्टी बनाउनुभन्दा पहिले सङ्गठन भनेको के हो ? सङ्गठनको सदस्य भनेको के हो ? अनुशासन भनेको के हो ? वर्गचेतना भनेको के हो ? वर्ग र सङ्गठनमाझ सम्बन्ध के हुन्छ इत्यादि प्रश्नको सही र उपयुक्त उत्तर प्राप्त भएपछि मात्र राजनीतिक दलको पूर्वाधार तयार हुन्छ भन्ने स्पस्ट मत लेनिनको थियो । त्यसका लागि लेनिनले सुरुमा एउटा अखबारलाई सङ्गठकको रूपमा स्थापित गर्ने योजना अगाडि सार्नुभएको थियो ।
लेनिनको के मान्यता थियो भने जसरी एउटा कागजी नक्साको मदतले एउटा भव्य महल खडा गर्न सकिन्छ । त्यसैगरी, समाचारपत्रको लेखन, मुद्रण, प्रकाशन र वितरणको क्रममा नै साङ्गठनिक कार्यको प्रारूप र समाजवादी सङ्गठनको ढाँचा तयार गर्न सकिन्छ । अखबारलाई सङ्गठकको गौरवपूर्ण भूमिका दिने कुरालाई धरैले बुझेनन् । अझ त्यसमाथि अखबारका एजेन्टलाई सङ्गठकको मुख्य भूमिका दिने कुराले धेरैको दिमाग चकराउनु स्वाभाविकै थियो । भयो पनि त्यस्तै । लामो समयसम्म सँगै काम गरेका मार्तोभले लेनिनको योजनालाई आत्मसात गर्न सकेनन् । प्रसिद्ध क्रान्तिकारी नेतृ रोजा लक्जमबर्ग सङ्गठनसम्बन्धी यो अवधारणमा सहमत हुन सकिनन् । द्वितीय अन्तर्राष्ट्रियका नेता कार्ल काउत्स्की पनि लेनिनदेखि खुसी थिएनन् ।
लामो समयसम्म रुसको क्रान्तिमा योगदान दिएका प्लेखानोभ, ट्राटस्की, जिनोभियब, कामोनेभ जस्ता नेताहरूले पनि लेनिनको सङ्गठनात्मक सिद्धान्तको धुँवादार विरोध गरेका थिए तर लेनिन पछि हट्नेवाला थिएनन् । उनलाई यो विश्वास भइसकेको थियो कि क्रान्ति सम्पन्न गर्न मजदुर वर्गसचेत भएर मात्र पुग्दैन, फलामे अनुशासनले लेस मजबुत सङ्गठनको जरुरत पर्दछ । शक्तिशाली सङ्गठनको माध्यमबाट क्रान्ति सम्पन्न हुने कुरा निर्णायक त हुन्छ नै, मजदुर वर्गको हातमा आएको सत्ता टिकाइराख्न पनि अनुशासित र मजबुत सङ्गठनको आवश्यकता हुन्छ । एकमना एकतामा आधारित क्रान्तिकारी सङ्गठन बिना क्रान्ति असम्भव छ ।
लेनिनले आफ्नो साङ्गठनिक योजनालाई थप स्पस्ट पार्न कहाँबाट सुरु गर्ने भन्ने लेख लेख्नुभयो । त्यो लेखले रुसी समाजवादी आन्दोलनमा ठुलो विवाद खडा गर्यो । विवादपछि आफ्नो विचारलाई थप मजबुत पार्न “के गर्ने” नामक पुस्तक प्रकाशन गर्नुभयो । उक्त पुस्तक लेनिनको मौलिक र महत्त्वपूर्ण रचना हो, जुन रचना लेनिनवादी सङ्गठनात्मक सिद्धान्त नामले प्रख्यात छ । आज पनि संसारका सच्चा कम्युनिस्ट पार्टीको सङ्गठन सञ्चालन गर्ने विधि लेनिनवादी सङ्गठनात्मक सिद्धान्तमा आधारित छ ।
