• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपालको राजनीतिको जवाफ का. चित्रबहादुर केसीमा अन्तरनिहित छ


  •   शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    (क)

    ‘नेपालको राजनीतिको जवाफ कामरेड चित्रबहादुर केसीमा अन्तरनिहित छ’—यो भनाइलाई हामीले अत्यन्तै गम्भीर रूपमा लिएका छौँ । यहाँ हामीले का. चित्रबहादुर केसीलाई एउटा व्यक्तिको रूपमा लिएका छैनौँ र हामीले उहाँलाई उहाँको सम्पूर्ण कार्यशैली र उहाँको पार्टीले अपनाएका नीति र कार्यक्रमको प्रतीकका रूपमा लिएका छौँ ।

    आज देशको दुर्भाग्य यो कुरामा छ कि उहाँले जुन प्रकारको कार्यशैली अपनाइरहनुभएको छ वा उहाँको पार्टीले जुन प्रकारको नीति र कार्यक्रम अपनाइरहेको छ, त्यसप्रति जनताको समुचित ध्यान गएको छैन । समर्थन प्राप्त भएको छैन । त्यसैले त्यो पार्टी एक प्रकारले उपेक्षित भएको छ र त्यसरी त्यो पार्टी “सानो” भएको छ । त्यही देशको दुर्भाग्यको कुरा हो ।

    आज जनतामा राजनीतिक पार्टी वा नेताहरूप्रति एक वा अर्को प्रकारले वितृष्णा बढ्दै गएको छ । त्यो स्वाभाविक पनि हो किनभने आज विभिन्न राजनीतिक पार्टी वा नेताहरूले जुन प्रकारको नीति अपनाइरहेका छन् वा व्यवहार गरिरहेका छन्, त्यसले देशलाई झन्पछि झन् बर्बादीतिर लगिरहेको छ । त्यसैले जनताले भन्ने गरेका छन्– कुनै पनि पार्टीले सिद्धान्त र नीतिका आधारमा काम गरिरहेका छैनन् । उनीहरूले व्यक्तिगत स्वार्थ, सत्ता वा पदलाई नै केन्द्रमा राखेर काम गर्दछन् । त्यसरी राजनीति पूरैजसो स्वार्थपूर्तिको साधन बन्न गएको छ । त्यस प्रकारका पार्टी नै सरकारमा छन् । यी पार्टीहरू सरकारमा भएको हुनाले नै देशको विकास हुन सकेको छैन ।

    देशको विकास हुन नसक्नुका चौतर्फी परिणाम सबैतिर देखा पर्न थालेका छन् । त्यसको सबैभन्दा पहिलो र महत्त्वपूर्ण असर नयाँ पिँढीमा परेको छ । अन्ततः देशको भविष्य नयाँ पिँढीमाथि नै निर्भर गर्दछ तर नयाँ पिँढीको ठुलो पैमानामा देशबाट पलायन भइरहेको छ । नयाँ पिँढीको त्यस प्रकारको पलायनको अर्थ देशको भविष्य अन्धकारमय हुनु नै हुन्छ । नयाँ पिँढीको त्यस प्रकारको पलायन यहीँ रोकिएन र त्यो बढ्दै गयो भने त्यसको परिणाम देशको भविष्य अनिश्चित र अन्धकारमय हुने निश्चित छ ।

    विद्यार्थीमा यो भावनाले घर बसाएको पाइन्छ : देशभित्र उनीहरूको कुनै भविष्य छैन । त्यसकारण देशबाहिर आफ्नो भविष्य खोज्नुबाहेक उनीहरूका अगाडि कुनै विकल्प छैन । उनीहरूको त्यस प्रकारको सोचाइमा सत्यता छ तर त्यसको अर्थ त्यो सोचाइ नै सही हो भन्ने अवश्य पनि होइन ।

    अहिले देशको अवस्था राम्रो छैन भने त्यसको समाधान देशबाट पलायन हुनु होइन । देशको बिग्रेको अवस्थालाई सुधार्ने प्रयत्न गर्नुपर्छ । देशको अवस्थामा सुधार गर्नका लागि देशको अवस्था कोबाट बिग्रेको छ ? त्यसप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । विद्यमान गलत प्रकारको व्यवस्था वा शासनप्रणालीका कारणले नै अथवा गलत राजनीतिक नेतृत्वको कारणले नै देशको अवस्था बिग्रेको हो । त्यसकारण ती सबैमा सुधार वा परिवर्तनका लागि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । त्यसका लागि सही जनचेतना आवश्यक हुन्छ ।

