काठमाडौँ । नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला आगामी असोज १९ गते भक्तपुरमा हुने भएको छ ।
महासङ्घकी कार्यवाहक अध्यक्ष बाला अधिकारीले २०८१ असोज १६ गते बुधबार सार्वजनिक अपिल जारी गर्दै सो जानकारी दिनुभएको हो ।
“हालै देशमा व्याप्त प्राकृतिक प्रकोप, अविरल वर्षाका कारण देशले बेहोर्नुपरेको धनजनको क्षति, बाटोघाटो अवरुद्ध हुँदा आवतजावतको कठिनाइ र नजिकिँदै गरेको चाडपर्वको माहौल यी यावत कुराहरूले गर्दा असोज १९ गते राष्ट्रिय भेला गर्न प्रतिकूल समय हुँदाहुँदै पनि महासङ्घको तीन वर्षे कार्यकाल सकिएको पहिलो ६ महिनामा चुनाव हुन नसकेकाले महासङ्घको विधान २०६० (पाँचौँ संशोधन २०७५) को धारा ३५ को उपधारा ७ अनुसार महासङ्घप्रति उब्जिन सक्ने वैधानिकताका सवालसहित सबै कुरालाई दृष्टिगत गरी यही असोज १९ गतेका दिन जिल्ला तथा प्रदेश अध्यक्षहरूको राष्ट्रिय भेला भक्तपुरमा गर्ने निर्णय गरिएको छ” सो अपिलमा भनिएको छ ।
कावा अध्यक्ष अधिकारीले सो भेलाले केन्द्रीय समितिका कामको समीक्षासहित एउटा विधिलाई टेकेर सदस्यता विवादलाई निरूपण गर्दै निर्वाचनको मिति तोकेर निर्वाचनको वातावरण बनाउने छ भन्ने कुरामा सम्पूर्ण पत्रकार साथीहरूलाई आश्वस्त बनाउन चाहनुभएको छ ।
उहाँले अगाडि भन्नुभएको छ– “महासङ्घको नयाँ नेतृत्व चयनका लागि देखिएका चुनौती र सङ्कटपूर्ण अवस्थामा अन्य समस्या र तमाम मतभेदलाई थाती राखेर यो महत्त्वपूर्ण दायित्व पूरा गर्नका लागि एउटै लक्ष्यका साथ अघि बढ्न महासङ्घका पूर्वअध्यक्षज्यू तथा पदाधिकारी/सदस्यज्यू, सम्बद्ध सरोकारवाला संस्थाका प्रमुख, सरोकारवाला व्यक्ति र महासङ्घकै संरचनाभित्रका विभिन्न समिति, केन्द्रीय समिति मातहतका सबै प्रदेश समिति, एसोसिएट संस्था, सबै जिल्ला तथा प्रतिष्ठान शाखा र सदस्य साथीहरूमा हार्दिकताका साथ अपिल गर्दछु ।”
