जनकपुरधाम । मधेस प्रदेश सरकारले अविरल वर्षाले पुर्याएको क्षतिबापत् पीडितलाई राहत तथा पुनःस्थापना गर्न आठओटै जिल्लालाई एक/एक करोड आपतकालीन रकम विनियोजन गर्ने निर्णय गरेको छ ।
मधेसमा बाढीबाट भएको सडक क्षतिको पुनः निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तत्कालै पाँच करोड रकम विनियोजन गर्ने निर्णय गरेको हो ।
आइतबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिनुभयो ।
मुख्यमन्त्री सिंहले देशभरिका बाढी र पहिरोको प्रकोपले मधेस अछुतो नरहेको र आठओटै जिल्लामा समस्या भए पनि सप्तरीमा कोशी नदीका कारण हनुमाननगर कङ्कालनी, रौतहटमा बागमती नदीका कारण राजदेवी नगरपालिका र सर्लाहीमा बकैया र बागमती नदीका कारण बलरा नगरपालिकासहितका पालिकाहरू अति प्रभावित भएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री सिंहले मधेसको प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएकोसमेत बताउनुभयो ।