मानवजातिले हजारौँ वर्षदेखि आफूलाई सङ्गठित गर्दै आएको छ । सङ्गठित हुनुपर्ने आवश्यकताको महसुस जुन बेलादेखि एउटा वर्गले अर्को वर्गलाई दमन गर्न सुरु गर्यो, त्यति बेलादेखि भएको हुनुपर्छ अर्थात् राज्य नामको संस्थाको उत्पक्तित्रमसँगै थिचोमिचोमा परेका वर्गले पनि त्यसको विरुद्ध सङ्घर्ष गर्न सङ्गठनको आवश्यकता महसुस गर्यो । सुरुसुरुमा उत्पीडनको विरुद्ध अमेरिका, बेलायत, युरोप, फ्रान्सलगायतका विश्वका थुप्रै देशमा ठुला ठुला आन्दोलन भएका थिए । ती आन्दोलन साना साना ग्रुपद्वारा स्वतःस्फूर्त रूपमा सञ्चालित आन्दोलन थिए । बेलायतले स्वतःस्फूर्त आन्दोलनको बलबाट आफूलाई अमेरिकी उपनिवेशबाट मुक्त घोषण गरेको थियो ।
सन् १८४८ मा कम्युनिस्ट घोषणपत्रको प्रकाशन भयो । त्यो भन्दा एक वर्षअगाडि सन् १८४७ मा कम्युनिस्ट लिगको स्थापना भयो । त्यो नै कम्युनिस्ट पार्टी निर्माणको आधार थियो । कम्युनिस्ट लिगको प्रथम अधिवेशन बेलायतमा भएको थियो । उक्त अधिवेशनले मार्क्स र एङ्गेल्सले अगाडि सारेको विचारलाई आत्मसात गर्दै “संसारका मजदुर एक हौँ” भन्ने नारा तय गर्यो, जसलाई सन् १८४८ मा प्रकाशित कम्युनिस्ट पार्टीको घोषणापत्रमा समावेश गरिएको छ । कम्युनिस्ट घोषणापत्र विश्वका श्रमजीवी वर्गको मुक्तिको हतियार बनेको छ । त्यसपछि कार्ल मार्क्स, फ्रेडरिक एङ्गेल्स, प्रुधोँ, लासाल आदिको नेतृत्वमा प्रथम अन्तर्राष्ट्रियको गठन भयो । प्रथम अन्तर्राष्ट्रियले आठघण्टे कामको अवधारणा अघि सार्यो । आठघण्टे कामको अवधारणाले मजदुर आन्दोलनका लागि ठोस आधार तयार पार्यो । दासप्रथा विरुद्धको आन्दोलनमा लिङ्कनले जनमत तयार गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । बेलायतमा चार्टिस्ट आन्दोलन सफल भयो । मजदुरले मताधिकारको अधिकार पाए ।
मानवजातिको आजसम्मको इतिहास वर्गसङ्घर्षको इतिहास हो । वर्गउत्पत्तिसँगै उत्पादनका साधन र उत्पादन सम्बन्धलाई कसरी आफ्नो हितमा प्रयोग गर्ने ध्याउन्ना सुरु भयो ।
सिद्धान्त र व्यवहारबिचको अन्तर्सम्बन्ध
सिद्धान्त र व्यवहारलाई काम र बोलीको बिचमा एकरूपताको रूपमा लिइन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा सिद्धान्त र व्यवहारको बिचमा ठुलो खाडल छ । सिद्धान्त एकातिर, व्यवहार अर्कोतिर हुँदा जनतामा ठुलो अविश्वासको स्थिति सिर्जना हुन्छ । कुण्ठा, निराशा, असमझदारी जस्तो अवस्था सिर्जना हुनु राम्रो कुरा होइन । सिद्धान्त र व्यवहारको बिचमा द्वन्द्वात्मक सम्बन्ध हुने हुँदा सिद्धान्त बिनाको व्यवहार अन्धो हुन्छ भने व्यवहार बिनाको सिद्धान्त कागजको खोस्टो साबित हुन्छ । यी दुईको बिचमा उचित समायोजन हुन आवश्यक छ । सिद्धान्त व्यवहारबाटै जन्मिने हो र समृद्धि हुने हो ।
व्यवहार ज्ञानको सुरुआती चरण हो । व्यवहारबाटै विचार, सिद्धान्त र दर्शनको सत्यता प्रमाणित हुन्छ । सिद्धान्त व्यवहारबाट जन्मिन्छ र व्यवहारकै सेवा गर्दछ । लेनिनका भनाइमा “क्रान्तिकारी व्यवहार बिना क्रान्तिकारी आन्दोलन हुन सक्दैन” । व्यवहार भनेको वर्गसङ्घर्ष, उत्पादन सङ्घर्ष र वैज्ञानिक प्रयोगसँग सम्बन्धित कुरा हो । माओले “व्यवहारलाई निसानामा तीर हान्ने” विषय बताएका छन् । मार्क्सवादी मान्यताअनुसार मानवज्ञानको सच्चाइ मापन गर्ने कसौटी नै सामाजिक व्यवहार हो ।
