दिनेश रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चाले घोराही उपहानगरपालिका वडा नं. १९ ले जस्तापाता वितरणको सन्दर्भमा भ्रष्टाचार भएको दाबी गरेको छ ।
राजमो घोराही–१९ वडा समितिका अध्यक्ष मङ्गलबहादुर घर्तीमगर र सचिव फनबहादुर घर्तीमगरको हस्ताक्षरमा २०८१ असोज २१ गते सोमबार प्रेसविज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाइएको हो ।
नेपाल सरकारले फुसको छानो विस्थापित गर्दैर् सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जस्तापाता वितरण गर्ने निर्णय गरेकोमा सो क्रममा अनियमितता (भ्रष्टाचार) भएको राजमोले सरकारको ध्यान आकर्षणसमेत गराएको छ ।
विज्ञप्तिमा केही वर्षअघि नै जस्तापाता वितरण गरिएको, जनप्रतिनिको आदेशमा उधारोमा जस्तापाता लगाएको तथा जस्तापाता नै वितरण नगरिएकालाई सिफारिस गरिएकोमा आपत्ति प्रकट गरिएको छ ।
यस खालको अनियमितता भइरहँदा अख्तियार चुपचाप बसेकोमा राजमोले आपत्ति प्रकट गर्दै भ्रष्टाचारलाई तत्काल रोक्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा भ्रष्टाचार नरोकिए राजमो तालाबन्दीसहितका आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ ।
