डिल्ली अम्माई ##
अरूको पसिनामा लोभ नगर्नु सुन्दर कुरा हो
स्वाभिमानको लागि चिन्तन गर्नु सुन्दर कुरा हो
प्रेमबाट सृष्टिमा करुणा उमार्नु
अरूलाई चोट लाग्दा दुखिनु
र निर्भय समाजको कल्पना गर्नु सुन्दर कुरा हो
तर सुन्दर झरनाको आवाजले लोभिनु
लोभ्याउनु र एकैसाथ माथि हेर्नु
हजारौँ निर्धनको न्यायका लागि
आवाज बोकेर गर्जनु झनै महान् कुरा हो
हिमालको शीतलतामा चेतनाका किरणले स्नान गर्दै
भविष्यका सुन्दर शिशुको स्वर्गको लागि
आकाशका तारा धर्तीमा बोलाएर
घरभित्रको अँध्यारो सुकाउनु सुन्दर कुरा हो
जूनको उज्यालोमा तपाएर समाजको मयल निखार्न
फिँज आउन्जेल मैला कलेटी पखालेर
पानीभित्र उदाएको चाँदनी जस्तै उज्याला
सुकिला बाटोका दिशाहरू देखाउनु
आशाको सङ्घर्षले दुखलाई निचोर्नु
सुन्दर र गौरवपूर्ण कुरा हुँदै हो
त्यो समानताको चम्किलो सुन्दर बाटो
शोषणको दुर्गन्धभित्र सपना उठाउने आवाज
मानव जातिको लागि समानताको शङ्खघोष
अनेक पीडाको बारुदबाट बम बनाएर
धर्तिको कायापलट गर्ने लक्ष्य
त्याग र सौर्यको तापले गरिवी सुकाउने कला
इन्द्रेणी भन्दा पनि सुन्दर कुरा हो
थोपरिएको पिडाको टनक नसहनु
प्रतिरोधको मुठीभित्र आगो बल्नु
नागरिकको प्रेममा हिमपात जस्तै बर्सिनु
बाटो हिँड्दा सिंहावलोकन गर्नु
उठ्नु उठाउनु र जुट्नु जुटाउनु
कर्मको उचाइमा हिमाल जस्तै अग्लिएर
सपनाको उचाइले जून टिप्न खोज्नु
आशा सजाइरहनु सुन्दर कुरा हो
सबैभन्दा सुन्दर दिनमा
मानव प्रेमका तपतपले स्नान गराउँदै
जनजनमा आफूलाई रोप्नु
समयको गतिलाई पच्छ्याउँदै
धर्तीको धुलो चुसेर
पलपलमा सृष्टिको सेवा गर्नु
सपनाको तस्बिर दिलमा सजाएर
लोकनाथको चेहरामा खुसी सुम्पिनु
तारा र जून टिपे जस्तै सुन्दर कुरा हो
सबैभन्दा सुन्दर आँखाको दृश्यगोचर
चित्रमा सजाएको स्वर्ग जस्तै प्रेमिल हुन्छ
ती आँखाको ज्योतिले चुम्बन गरेका
सृष्टिका सुन्दर रक्त कणिका
सपनामा सजाउनुपर्छ मानवले
त्यही निर्भय शक्तिले हलाहल विष पिउने छ
यो व्यभिचारी अवस्थाको नामेट पार्ने छ
अनि तैरिने छ समुद्रको फोहर फिँज बनेर
र विस्तारै वेगवान् तरङ्गले छेउ लगाउने छ
लक्ष्यविहीनताको पर्खाल भत्काएर
लक्ष्य साँध्ने छ भाग्यको दुश्चक्रमाथि
हरेक नरसंहारको रगत फाट्ने छ
एटम बम बनेर पड्किने छ चिहानभित्रबाट
धुवाँको भुवरीले जातिजातिका सिमाना पुर्ने छ
र देश देश जुटेर महादेश बन्ने छ मानवताको
आकाशमा तारा मैलिने छैनन् फेरी
क्षितिजमा नयाँ सूर्योदय हुने छ न्याय र समानताको
विभेदका गीत विज्ञानमा फेरिने छन्
प्रकाश ज्योतिर्मय बन्ने छ
झगडाको बिज फालिने छ आगोको भट्टीमा
आगोमा फिलिङ्गा उड्ने छन् र जुनकिरी बन्ने छन्
तिनै जुनकिरी मिलेर पृथ्वी उज्यालिने छ भोलि
त्यसैले सबैभन्दा सुन्दर कुरा हो सपनाको बिज रोप्नु
सुन्दर गुँड बनाएर सपनाका फूल पार्नु
सपनाका फुल कोरल्न ओथारो बस्नु
अन्डा निरन्तर तताइरहनू, न्यानो दिइरहनू
लुटेरा सिकारी जन्तुबाट बचाउनु
सपना कोरलेर बचेरा पार्नु र हुर्काउनु
र सर्वोत्तम कुरा हो
जून टिप्ने सपनालाई मर्न नदिनु ।