सिद्धान्तलाई व्यवहारसँग जोड्ने दुईओटा तरिका छन् : एउटा– मार्क्सवादी लेनिनवादी तरिका र अर्को– मनोगतवादी तरिका । मार्क्सवादी तरिकाले सिद्धान्तलाई व्यवहारसँग जोड्न, तथ्यबाट सत्य पत्ता लगाउन र वैज्ञानिक विश्वदृष्टिकोण अपनाउन सिकाउँछ भने मनोगतवादले सिद्धान्तलाई व्यवहारबाट अलग गराउन सिकाउँछ । लेनिनले व्यवहारलाई ऐनाको उपमा दिएका छन् । जसरी ऐना हेर्दा मानव आकृति छर्लङ्ग देखिन्छ, त्यसैगरी व्यवहारको कसीमा जाँचेपछि जनताले टाढैबाट के ठिक के बेठिक भनेर छुट्याउँछन् ।
अन्तर्विरोधसम्बन्धी सवाल
सङ्गठनलाई अन्तर्विरोधले जीवित राख्छ । अन्तर्विरोध बिनाको पार्टी कल्पना गर्न सकिँदैन । विश्व कम्युनिस्ट आन्दोलन अन्तर्विरोधको बिचबाट विकसित भएको हो । नेपालको सर्न्दभमा त यो बढी नै सत्य हो । पार्टीको स्थापनाकालदेखि नै नेपालको कम्युनिस्ट आन्दोलन विवाद र सङ्घर्षबिचबाट अगाडि बढिरहेको छ । कम्युनिस्ट पार्टीका सदस्य विभिन्न वर्गबाट आएको हुनाले उनीहरूले आफ्नो वर्गको स्वार्थलाई पनि सँगसँगै लिएर आएका हुन्छन् । सही विचार गलत विचारसँगको सर्ङ्घषबाट विकसित हुने हो । सही र गलतबिच द्वन्द्वात्मक सम्बन्ध हुन्छ ।
पार्टीभित्र अनेक अन्तर्विरोध विद्यमान हुन्छन । जुन बेलासम्म अन्तर्सङ्घर्षले शत्रुतापूर्ण रूप लिँदैन, त्यति बेलासम्म पार्टीभित्रको अन्तर्विरोधलाई एकता–सङ्घर्ष–एकताको तरिकाबाट समाधान गर्ने विधि अपनाइन्छ । जब अन्तर्विरोध शत्रुतापूर्ण रूपमा परिणत हुन्छ, त्यसपछि अन्तर्सङ्घर्षको स्वरूप पनि परिवर्तन हुन्छ । त्यस्ता अन्तर्विरोधलाई सङ्घर्ष–एकता–सङ्घर्षको माध्यमबाट सञ्चालित गरिन्छ । पार्टीभित्र विचार राजनीति, सिद्धान्त, कार्यनीति, रणनीति, कार्यशैली, व्यक्तिगत महत्त्वाकाङ्क्षा र पदलोलुपताका कारण उत्पन्न हुन्छन् । त्यसका साथै सङ्गठनातमक प्रश्नमा पनि अन्तर्विरोध देखा पर्दछन् । पार्टीभित्र देखिने अन्तर्विरोधको समयमै पहिचान गरी समाधानको सही उपाय अवलम्बन गर्नुपर्दछ । अन्तर्विरोध समाधान गर्दा अपनाइने सानो गल्तीले पार्टी र आन्दोलनलाई ठुलो नोक्सान हुन सक्छ ।
कुशल व्यवस्थापनको महत्त्व
असल सुरुवातबाट आधा काम सम्पन्न भएको मानिन्छ । सङ्गठनमा व्यवस्थापन भन्नेबित्तिकै योजना, समन्वय, उत्प्रेरणा, निर्देशन जस्ता महत्त्वपूर्ण पक्ष समावेश भएका हुन्छन् भन्ने बुझिन्छ । उपर्युक्त तत्त्वको अन्तरसम्बन्धबाट सङ्गठनलाई कुशलतापूर्वक सञ्चालन गर्न मदत मिल्दछ । जसरी एउटा मेसिनलाई नियमित रूपमा सर्भिसिङ गरियो भने मात्र त्यसले आफ्नो पूर्ण क्षमतामा काम गर्न सक्छ, त्यसैगरी सङ्गठनलाई निर्वाध रूपमा परिचालन गर्न व्यवस्थापकीय कार्यको महत्त्वपूर्ण