    विद्यार्थी वर्ग देशको सबैभन्दा सचेत र अग्रगामी समूह हो । भविष्यको वा देशको अहिलेको अवस्थामा परिवर्तन वा विकासका लागि विद्यार्थी समूहको अग्रगामी भूमिका आवश्यक छ तर त्यही समूहले पलायनको बाटो समात्छ भने न अहिले को अवस्थामा परिवर्तन वा सुधार हुन सक्ने छ, न नेपालको उज्ज्वल भविष्य नै बन्न सक्ने छ ।

    कुरा नयाँ पिँढीको मात्र होइन, देशको अर्थतन्त्र, कृषि, उद्योग शिक्षा, स्वास्थ्य आदि सबै क्षेत्रबाट युवाको ठुलो सङ्ख्यामा विदेश पलायन भइरहेको छ । कुरा पलायनको मात्र होइन, उनीहरूमध्ये धेरैले पाएसम्म विदेशको नागरिकता लिने प्रक्रिया यति तीव्र रूपले बढिरहेको छ कि आउने केही दशकमा यो प्रश्नको जवाफ दिनु पनि मुस्किल पर्ने छ : नेपालीहरू नेपालमै बस्ने छन् वा विदेशमा ?

    त्यसको अर्को पक्षतिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । नेपालमा भारतीयको प्रवेश र उनीहरू नेपालको नागरिक बन्ने प्रक्रिया पनि तीव्र रूपले बढिरहेको छ । सरकारले झन्पछि झन् अपनाउँदै गइरहेको उदार नागरिकता नीतिले नेपालको भारतीयकरण प्रक्रियामा झन् तीव्रता ल्याइरहेको छ । त्यसरी नेपालमा नेपाली नै अल्पमतमा पर्ने खतरा बढ्दै गइरहेको छ ।

    देशको अर्थतन्त्र, कृषि उद्योग, शिक्षा, स्वास्थ्य आदि सबैको अवस्था पनि बिग्रँदै गइरहेको छ । त्यसरी समग्र रूपमा देश बर्बादीतिर गइरहेको छ । अर्कातिर, प्रतिगामी शक्तिले देशमा राजतन्त्रको पुनर्स्थापना र धर्मनिरपेक्षतालाई समाप्त गर्न अभियान चलाइरहेका छन् । नेपालको सम्पूर्ण गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरूको गैरजिम्मेवार र भ्रष्ट भूमिका तथा देशको बिँग्रदै गइरहेको अवस्थाबाट प्रतिगामी शक्तिलाई विद्यमान लोकतान्त्रिक व्यवस्था वा गणतन्त्रको विरुद्ध जनमत तयार पार्न बल पुगिरहेको छ । त्यसरी प्रतिगामी शक्तिको आधार तयार पार्न स्वयम् गणतन्त्र पक्षधर राजनीतिक शक्तिको नकारात्मक रूपले महत्त्वपूर्ण भूमिका भएको कुरालाई अस्वीकार गर्न सकिन्न । त्यो अवस्थामा एकातिर प्रतिगामी शक्ति र अर्कातिर गणतन्त्र पक्षधर राजनीतिक शक्ति वा सरकारका गलत, गैरजिम्मेवार, भ्रष्ट नीति, क्रियाकलाप तथा कुशासनका विरुद्ध सशक्त आन्दोलन र जनजागरण उठाएर नै हामीले प्रतिगमनको खतरालाई रोक्न तथा देशलाई अग्रगमनको दिशामा लैजान सफल हुने छौँ ।

    देशले कुन दिशा लिने छ ? देशको उन्नति हुन्छ वा अवनति ? देश अग्रगमनतिर जान्छ वा प्रतिगमनतिर ? त्यो कुराको फैसला अन्ततः राजनीतिले नै गर्दछ । राजनीति भन्नुको अर्थ राजनीतिक पार्टी र सरकार दुवै हुन् ।

    अहिले देश अवनतितिर गइरहेको छ । देशमा प्रतिगमनको खतरा बढ्दै गइरहेको छ । त्यसका लागि राजनीतिक पार्टी वा उनीहरूका नीति र क्रियाकलाप नै जिम्मेवार छन् । त्यस प्रकारको पृष्ठभूमिमा जनतामा राजनीतिक पार्टीप्रति वितृष्णा पैदा हुनु स्वाभाविक नै हो तर त्यसो गर्ने बेलामा देशमा त्यसको अपवाद पनि छ । त्यो अपवाद कामरेड चित्रबहादुर केसी र उहाँले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चा हो भन्नेतर्फ जनताको कम ध्यान गएको पाइन्छ ।

    अहिले देशका राजनीतिक शक्तिका नीति र क्रियाकलाप गलत भएको हुनाले नै देश बर्बादीतिर गइरहेको छ । त्यो स्थितिबाट फाइदा उठाएर राजावादी शक्तिले देशलाई बर्बादीतिर लैजान खोजिरहेका छन् तर हामी के कुरामा प्रष्ट हुनुपर्दछ भने अहिले देशमा जुन अवस्था उत्पन्न भएको छ, त्यसको समाधान राजतन्त्र वा प्रतिगमन होइन, त्यसले देशलाई झन् बर्बादी तथा अँध्यारो भविष्यतिर लैजाने छ ।

