नयाँदिल्ली । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा निज्जरको हत्यामा भारतीय एजेन्ट संलग्न रहेको आरोप लगाउनुभएपछि भारत र क्यानडाले कूटनीतिक सङ्कटको सामना गरिरहेका छन् । भारतले भने क्यानडाको आरोपलाई आधारहीन तथा राजनीतिबाट प्रेरित भन्दै अस्वीकार गरेको छ ।
सन् २०२३ मा ब्रिटिस कोलम्बियामा खालिस्तानी आतङ्कवादी हरदीप सिंह निज्जर हत्याको अनुसन्धानको सम्बन्धमा क्यानडाले अक्टोबर १४, २०२४ का दिन छ जना भारतीय कूटनीतिज्ञ तथा अधिकारीलाई निष्काशन गरेको थियो ।
त्यसैगरी भारतले पनि भारतबाट क्यानडाका कार्यवाहक उच्चायुक्त स्टेवार्ड रस ह्विलर, उपउच्चायुक्त प्याट्रिक हेबर्टलगायत छ जना क्यानडाली कूटनीतिज्ञलाई निष्काशन गर्ने निर्णय घोषणा गरेको छ ।
रोयल क्यानेडियन माउन्टेड प्रहरी आयुक्त माइक डुहेमले सोमबार भारत सरकारका एजेन्टले गरेका केही आपराधिक गतिविधिका बारेमा जानकारी प्राप्त भएको दाबी गर्नुभएको छ ।
उहाँले क्यानाडाका सम्बन्धित निकायले सफलतापूर्वक अनुसन्धान गरेको बताउँदै हत्या र हिंसाजन्य आपराधिक कार्यमा उनीहरूको संलग्नता रहेको आरोप लगाउनुभयो ।
अक्टोबर १४ को विज्ञप्तिमा भारतले क्यानडाको कूटनीतिक सञ्चारलाई अस्वीकार गर्दै भारतीय उच्चायुक्त र अन्य कूटनीतिज्ञहरू अनुसन्धानमा चासोका व्यक्ति थिए, यसलाई निराधार आरोप र तथा ट्रुडो सरकारको राजनीतिक एजेन्डाको हिस्सा भनेको छ ।
विदेश मन्त्रालय (एमइए) ले क्यानडाका प्रधानमन्त्री ट्रुडोको भारतप्रतिको शत्रुता लामो समयदेखि रहेको उल्लेख गर्दै क्यानडा सरकारले आतङ्ककारीलाई क्यानडामा भारतीय कूटनीतिज्ञ तथा नेतालाई उत्पीडन र धम्की दिने ठाउँ प्रदान गरेको जनाएको छ ।
सन् २०२३ मा निज्जरको हत्यापछि भारत–क्यानडा सम्बन्ध थप चिसिएको छ भने नियमितका घटनाको शृङ्खलाले दुई राष्ट्रबिचमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।
खालिस्तानी आतङ्कवादी निज्जरलाई जुन १८, २०२३ मा ब्रिटिस कोलम्बियाको गुरुद्वाराबाहिर गोली हानिएको थियो ।
जी–२० शिखर सम्मेलनका क्रममा ट्रुडोसँगको वार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र्र मोदीले क्यानडामा भएका भारत विरोधी गतिविधिबारे चिन्ता व्यक्त गर्दै खतराको सामना गर्न एकआपसमा सहयोग गर्न आवश्यक रहेको बताउनुभएको थियो ।
सेप्टेम्बर १८, २०२३ मा ट्रुडोले हाउस अफ कमन्समा गुरुद्वाराबाहिर निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको खुलासा गर्नुभएको थियो । त्यसपछिको समयमा भारतले यस मुद्दामा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै आएको छ । विदेश मन्त्रालयले लिखित जवाफ दिँदै क्यानडाले भारत विरोधी तत्त्वलाई निरन्तर स्थान दिएको जनाएको छ ।
ट्रुडोले गत जुनमा निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाउनुभएपछि भारतले क्यानडामा आफ्नो भिसा सेवा पनि निलम्बन गरेको थियो । (रासस/एएनआई)