भूमिका हुन्छ । मेसिनको पार्टपुर्जामध्ये एउटा मात्र नट ढिला भयो भने मेसिन चल्न बन्द हुन्छ । पार्टी संरचनामा पनि एउटा मात्र अङ्ग वा एकाइमा तलमाथि पर्यो भने सङ्गठन सञ्चालनमा अवरोध सिर्जना हुन्छ । सङ्गठनको तहगत संरचनामा सुधार ल्याउन पार्टीकामलाई सरलीकृत रूपमा सम्पन्न गर्न, पार्टीसङ्गठनलाई बढीभन्दा बढी जनताको बिचमा विस्तार गर्न र प्रभावकारी बनाउन व्यवस्थापन पक्षलाई चुस्तदुरुस्त राख्नुपर्ने हुन्छ । यदि व्यवस्थापन पक्ष कमजोर रह्यो भने सङ्गठन गतिशील हुन सक्दैन ।
सङ्गठनभित्रका समस्या पहिचान गर्ने कार्य पनि व्यवस्थापनको हो । कार्यकर्तालाई सही सूचना दिने, नयाँ नयाँ प्रविधिको जानकारी गराउने, समय समयमा प्रशिक्षण दिने, अन्तर्विरोधको पहिचान गर्न मदत जस्ता कार्य व्यवस्थापन पक्षका पाटा हुन् । यसरी हामी के बुझ्छौँ भने सङ्गठन र व्यवस्थापन एकार्काका परिपूरक हुन् । यिनीहरूको बिचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । यही द्वन्द्वात्मक सम्बन्धका कारण सङ्गठनमा गति उत्पन्न हुन्छ ।
क्रान्तिकारी पार्टीसङ्गठनको महत्त्व
बुर्जुवा, क्रान्तिकारी, कुनै आतङ्ककारी दस्ता, डाँकाको समूह, भजनमण्डली आदि सङ्गठनका स्वरूप हुन् । माथि नै भनियो कि विचारलाई व्यावहारिक रूप दिनका लागि सङ्गठनको खाँचो पर्दछ । त्यसैले सङ्गठन बनाउने कार्यमा जुनसुकै उद्देश्य भएकाले पनि ध्यान दिने गर्दछन् । क्रान्तिको उद्देश्य राख्नेका लागि पनि त्यही कुरा सत्य हो । कम्युनिस्टका लागि पार्टीक्रान्ति, परिवर्तन र विकासको विचारलाई कार्यान्वयन गर्ने एउटा साधन हो । त्यसैले उनीहरूले यसलाई धारिलो र मजबुत बनाउन एकदम ध्यान दिने गर्दछन् ।
वर्गसङ्घर्षलाई सञ्चालन गर्ने मात्र होइन, त्यसलाई क्रान्तिको आकार प्रदानका साथै त्यसमा विजय हासिल गर्नका लागि मजबुत सङ्गठन चाहिन्छ । जनवाद, समाजवाद, साम्यवाद जस्ता लक्ष्य हासिल गर्नु भनेको समाजमा महान् उथलपुथल ल्याउनु हो । यो रक्तपातपूर्ण, जटिल र वक्र भएर अगाडि बढ्ने समाजको ऐतिहासिक गति भएकाले यसमा सुझबुझपूर्ण तरिकाले काम गर्ने शक्तिशाली सङ्गठनको आवश्यकता पर्दछ ।
एकातिर, जुनसुकै बेला पनि रक्तपातका घटनालाई प्राथमिक ठान्ने, अर्कातिर, रक्तपातको आवश्यकता हुँदा पनि त्यसको आवश्यकतालाई अस्वीकार गर्ने जस्ता सिद्धान्त र व्यवहारको तालमेल लिन नसक्ने सङ्गठन आकारले जतिसुकै ठुला देखिए पनि क्रान्तिको मैदानमा निकम्मा भिड जस्ता हुन्छन् । त्यस्ता सङ्गठनले क्रान्तिको लक्ष्य कहिल्यै पनि पूरा गर्न सक्दैनन् । तिनीहरूले क्रान्तिको कुरा गरे पनि व्यवहारमा क्रान्तिको काम गर्न सक्दैनन् ।