    कतिपय अवस्थामा सही चेतनाको अभावमा वर्तमान राजनीतिक अवस्थाबाट निराश हुँदै गएका जनताले राजतन्त्रबाट पनि आफ्नो उद्धार हुने सपना देख्छन् तर राजतन्त्र र पञ्चापती तानाशाही व्यवस्थाको कालो र लामो इतिहास हाम्राअगाडि छ । यदि देशमा राजतन्त्रको पुनर्स्थापना भयो भने हामीले त्यसका विरुद्ध पुनः लामो र कठिन सङ्घर्ष गर्नुपर्ने छ । आज देश जसरी बर्बादीको दिशामा गइरहेको छ, त्यसको समाधान सही राजनीतिक पार्टी र त्यसका सही नीति र क्रियाकलापद्वारा नै सम्भव छ ।

    (ख)

    हामीले यो लेखको प्रारम्भमा नै का. चित्रबहादुर केसी र उहाँले नेतृत्व गरेको राजनीतिक पार्टी राष्ट्रिय जनमोर्चाद्वारा देशका राजनीतिक समस्याको समाधान सम्भव छ भन्ने विचार प्रकट गरेका छौँ । हाम्रो त्यस प्रकारको सोचाइ ठोस वस्तुगत सत्य तथ्यमाथि आधारित छ । का. केसीका अहिलेसम्मका व्यवहार तथा राष्ट्रिय जनमोर्चाका क्रियाकलापमाथि सर्सरी विचार गर्ने हो भने पनि जनताले अहिलेका राजनीतिक पार्टीहरू कुनै सिद्धान्त र नीतिका आधारमा नचलेको वा व्यक्तिगत स्वार्थ, पद र पैसाका लागि मात्र काम गर्ने गरेको जुन आरोप लगाउने गरेका छन्, ती आरोपमा सत्यता छ । ती आरोपबाट का. केसी र राष्ट्रिय जनमोर्चा अपवाद भएको कुरा छर्लङ्ग हुने छ । त्यही आधारमा नै हामीले का. केसी र राष्ट्रिय जनमोर्चाका नीति र क्रियाकलाप नै अहिलेको देशको राजनीतिको जवाफ हो भन्ने कुराको दाबी गरिरहेका छौँ ।
    कामरेड केसीको सम्पूर्ण राजनीतिक जीवन निष्कलङ्क छ । उहाँ लामो समयसम्म सांसद हुनुभएको छ र अहिले पनि सांसद हुनुहुन्छ । सांसदहरूले आफ्नो संसदीय जीवनमा कैयौँ प्रकारका आर्थिक अनियमितता वा भ्रष्टाचार गरेका कुरा बाहिर आइरहन्छ तर का. केसीको लामो संसदीय जीवनमा अहिलेसम्म पनि त्यस प्रकारका एउटा पनि दाग लागेको छैन ।

    लेखा समितिको सभापति भएको बेलामा अन्य कैयौँ सांसदले करोडौँ/अरबौँ रुपैयाँ भ्रष्टाचार गरेका कैयौँ उदाहरण छन् तर उहाँ सभापति भएको बेलामा उहाँलाई करोडौँ रुपैयाँका ब्रिफकेस दिने प्रयत्न गरिएको थियो तर उहाँले त्यो बेला पनि एक रुपैयाँ घुस लिनुभएको थिएन ।
    राष्ट्रिय जनमोर्चाबारे प्रायशः यो भन्ने गरिन्थ्यो : कुनै पार्टी सरकारबाहिर हुँदा मात्रै भ्रष्टाचारको विरोध गर्दछ तर सरकारमा गएपछि सबै उस्तै हुन्, सबैले भ्रष्टाचार गर्ने गर्दछन् । का. केसी पनि उपप्रधानमन्त्री, सहकारी तथा गरिबी निवारणमन्त्री बन्नुभएको थियो । त्यो बेला कर्मचारीले उहाँलाई पनि घुस खुवाउने प्रयत्न गरेका थिए तर उहाँले एक रुपैयाँ घुस लिनुभएन । त्यसको सट्टा उहाँले कतिपय भ्रष्टाचार गर्ने अधिकृतलाई बर्खास्त पनि गर्नुभयो यद्यपि त्यस्ता व्यक्तिहरूले सर्वोच्च अदालतबाट तुरुन्त स्टेअर्डर ल्याएका थिए ।

