सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले उत्तर कोरियाले रुसमा सेना पठाउन गरेको तयारीबारे चिन्ता व्यक्त गरेका छन् ।
दक्षिण कोरियाको समाचार एजेन्सीका अनुसार प्योङयाङ र मस्कोबिचको सैन्य सहयोगबारे संयुक्त प्रतिक्रियासहित छलफल गर्न नेटो महासचिव मार्क रुट र युनबिच फोनवार्ता भएको थियो ।
युक्रेनमा रुसको सैन्य कारबाही तथा रुस र उत्तर कोरियाबिचको मामला इन्डोप्यासिफिक क्षेत्र र एटलान्टिक क्षेत्रको सुरक्षासँग जोडिएको पुनः एकपटक पुष्टि हुने युनले वार्तामा बताउनुभयो । यसले अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पारी कोरियाली प्रायद्वीप र विश्वव्यापी शान्ति खतरामा पार्नेसमेत उहाँले उल्लेख गर्नुभयो ।
नेटो र यसका सदस्य राष्ट्रसँगको सहकार्यमा यसको प्रतिक्रिया खोज्ने आशा व्यक्त गर्दै युनले दक्षिण कोरियाले प्योङयाङ र मस्कोबिचको सैन्य सहयोगको विरुद्ध सक्रिय रही चरणबद्ध उपाय अवलम्बन गर्ने बताउनुभयो ।
वार्ताका क्रममा रुटले उत्तर कोरियाले रुसमा सेना पठाउने निश्चित गरेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै यो निर्णयले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्का प्रस्तावको खुल्लमखुल्ला उल्लङ्घन गरेको बताउनुभयो ।
उहाँले रुस र उत्तर कोरियाबिचको सैन्य सहयोगको जवाफ दिन दक्षिण कोरियालाई सक्रिय रूपमा सहयोग गर्न नेटो तयार रहेको कुरामा जोड दिँदै दक्षिण कोरिया, युक्रेन र नेटोबिच रक्षा सहयोग र सुरक्षा संवादलाई सुदृढ पार्ने आशा व्यक्त गर्नुभयो ।
दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसले शुक्रबार उत्तर कोरियाले युद्धमा रुसलाई सहयोग गर्न करिब १२ हजार सेना पठाउने निर्णय गरेको तथा एक हजार ५०० सय सेना रुसको सुदूरपूर्वमा पठाएको जनाएको थियो । (रासस/क्युएनए)