निकम्मा भिड एक प्रकारले तमासा हेर्नेको जमात जस्तै हो । निकम्मा भिडमा सुविधा लिने, स्वार्थी, महत्त्वाकाङ्क्षी, अवसरवादी आदि मिसमास भएर रहेका हुन्छन् । त्यस प्रकारका तत्त्व मिलेर बनेको सङ्गठनले क्रान्ति र सामाजिक परिवर्तनका लागि भूमिका खेल्न सक्ने कुरा नै हुँदैन । यही कारणले हो कि बुर्जुवा र अवसरवादी सङ्गठनले क्रान्तिको कुनै उद्देश्य राख्दैनन् । तिनीहरूले यथास्थितिको अवस्थाअन्तर्गत अवसर खोज्दै सारा युग बिताउँछन् । त्यसैमा दाउपेच गरिरहन्छन् तर यसो गर्नका लागि पनि सङ्गठन त चाहिन्छ नै । यी सङ्गठन क्रान्तिका लागि आवश्यक हुँदैनन् । त्यसैले कम्युनिस्टले यीभन्दा फरक प्रकारले सङ्गठन बनाउनुपर्दछ, जुन सङ्गठनले क्रान्तिका कार्यभारलाई पूरा गर्न सकोस् । यसरी स्पष्ट छ कि क्रान्तिकारी सङ्गठनको महत्त्व कम्युनिस्ट उद्देश्यलाई पूरा गर्नका लागि छ । कम्युनिस्टले यस प्रकारको सङ्गठनको आवश्यकता र औचित्यतालाई पुष्टि गर्न सक्नुपर्दछ ।
निष्कर्ष
माथि उल्लेख भएका विषयले पार्टीसङ्गठनको आवश्यकता, महत्त्व र औचित्यतालाई स्पष्ट गर्ने प्रयास गर्दछन् । सत्ता र राजनीतिको जुनसुकै लक्ष्य पूरा गर्न सङ्गठन चाहिन्छ । लक्ष्य बेग्लाबेग्लै हुन्छन् । यहाँ कम्युनिस्ट पार्टीको सङ्गठनमा नै जोड दिइएको हो । कम्युनिस्टले मानवजातिको मुक्तिको लक्ष्य लिने भएकाले उनीहरूले त्यो लक्ष्य पूरा गर्ने सङ्गठनमाथि विश्वास गर्दै त्यसलाई व्यवस्थित गर्नुपर्दछ । सङ्गठनभित्र पैदा हुने अन्तर्विरोध र समस्याको समाधान पनि स्वयम् सङ्गठनभित्र खोजिनुपर्दछ ।
बुर्जुवा सङ्गठनहरू यथास्थितिवादी हुने भएकाले उनीहरूले मानवजातिको वास्तविक संसार भविष्यको खोजी गर्दैनन् । त्यसकारण तिनीहरूभन्दा बेग्लै प्रकारले सङ्गठन बनाएर मानवजातिको वास्तविक भविष्यको खोजी गर्नुका साथै त्यसको नेतृत्व गर्ने कम्युनिस्ट सङ्गठनको आवश्यकता हुन्छ, जसमा क्रान्तिको महान उद्देश्य निहित हुन्छ । त्यो उद्देश्य पूरा गर्न सिद्धान्त र व्यवहारबिचको अन्तर्सम्बन्धलाई व्यवस्थित गर्नु आवश्यक हुन्छ ।
अन्तर्विरोध सङ्गठनको जीवन भए पनि त्यसको सही सञ्चालन र समाधान हुन सकेन भने त्यसले सङ्गठनको जीवनलाई समाप्त गर्न पनि सक्दछ । त्यसैले त्यसको सही सञ्चालन र समाधान गर्ने लेनिनवादी विधिलाई कम्युनिस्टले अवलम्बन गर्नु अनिवार्य छ । त्यसो गर्नु भनेको कुशल व्यवस्थापन हो । सिद्धान्त, व्यवहार, साङ्गठिनक अवस्था, आर्थिक प्रणाली, कार्यक्रमको कार्यान्वयनको प्रक्रियामा प्रस्तुत गरिने सामञ्जस्यता र तालमेलपूर्ण व्यवहारले कुशल व्यवस्थापन हो वा होइन भन्ने कुरा प्रष्ट गर्दछ । यो प्रणाली जति मजबुत हुन्छ, त्यत्ति नै सङ्गठन सुदृढ भएर जान्छ । मानवजातिको मुक्तिको उद्देश्यलाई पूरा गर्न कम्युनिस्टलाई क्रान्तिकारी सङ्गठनको आवश्यकता हुन्छ । कम्युनिस्टले यस्ता सङ्गठनको महत्त्व र औचित्यतालाई पुष्टि गर्न क्रान्ति, आन्दोलन आदि क्रियाकलाप जनताको बिचमा सञ्चालन गर्नुपर्दछ ।