    संसद् वा सरकारबाहिरका कतिपय प्रसङ्गमा† जस्तै : अर्घाखाँची चुनढुङ्गा प्रकरणमा कतिपय व्यक्तिले उहाँलाई घुस दिन खोजेका थिए तर त्यस प्रकारको रकम लिन उहाँले ठाडै अस्वीकार गर्नुभएको थियो । यी केही उदाहरणबाट का. केसी संसद् वा सरकारमा गएर भ्रष्टाचार गर्ने अन्य पार्टीका नेताभन्दा बेग्लै, माथि र निष्कलङ्क भएको कुरा प्रष्ट हुन्छ । ती केही उदाहरणभन्दा महत्त्वपूर्ण कुरा यो हो कि आफ्नो सम्पूर्ण राजनीतिक जीवनमा का. केसीलाई त्यस प्रकारको कुनै दाग लागेको छैन ।

    कुरा का. केसीको मात्र होइन, गत कालमा राष्ट्रिय जनमोर्चाबाट धेरै व्यक्ति सांसद बनेका छन् । अन्य पार्टीका सांसदहरू विभिन्न आर्थिक अनियमितता वा भ्रष्टाचारमा संलग्न भएका कैयौँ घटना बाहिर आउने गर्दछन् तर राष्ट्रिय जनमोर्चाका कुनै सांसदमाथि त्यस प्रकारको आरोप लाग्ने गरेको छैन ।

    संसदीय विकास पूर्वाधार कोषको लागि सांसदलाई मिल्ने रकम हिनामिना गरेका वा भ्रष्टाचार गरेका कुरा धेरै नै उठ्ने गर्दछन् । कैयौँ सांसदले कर्मचारी, प्रशासन, उपभोक्ता समिति वा ठेकेदारसँग मिलेर करोडौँ रुपैयाँ भ्रष्टाचार गर्ने गर्दछन् । त्यसरी उनीहरूले अर्को चुनावका लागि ठुलो रकम सञ्चय गर्ने गर्दछन् र त्यही रकम खर्च गरेर चुनाव जित्ने प्रयत्न पनि गर्दछन् । कैयौँ सांसद वा पार्टीको यस प्रकारको भ्रष्ट प्रवृत्तिका कारणले उनीहरूले जनतामा पनि भ्रष्टाचार फैलाउँछन् तर राष्ट्रिय जनमोर्चाका कुनै पनि सांसदले त्यसो गर्ने गरेको एउटा पनि उदाहरण छैन ।
    हामीले यो कुरा स्वीकार गर्दछौँ कि राष्ट्रिय जनमोर्चाका स्थानीय निकायका एकाध जनप्रतिनिधिले गत कालमा भ्रष्टाचार गर्ने गरेका उदाहरण अवश्य छन् तर त्यस प्रकारका कुनै घटना घटेमा राष्ट्रिय जनमोर्चाले उनीहरूमाथि कारबाही गर्छ र निष्काशनसमेत गर्छ । त्यसरी राजमोले भ्रष्टाचारका आरोपमा निष्काशन गरेका जनप्रतिनिधिलाई अन्य पार्टीले फूलमाला लगाएर स्वागत गर्दै लैजान्छन् । अन्य पार्टीमा त्यस प्रकारको भ्रष्टाचार गर्नु सामान्य कुरा हो र उनीहरूका लागि त्यो एक प्रकारको संस्कार नै बनिसकेको छ । यही कुराले हाम्रो पार्टी राजमोलाई अन्य पार्टीभन्दा बेग्लै बनाउँछ र माथि उठाउँछ ।

    माथिका केही उदाहरणबाट यो कुरामा कुनै शङ्का रहन्न कि माथि हामीले का. केसीको चरित्रबारे जुन कुरा गर्‍यौँ, त्यो उहाँको मात्र व्यक्तिगत चरित्र नभएर पूरै पार्टीको नै वा राजमोको त्यस प्रकारको चरित्र रहेको छ । जब पार्टीका कुनै नेता वा कार्यकर्ताको चरित्र वा व्यवहारमा ह्रास आउँछ, उनीहरूलाई पार्टीले कारबाही गरेर निष्काशन गर्छ वा त्यो व्यक्ति स्वयम् नै यो पार्टीमा रहन सक्दैन र छाडेर जान्छन् ।

    का. केसीले आफ्नो राजनीतिक जीवनमा लामो समयदेखि जुन उच्च प्रकारको नैतिकता निर्माण गर्दै आउनुभएको छ, त्यो राजमोको त्यस प्रकारको चरित्रको नै परिणाम हो । त्यो कुरालाई दुई बेग्लाबेग्लै प्रकारले प्रस्तुत गर्न सकिन्छ : या त का. केसीको उच्च नैतिक चरित्र र राजनीतिक चरित्रले पूरै पार्टी प्रभावित हुन गएको छ या पार्टीको उच्च नैतिक र राजनीतिक चरित्र तथा अनुशासनको कारणले का केसीमा पनि उच्च प्रकारको नैतिक र राजनीतिक चरित्रको निर्माण हुन गएको छ । ती दुवै कुरा परस्परमा सम्बन्धित छन् । सायद ती दुवैलाई एकार्काबाट अलग गरेर हेर्नु सम्भव छैन ।

    राजमोको दृष्टिकोण, चरित्र निर्माण र त्यसका उच्च प्रकारका नीति र क्रियाकलापका पछाडि एउटा अर्को पक्षले पनि योगदान पुर्‍याएको छ । त्यो पक्ष हो– नेकपा (मसाल) सित त्यसको सम्बन्ध । विश्वस्तरमा र नेपालमा पनि कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक, राजनीतिक वा सङ्गठनात्मक रूपले धेरै नै विचलन भएको अवस्थामा मसालले मार्क्सवादी–लेनिनवादी सिद्धान्त, दर्शन तथा आदर्शको आधारमा काम गर्ने प्रयत्न गर्दै आएको छ । त्यसले मसालको त्यस प्रकारको सिद्धान्त, दृष्टिकोण र कार्यशैलीले पनि राजमोलाई दिशानिर्देशन गर्दै आएको छ । राजमोको चरित्र अन्य विभिन्न राजनीतिक पार्टीको भन्दा उच्च धरातलमा निर्माण हुनुका पछाडि मसालसित त्यस प्रकारको सम्बन्धले पनि महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

    यसरी राजमोको उच्च प्रकारको चरित्र निर्माण भएको छ । त्यसले गर्दा त्यसलाई देशमा सही र सशक्त प्रकारको भूमिका खेल्न पनि मदत पुर्‍याएको छ । त्यसको त्यस प्रकारको भूमिकाको लामो इतिहास छ । यहाँ हामीले त्यस प्रकारको राजनीतिक भूमिकासित सम्बन्धित केही पक्षलाई नै प्रस्तुत गर्ने प्रयत्न गर्ने छौँ ।

    राजमोले कहिल्यै कुनै गलत तत्त्वसँग गलत प्रकारको सम्बन्ध नराखिकन वा सिद्वान्तहीन प्रकारको कुनै सम्झौता नगरिकन एकातिर आफ्ना राजनीतिक उद्देश्य, नीति र कार्यक्रम तथा अर्कातिर वस्तुस्थिति स्थितिको सही विश्लेषण गरेर आफ्ना राजनीतिक कार्यविधिलाई अगाडि बढाउँदै आएको गौरवूर्ण इतिहास छ । त्यसले देशमा विद्यमान अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थालाई समाप्त गरेर नयाँ जनवादी क्रान्तिको उद्देश्य पूरा गर्न चाहन्छ । त्यसरी नै देशमा विद्यमान आधारभूत समस्याको समाधान हुने छ तर तत्काल त्यसले दुईओटा दुस्मनशक्तिका विरुद्ध आफ्नो सङ्घर्ष केन्द्रित गर्ने गरेको छ । ती दुईओटा दुस्मन शक्तिहरू हुन्– देशीय सामन्तवाद र विदेशी साम्राज्यवाद । अन्य कतिपय राजनीतिक शक्तिले सत्ता वा आफ्ना विभिन्न राजनीतिक स्वार्थका लागि ती दुवै दुस्मनशक्तिसित सम्झौता गर्ने गर्दछन् तर राजमोले ती दुवैका विरुद्ध सम्झौताहीन प्रकारले सङ्घर्ष गर्दै आएको छ ।

    देशमा राजतन्त्र समाप्त भएर गणतन्त्र कायम भएको छ तर सामन्ती व्यवस्था पूरै समाप्त भएको छैन र त्यो नेपालमा अझै पनि अर्धसामन्ती अवस्थाको रूपमा विद्यमान छ । राजतन्त्र समाप्त भएको भए पनि त्यसको पुनर्स्थापनाका लागि राजावादीले सङ्गठित र योजनाबद्ध प्रकारले अभियान चलाइरहेका छन् ।

    अहिले देशमा कायम भएको गणतन्त्र अवश्य पनि नयाँ जनवादी गणतन्त्र होइन र त्यो पुँजीवादी प्रकारको छ तैपनि अहिले नेपालको ऐतिहासिक सन्दर्भमा त्यसको प्रगतिशील महत्त्व छ । राजावादीले त्यसलाई समाप्त गर्न प्रयत्न गरिरहेका छन् । गणतन्त्र नेपाली जनताको करिब एक शताब्दी लामो सङ्घर्ष, त्याग र बलिदानपछि नै प्राप्त भएको हो । त्यसकारण त्यसको रक्षा गर्नु अहिलेको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको छ । त्यसका लागि एकातिर प्रतिगामी शक्तिको विरुद्ध लगातार सम्झौताहीन सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ । अर्कातिर, देशमा गणतन्त्र ल्याउनका लागि जुन राजनीतिक शक्तिको महत्त्वपूर्ण भूमिका रहेको छ, उनीहरूले पनि त्यसबारे प्रायशः ढुलमूल, अवसरवादी र सम्झौतापरस्त नीति अपनाएको पाइन्छ । राजमोले त्यस प्रकारका प्रवृत्तिका विरुद्ध लगातार सङ्घर्ष गर्दै आएको छ ।

    कतिपय वामपन्थी शक्तिहरूले एक वा अर्को प्रकारले गणतन्त्रको विरोध गरेर प्रतिगमनको सेवा गरेको पाइन्छ । अहिले राजावादीको मुख्य प्रहार गणतन्त्र र देशमा विद्यमान बहुदलीय व्यवस्था वा संसदीय प्रणालीमाथि नै छ । रणनीतिक दृष्टिकोणले यी दुवैका विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ तर तात्कालिक अवस्थामा ती दुवैलाई समाप्त गर्नुको अर्थ देशको राजनीतिलाई प्रतिगमनको दिशामा धकेल्ने नै हुने छ । दुःखको कुरा हो कि आफूलाई उच्च क्रान्तिकारी ठान्ने कतिपय वामपन्थी शक्तिले पनि त्यस प्रकारको प्रतिगामी अभियानमा मदत पुर्‍याउने काम गरिरहेका छन् । त्यसका पछाडि हामीले उनीहरू नियतमा नै कुनै शङ्का गर्दैनौँ तर मार्क्सवादी दर्शन, खास गरेर ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नीति निर्धारण गर्ने उनीहरूको सोचाइमा भएको दृष्टिदोषका कारणले, अर्को शब्दमा उनीहरूको वामपन्थी सङ्कीर्णवादी सोचाइका कारण उनीहरूले त्यस प्रकारको गलत सोचाइ अपनाएर प्रतिगमनलाई मदत पुयाउने काम गरिरहेका छन् । राजमोले त्यस प्रकारका गलत सोचाइबाट आफूलाई पूरै अलग राखेको छ र त्यस प्रकारका सोचाइका विरुद्ध सङ्घर्ष पनि गर्दै आएको छ ।

    साम्राज्यवादी शक्तिद्वारा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथिको खतरा बढ्दै गइरहेको छ । त्यस सन्दर्भमा भूराजनीतिक स्थितिका कारण भारतीय साम्राज्यवादबाट नेपालमा बढ्दै गएको खतरा सबैभन्दा गम्भीर छ । नेपालका विभिन्न राजनीतिक शक्तिले त्यसप्रति सम्झौतापरस्त वा दलालीको नीति पनि अपनाउने गरेका छन् । त्यस सिलसिलामा उनीहरूले नागरिकताबारे अपनाएको उदार नीति विशेष रूपले उल्लेखनीय छ । नागरिकतासम्बन्धी त्यस प्रकारको उदार नीतिका कारणले भारतीयलाई ठुलो सङ्ख्यामा नेपालको नागरिक बन्ने, त्यसरी नेपालमा आफ्नो बहुमत बनाएर सिक्किममा जस्तै नेपालमाथि कब्जा गर्ने गम्भीर खतरा देखा परेको छ ।

    भारतले नेपालमा साम्राज्यवादी उद्देश्य पूरा गर्नका लागि आफ्नो निर्देशनमा चल्ने कैयौँ राजनीतिक दल बनाएको छ, जसले सधैँ खुला र नाङ्गो प्रकारले भारतीय साम्राज्यवादी स्वार्थको पक्षपोषण गर्ने गर्दछन् । यो आम रूपमा थाहा भएको कुरा हो कि राजमोले भारतीय साम्राज्यवादका त्यस प्रकारका नीतिको विरुद्ध सधैँ सम्झौताहीन तथा दृढतापूर्वक विरोध गर्दै आएको छ ।

    अब अमेरिकी साम्राज्यवादले प्रत्यक्ष रूपले नै नेपालमाथि हस्तक्षेप गर्न थालेको छ । पहिले त्यसले भारतको माध्यमद्वारा नेपालका राजनीतिक पार्टी वा सरकारमाथि दबाब दिन्थ्यो । अब त्यसले खुला रूपमा नेपालमा भारतीय साम्राज्यवादले जस्तै नेपालमा त्यसको प्रत्यक्ष निर्देशनमा चल्ने राजनीतिक पार्टी गठन गरेर आफ्नो प्रत्यक्ष नियन्त्रण कायम गर्ने नीति अपनाउन थालेको छ । नेपालका अन्य राजनीतिक पाटीले अमेरिकी साम्राज्यवादप्रति सम्झौतापरस्त नीति अपनाउने गर्दै आएका छन् । उनीहरूले एमसिसीलाई संसद्मा पारित गराएको कुराबाट त्यो कुरामा कुनै शङ्का रहन्न तर उनीहरूको त्यस प्रकारको अमेरिकापरस्त वा सम्झौतापरस्त नीतिलाई अमेरिकाले पर्याप्त ठान्दैन । उसलाई यस्तो राजनीतिक शक्तिको आवश्यकता छ, जसले अमेरिकाको प्रत्यक्ष निर्देशनमा काम गरोस् । देशका अन्य कतिपय राजनीतिक शक्तिले अमेरिकाप्रति सम्झौतापरस्त नीति अपनाए पनि उनीहरूले चीनसित पनि मैत्रीसम्बन्ध कायम गर्ने नीति अपनाउँछन् । अमेरिकाको दृष्टिकोणमा त्यो दोहोरो र ढुलमूल नीति हो । त्यसैले अमेरिकाले आफ्ना लागि प्रत्यक्ष निर्देशनमा चल्ने राजनीतिक पार्टी आवश्यक ठानेको छ र त्यस प्रकारको राजनीतिक दलले नेपालमा कायम गर्न पनि सुरु गरिसकेको छ तर राजमोले अमेरिकी साम्राज्यवादको नेपालप्रतिको त्यस प्रकारको साम्राज्यवादी नीतिको पूरै विरोध गर्दै आएको छ । चितवनको उपचुनावमा त्यसको सहभागिता र अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियान त्यस प्रकारका नीतिको केही उल्लेखनीय उदाहरण हुन् । वास्तवमा अमेरिकी साम्राज्यवाद विरुद्धको सङ्घर्षमा राजमो नै अग्रिम स्थानमा छ ।

    चीन पनि साम्राज्यवादी देश हो । नेपालका कतिपय पार्टीले त्यसलाई अझै पनि समाजवादी देश ठान्ने गर्दछन् । राजमोले त्यस प्रकारको गलत अवधारणालाई अस्वीकार गर्दछ तर चीन साम्राज्यवादी देश भए पनि नेपालको विशिष्ट प्रकारको भूराजनीतिक स्थिति र अमेरिकी र भारतीय साम्राज्यवादको नेपालप्रतिको हस्तक्षेप र अतिक्रमणका विरुद्ध सन्तुलन र नियन्त्रणका लागि चीनसितको मित्रतामा विशेष जोड दिन्छ यद्यपि लिपुलेकबारे चीनले भारतसित गरेको सम्झौता तथा देशको नयाँ नक्सामा कालापानी क्षेत्रलाई नेपालमा नदेखाइएका जस्ता कार्यप्रति त्यसले चीनको नीतिको विरोध गरेको छ ।

    राजमोले देशमा प्रतिगमनको खतरालाई अत्यन्त गम्भीर रूपमा लिएको छ र त्यसका विरुद्ध आउने शक्तिसित कार्यगत एकता, गठबन्धन या सहकार्य गरेर गर्ने स्पष्ट नीति लिँदै आएको छ । त्यस प्रकारको नीति स्पष्ट राजनीतिक सिद्धान्तमाथि आधारित रहने गरेको छ तर अन्य पक्षले दलीय स्वार्थ, सत्ता वा विभिन्न स्वार्थलाई केन्द्रमा राखेर अराजनीतिक वा सिद्धान्तहीन प्रकारले गठबन्धनमा हेराफेरीको नीति अपनाउने गरेका छन् । यहाँसम्म कि चुनावको बेलामा पनि उनीहरूले परस्परमा भएका समझदारीलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने गरेका छैनन् । उनीहरूको त्यस प्रकारको सिद्धान्तहीन र अराजनीतिक कार्यप्रणालीको तुलनामा राजमोले सबै प्रतिबद्धता कार्यान्वयन गर्ने गरेको छ । त्यस अर्थमा राजमो अन्य राजनीतिक पार्टीभन्दा धेरै माथि र उच्च भएको कुरामा कुनै शङ्का रहन्न ।

    राजमो आफ्नो प्रतिबद्धतालाई पूरा गर्ने प्रश्नमा कहाँसम्म इमानदार, दृढ र सच्चा रहने गरेको छ ? त्यो कुरा गण्डकी प्रदेशको एउटा उदाहरणबाट पनि प्रष्ट हुने छ । पाँचदलीय गठबन्धनमा एमालेका सबै प्रदेश सरकारका विरुद्ध अविश्वासको प्रस्ताव राख्ने समझदारी भएको थियो तर गण्डकी प्रदेशसभामा राजमोका एक जना सांसदले नै आफ्नो पार्टीको त्यो नीतिलाई समर्थन गर्नुभएन । त्यसपछि राजमोले उहाँमाथि अनुशासनको कारबाही गर्‍यो र उहाँको सांसदको पद नै खारेज गरिदियो । यो एउटा मात्र उदाहरणले पनि राजमो आफ्ना नीति र प्रतिबद्धतामा इमानदार र दृढ रहने गरेको कुरालाई नै बताउँछ ।

    अर्कातिर, निर्वाचनको समयमा अन्य राजनीतिक पार्टीमा त्यस प्रकारको इमानदारितामा कहाँसम्म कमी रहने गरेको छ ? त्यसका कैयौँ उदाहरण छन् । स्थानीय, प्रदेश र संसदीय चुनावमा पाँचदलीय गठबन्धनबाट साझा उम्मेदवार तोकिएका थिए । राजमोले जहाँ जे जस्तो समझदारी भएको थियो, त्यसअनुसार नै अन्य पक्षका उम्मेदवारलाई समर्थन गर्‍यो । त्यसका विपरीत स्थानीय, प्रदेश वा संसदीय चुनावमा हाम्रा उम्मेदवारका विरुद्ध बागी उम्मेदवार खडा गर्ने वा एमालेका उम्मेदवारलाई समर्थन गर्नेसमेत गरिएको छ । पाँचदलीय गठबन्धनमा एमालेसित तालमेल नगर्ने निर्णय भएको थियो तर पाँचदलीय गठबन्धनसित सम्बन्धित कतिपय पक्षले हाम्रा उम्मेदवार विरुद्ध एमालेका उम्मेदवारलाई जिताउन प्रयत्न गरे ।

    जस्तो कि माथि उल्लेख गरियो, पार्टीको नीतिका विरुद्ध जाने गण्डकीमा आफ्नो पार्टीको सांसदलाई राजमोले कारबाही गरेको छ तर चुनावी तालमेलसम्बन्धी पाँचदलीय गठबन्धनका बिचमा कतिपय स्थानमा पाँचदलीय गठबन्धनमाझ भएको समझदारीअनुसार उठेका उम्मेदवार विरुद्ध पनि उम्मेदवार उठाउने काम गरियो तर त्यस प्रकारका पाँचदलीय समझदारीका गठबन्धनको चुनावी तालमेलका विरुद्ध भएका कार्यकर्ता कसैमाथि पनि अनुशासनको कारबाही गरिएन । यसबाट राजमो र अन्य पक्षको राजनीतिक इमानदारितामा कति धेरै अन्तर छ ? त्यो कुरा दिनको उज्यालो झैँ छर्लङ्ग छ ।

    राजनीतिमा इमानदारिताको ठुलो महत्त्व हुन्छ । हामीले यो कुरामा विश्वास गर्दछौँ कि दुस्मनशक्तिसँग गरिएको सहमति वा प्रतिबद्धतालाई पनि इमानदारिपूर्वक पालन गर्नुपर्दछ । दुस्मनशक्ति विरुद्ध गरिने सङ्घर्षलाई व्यापक र सम्झौताहीन प्रकारले अगाडि बढाउनुपर्छ । हामीले यही मान्यताअनुसार सधैँ काम गर्दै आएका छौँ तर नेपालका अन्य कतिपय राजनीतिक पार्टीमा त्यस प्रकारको इमानदारिताको अत्यन्त कमी पाइन्छ । माथिका केही उदाहरणबाट त्यो कुरा छर्लङ्ग हुन्छ । त्यस प्रकारको प्रवृत्तिको परिणाम यो हुन्छ, जो जनताप्रति इमानदार हुँदैनन्, पार्टीप्रति पनि इमानदार हुँदैनन् । सरकारमा गएर पनि उनीहरूले प्रतिबद्धता पूरा नगरेको कुरा आम रूपमा थाहा भएको कुरा हो । त्यही प्रकारले उनीहरूद्वारा हुने भ्रष्टाचार, कुशासन वा जनता र राष्ट्रका विरुद्ध उनीहरूले अपनाउने गलत नीति पनि त्यसैका परिणाम हुन् । त्यस प्रकारका प्रकारको चरित्र भएका नेताले देशलाई झन् अधोगतितिर लैजान्छन् । त्यसैले गर्दा उनीहरूले प्रतिगमनलाई बल पुराउने काम गरिरहेका छन् ।

    यी सबैको जबाव का. चित्रबहादुर केसी हुनुहुन्छ । त्यसैले हामीले यो दाबी गर्दछौँ कि यी सबै कुराको जवाफ का. चित्रबहादुर केसी र उहाँले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चाका नीति र कार्यक्रम नै हुन् । यो दाबी गर्नका लागि हामीसित ठोस र वस्तुगत आधार छन् ।

    शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.